काठमाडौं महानगरपालिकाले सहरीकरणले क्षय भएको ‘ब्लु ल्यान्डस्केप’ (नदी, पोखरी, तलाउ, धारालगायत पानीजन्य प्रणाली) र ‘ग्रिन ल्यान्डस्केप’ (बगैँचा, पार्क, खुला हरियाली स्थान) को जीवन्तता प्राप्त गर्ने विषयमा पूर्वसम्भाव्यता अध्ययन सुरु गरेको छ ।
०८१ असार १७ गतेबाट थालिएको अध्ययन आगामी चैत १८ मा सकिनेछ । अध्ययन, आकासेपानी संकलन र भूमिगत पानी पुनर्भरण, करिडोरलाई हरियाली र ‘इकोलोजिकल’ चक्र नवीकरण, बागमतीसहित उपत्यकाका नदी प्रणालीमा हरियाली, सडक सञ्जाल र तरल फोहाेर प्रशोधन सेवा, अनौपचारिक बस्ती व्यवस्थापन कार्ययोजना र नमुना परियोजना तथा सहरी वन, पार्क एवं खुला स्थानको उपलब्धताका विषयमा केन्द्रित हुने बताइएको छ ।
सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराईका अनुसार यसअघि गरिएका प्रयत्न क्षेत्रगत मात्र भएका कारण अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन ।
‘विगतको यो कमजोरी सच्याउँदै एसियाली विकास बैंक (एडिबी) को प्राविधिक सहयोगमा एकीकृत विकासको आधारका लागि अध्ययन थालिएको हो, मानवसहित रैथाने वासस्थान भएका जीव–जनावरका लागि अनुकूल वातावरण बनाउन सके मात्र जीवन्त सहर निर्माण हुन्छ, यसका लागि हाम्रो प्रयास हो,’ उनले भने, ‘यससँगै संस्थागत र प्रणालीगत क्षमता विकास, नीति पैरवीलगायत क्षेत्रमा काम हुनेछन् ।’
परम्परागत पानीका मुहान तथा राजकुलोमाथिको अतिक्रमणले ढुंगेधारामा पानी आउन छाेडेको उनको भनाइ छ । भट्टराईले भने, ‘इनार सुके, बर्खाको पानी संकलन हुने पोखरी नासिए, घाँसेमैदान, खेत, जलमार्गमा समेत क्रंक्रिटका संरचना ढाकिदिँदा भूमिगत पानीको सतह क्रमशः घट्दै गयो, सामाजिक र सांस्कृतिक चालचलनमा असर पुग्यो, प्रदूषण बढ्यो, यसले सहरलाई क्रमशः मानवबस्ती प्रतिकूलतातर्फ उन्मुख गराएको महानगरको ठहर छ ।’
अध्ययन उपटोलीनेता एवं सहरी योजनाकार डा. सञ्जय उप्रेतीका अनुसार सहरभित्र र करिडोरमा सवारीचाप बढेपछि वायु प्रदूषणको मात्रा बढेको छ । यो वातावरणीय दृष्टिले नकारात्मक प्रभाव हो ।
‘काठमाडौंले गएको असोज दोस्रो साता विनाशकारी बाढीजन्य र डुबानजन्य विपतकाे सामना गरिसकेको छ, पारिस्थितिक चक्र बिग्रिएपछि हुने जोखिममध्ये यो एउटा हो, सहरीकरणमा भवन निर्माणमा मात्र ध्यान दिइयो, नदी व्यवस्थापन, किनाराका अव्यवस्थित बसोवास वृद्धि, कमजोर तटबन्ध, क्रसिङ पाइपको कमी, मौसमी उतारचढावसँग नमिल्दो बहाव क्षेत्र, वनस्पति र सिम जमिनको क्षतिजस्ता पक्षमा ध्यान नदिएको नतिजा हो,’ उनले भने ।