सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गोकर्ण गल्फ क्लबमा सोमबारदेखि हुँदै छ । चार दिनसम्म चल्ने प्रतियोगितामा ३३ प्रोफेसनल र तीनभन्दा कम ह्यान्डीक्याप भएका सात एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । ३६ होलपछि कट हुनेछ । प्रतियोगिताको कुल नगद पुरस्कार आठ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले एक लाख ५० हजार र दोस्रोले एक लाख रुपैयाँ हात पार्नेछन् । तेस्रो हुने गल्फरले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको साबिक विजेता च्याम्पियन एमेच्योर खेलाडी सद्भाव आचार्य हुन् । प्रोफेसनल गल्फरहरू भुवन नगरकोटी, नीरज तामाङ, रवि खड्का, सञ्जय लामा, धन थापा र कुमार कामीले उपाधिका लागि दाबेदार दिनेछन् । गत सिजन पनि एमेच्योर खेलाडीको प्रभाव बढी थियो । आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले सूर्य नेपाल गल्फ टुर २०२४/२५ को सिजनमा आठ प्रतियोगिता समावेश भएको आयोजकले जानकारी दिएको छ । यसपटक गल्फ टुरको कुल धनराशि ६७ लाख ३२ हजार रुपैयाँ रहेको छ । गत संस्करणभन्दा यसपटक पाँच प्रतिशतले वृद्धि भएको हो । गल्फ टुरलाई १८औंँ संस्करणमा पनि प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिको साथ रहेको छ ।
आठ प्रतियोगिता चार गल्फ क्लबमा हुने
नेपाली गल्फ विकासमा ठूलो योगदान पुगेको भन्दै प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले प्रायोजकलाई धन्यवाद दिएका छन् । सिजनको आठ प्रतियोगिता विभिन्न चार गल्फ क्लबमा हुने श्रेष्ठले बताए ।
यसपटक त्रिभुवन आर्मीको गल्फ क्लबमा एउटा प्रतियोगिता हुने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले बताए । अहिले काठमाडौंको गोकर्ण गल्फ क्लब र रोयल नेपाल गल्फ क्लबमा समान तीन प्रतियोगिता हुनेछन् ।
यसैगरी, पोखरा र धरानमा एक–एक प्रतियोगिता हुने क्यालेन्डरमा उल्लेख छ । महासचिव आचार्यका अनुसार आठमध्ये सात प्रतियोगिता स्ट्रोक प्ले फर्म्याट र म्याच प्लेको फर्म्याट फरक हुनेछ । जहाँ अर्डर अफ मेरिटमा टप १६ मा रहेका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । नगद पुरस्कार राशिका आधारमा सबैभन्दा ठूलो प्रतियोगिता भने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ ।