सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन सोमबार तोरणविक्रम शाही ५ अन्डर ६७ को उत्कृष्ट स्कोरका साथ शीर्ष स्थानमा रहेका छन् । उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनील केसीलाई एक स्ट्रोकले पछि पारेका छन् । ४ अन्डर ६८ स्कोरसहित भुवन र सुनील संयुक्त रूपमा दोस्रो स्थानमा छन् । ३ अन्डर ६९ स्कोर गरेका कृष्णमान राजबाहक चौथो स्थानमा रहेका छन् । २ अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा पाँचौँ तथा एमेच्योतर्फ शीर्ष स्थानमा छन् । भुवनकुमार रोक्का र राजेन्द्र श्रेष्ठ प्रधानले संयुक्त रूपमा छैटौँ स्थान बाँडेका छन् । उनीहरूले १ अन्डर ७१ स्कोर गरे ।
गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगितामा तोरणले फ्रन्ट नाइन ३ अन्डर ३३ स्कोर गरेका थिए । बोगीरहित फ्रन्ट नाइनमा उनले तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । उनले १२औँ, १३औँ र १५औँ होलमा एक–एक सट बचाउँदै ब्याक नाइन २ अन्डर ३४ स्कोर गरे । भुवनले फ्रन्ट नाइनमा पहिलो, तेस्रो र सातौँ होलमा बर्डी निकाली ३ अन्डर ३३ स्कोर गरेका थिए । उनले ब्याक नाइनमा तीन बर्डी हात पारे पनि दुई बोगीको सामना गरे । उनी ब्याक नाइनमा १ अन्डर ३५ को स्कोरमा रोकिए ।
ब्याक नाइनमा सुनील राम्रो
सुनीलले सुरुवात राम्रो गर्न सकेनन् । उनले फ्रन्ट नाइन १ ओभर ३७ स्कोर गरेका थिए । पाँचौँ र छैटौँ होलमा बोगी प्रहार गरेका उनले सातौँ होलमा एक सट बचाएका थिए । अघिल्लो चरणमा खराब प्रदर्शन गरेका सुनीलले ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गर्न सफल भए । उनले ११औँ देखि १४औँ होलमा लगातार चार बर्डी प्रहार र १८औँ होलमा एक सट बचाए । समग्रमा उनले ब्याक नाइन ५ अन्डर ३१ स्कोर गर्न सफल भए । एमेच्योरतर्फ राहुल २ अन्डरको स्कोरमा विजय श्रेष्ठलाई तीन स्ट्रोकले पछि पारे ।
१ ओभर ७३ स्कोरका साथ विजय दोस्रो स्थानमा छन् । साबिक विजेता सदभाव आचार्य २ ओभर ७४ स्कोरका साथ तेस्रो स्थानमा छन् । चार दिनसम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र तीन वा तीनभन्दा कम ह्यान्डिक्याप भएका १३ खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।