Skip This
धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
एनपिएलको ट्रफी सार्वजनिकपछि प्रधानमन्त्री केपी ओलीसहित सहभागी आठ फ्रेन्चाइजका मार्की खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका 
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर ११ मंगलबार o७:५३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार o७:५३:oo

 ट्रफीको माथिल्लो भागमा जडित सगरमाथा आधार शिविर कालापत्थरबाट ल्याइएको ढुंगा मुख्य आकर्षण

प्रधानमन्त्री केपी ओली र सहभागी आठ फ्रेन्चाइजका मार्कीले सोमबार संयुक्त रूपमा पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी धरहरा परिसरमा अनावरण गरेका छन् । एनपिएल ट्रफीको मुख्य आकर्षण नै सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको छ । ट्रफीको माथिल्लो भागको बिचमा कालापत्थरको ढुंगा राखिएको छ । सगरमाथा आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ट्रफीमा प्रयोग गरिएको ढुंगा ल्याएका हुन् । 

प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्दै नेपाली क्रिकेटका लागि विशेष दिन रहेको बताएका छन् । ‘आजको दिन नेपाली क्रिकेटकै विशेष हो, अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु,’ ओलीले भने । १५ मंसिर देखि ६ पुसम्म चल्ने एनपिएलले पर्यटन प्रवद्र्धन हुने उनको भनाइ छ । ‘एनपिएलको माध्यमबाट नेपालको पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास छ, यो क्षेत्र प्रवद्र्धन हुनमा सहयोग मिल्नेछ,’ उनले भने । सरकारले खेलकुद क्षेत्रलाई सोचेजस्तो सहयोग गर्न नसकेको प्रधानमन्त्री ओलीले स्विकारेका छन् । ‘सरकारले जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न सकेको छैन, त्यसमा मलाई चित्त बुझेको छैन,’ उनले भने । 

ट्रफी अनावरणमा जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ सेख, काठमाडौं गोर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, चितवन राइनोजका कुशल मल्ल, लुम्बिनी लायन्सका रोहित पौडेल, विराटनगर किंग्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी रहेका थिए । प्रधानमन्त्री ओलीले नेपाली खेलाडी र मार्कीहरूको प्रशंसा गरेका छन् ।

क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको उनले बताए । क्रिकेट खेल मात्र नभई राष्ट्रिय जागरुकता र अनुशासनको प्रतीक पनि बनेको उनको भनाइ छ । अनावरणमा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्द सहभागी थिए ।

टिकट शुल्क तीन सयदेखि एक हजारसम्म
क्यानले एनपिएलको टिकट शुल्क निर्धारण गरेको छ । क्यानले उद्घाटन खेल, लिग, प्लेअफ खेल, फाइनल र सिजनल पासको टिकटसमेत निर्धारण गरेको छ । आगामी शनिबार विराटनगर र जनकपुरबिचको पहिलो खेलका लागि सामान्यतर्फ टिकटदर तीन सय र भिआइपीको सात सय रुपैयाँ क्यानले तोकेको छ । लिग चरणका खेलमा तीन सय र पाँँच सय तोकिँदा प्लेअफमा पाँच सय र सात सय बनाएको छ । त्यस्तै, ६ पुसमा हुने फाइनल खेलको टिकटदर सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार निर्धारण गरेको छ । क्यानले पहिलोपटक आफैँ आयोजना गर्न लागेको लिगको सिजनल पास पनि उपलब्ध गराउने निर्णय गरेको छ । पासमा २० प्रतिशत छुट गरेको छ । सामान्यतर्फको मूल्य चार हजार चार सय ८० तथा भिआइपीतर्फको मूल्य आठ हजार दुई सय ४० रुपैयाँ तोकेको छ । 

विदेशी प्रशिक्षकले दिए प्रशिक्षण 
एनपिएलमा सहभागी जनाउन विदेशी प्रशिक्षक र खेलाडीले अभ्यास थालेका छन् । विराटनगरका प्रशिक्षक केभिन ओ’ब्रायन आयरल्यान्डबाट सोमबारै काठमाडौंबाट विराटनगर पुगेका छन् । उनले खेलाडीहरूलाई पहिलो दिन समान्य ‘ब्रिफिङ’ गरेका थिए । चितवनका भारतीय प्रशिक्षक उमेश पटवाल पनि नेपाल आएर प्रशिक्षण थालिसकेका छन् । लुम्बिनीमा भारतका प्रशिक्षक नन्दन फाडनिसले प्रशिक्षण गराइरहेका छन् । सुदूरपश्चिमका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् । खेलाडीको भूमिकामा अस्ट्रेलियाबाट विश्व च्याम्पियन रहेका उनी विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।