सन् २०२३ मा हरेक दिन औसत १४० महिला र केटीहरू आफ्नै घनिष्ठ साथी वा नजिकको नातेदारबाट मारिएको खुलासा भएको छ । लैंगिक हिंसासम्बन्धी संयुक्त राष्ट्र संघको प्रतिवेदनले सोमबार उक्त जानकारी दिएको हो ।
\लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओडिसी) र संयुक्त राष्ट्रसंघीय महिला एजेन्सीले सार्वजनिक गरेको संयुक्त प्रतिवेदनअनुसार गत वर्ष करिब ८५ हजार महिला तथा किशोरीको हत्या भएको थियो ।
महिला र किशोरी चौतर्फी रूपमा हिंसाबाट ग्रसित छन् । ‘महिला र केटीहरू जताततै लैंगिक हिंसाको यो चरम रूपबाट प्रभावित भइरहेका छन् । हिंसाबाट कुनै पनि क्षेत्र अछुतो छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘महिला र केटीहरूका लागि घर सबैभन्दा खतरनाक ठाउँ हो ।’
गत वर्ष करिब ६० प्रतिशत अर्थात् ५१ हजारभन्दा बढी महिला तथा किशोरीको मृत्यु आफ्नो पार्टनर वा नातेदारको हातबाट भएको प्रतिवेदनमा उल्लेख छ । यो भनेको हरेक दिन १४० जना वा प्रत्येक १० मिनेटमा एकजना महिलाको हत्या हुनुबराबर हो ।
प्रतिवेदनमा भनिएको छ, ‘यो महिला र किशोरीका लागि घातक हो । उत्पीडनको जोखिमको हिसाबले सबैभन्दा खतरनाक स्थान घर हो ।’ महिलाहरूको तुलनामा पुरुषहरू हत्याको सिकार हुने सम्भावना चार गुणा बढी भए पनि गत वर्ष भएका सबै हत्यापीडितमध्ये ८० प्रतिशत पुरुषको अपरिचित व्यक्तिको हातबाट मृत्यु भएको थियो । अफ्रिकामा सन् २०२३ मा २१ हजार ७०० महिलाको मृत्यु भएको थियो । सबैभन्दा कम महिला हत्यादर युरोप र एसियामा रहेको प्रतिवेदनमा उल्लेख छ ।
केही देशमा महिला हत्या रोक्न प्रयास गरिए पनि लैंगिक असमानता र हानिकारक रुढिवादका कारण त्यहाँ नारीहत्याको संख्या ‘भयानक’ छ । प्रतिवेदनका अनुसार युरोप र अमेरिकामा निजी क्षेत्रमा महिलाको जानाजानी हत्याको मुख्य कारण घनिष्ठ साझेदार हुन् । यसविपरीत अधिकांश पुरुष हत्याहरू घर र परिवारबाहिर हुन्छन् ।
प्रतिवेदनमा भनिएको छ कि देशहरूले महिला र बालिकाको हत्या रोक्न प्रयास गरे पनि उनीहरूको हत्या ‘डरलाग्दो रूपमा उच्चस्तरमा’ रहेको छ । ‘तिनीहरू प्रायः लैंगिक हिंसाको दोहोरिएको घटनाहरूको चरम सीमा हुन्, जसलाई समयमै र प्रभावकारी हस्तक्षेपमार्फत रोक्न सकिन्छ,’ दुई एजेन्सीको उक्त संयुक्त प्रतिवेदनमा भनिएको छ ।
गत वर्ष अमेरिकामा प्रतिएक लाखमा १.६ महिला पीडित भएका थिए । को र टापु देशमा प्रतिएक लाखमा १.५ महिला पीडित थिए । दरहरू एशियामा प्रति एक लाखमा ०.८ र युरोपमा प्रतिएक लाखमा ०.६ रहेका थिए ।
‘पुरुष र केटाहरू हत्याको सिकारको ठुलो संख्याका लागि जिम्मेवार भए पनि महिला र केटीहरू निजी क्षेत्रमा घातक हिंसाबाट असमान रूपमा प्रभावित भइरहेका छन्,’ प्रतिवेदनले भन्यो । विश्वका विभिन्न देशले महिला र बालिकाको हत्या रोक्न प्रयास गरे पनि उनीहरूको हत्या ‘डरलाग्दो रूपमा उच्चस्तरमा रहेको’ पाइएको प्रतिवेदनमा उल्लेख छ ।
विश्वमा बढ्दो महिला हिंसालाई समयमै र प्रभावकारी हस्तक्षेपमार्फत रोक्न सकिने पनि प्रतिवेदनमा बताइएको छ । युएनओडिसीका कार्यकारी निर्देशक घाडा वालेले भनिन्, ‘हामीले महिलाविरुद्ध हिंसालाई कायम राख्ने लैंगिक भेदभाव, शक्ति असन्तुलनजस्ता विभेदजन्य मान्यताविरुद्ध लड्नुपर्छ र अन्त्य गर्नुपर्छ ।’
‘युएन वुमन’की कार्यकारी निर्देशक सीमा बहौसले महिलाविरुद्ध हुने हिंसा रोक्न सशक्त कानुन, बृहत्तर सरकारी जवाफदेहिता र महिला अधिकारवादी संस्था तथा संस्थागत निकायका लागि बढ्दो आर्थिक सहयोग आवश्यक रहेको बताइन् । उनका अनुसार महिलामाथिको हिंसा र हत्या रोक्न ‘शून्य सहनशीलता संस्कृति’ अपनाउनु आवश्यक छ ।’
यो प्रतिवेदन १०७ देश वा क्षेत्रबाट उपलब्ध तथ्यांक र युएनओडिसीले सदस्य राष्ट्रहरूले प्रस्तुत गरेका प्रतिक्रियाबाट संकलन गरिएको जानकारीमा आधारित रहेको छ । संयोगवश यो प्रतिवेदन अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस नजिकिँदै गर्दा सार्वजनिक भएको छ ।