नेपाल–साउदी अरेबियाबिचमा द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने विषयमा पहिलो पटक छलफल भएको छ । साउदी अरबको राजधानी रियादमा नेपाल र साउदी अरबका प्रतिनिधिहरूबिच व्यापार अभिवृद्धि गर्ने विषयमा दुईपक्षीय छलफल भएको हो ।
साउदी अरबका लागि कार्यवाहक नेपाली राजदूत डा. डमरुबल्लभ पौडेल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र साउदी अरबको विदेशी व्यापार सामान्य प्राविधिकरणका एसिया निर्देशक फालेह अल–मुतैरी नेतृत्वको टोलीबिच छलफल भएको हो ।
बैठकमा नेपाल र साउदी अरेबियाबिच द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको छ । कार्यवाहक राजदूत डा. पौडेलले द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने, नेपाल–साउदी अरबका व्यवसायीहरुबिचमा द्विपक्षीय छलफल गराउने, साउदी अरेबियामा विभिन्न नेपाली उत्पादनहरूकाे बजार प्रवर्द्धन गर्ने कुरामा छलफल भएको बताए ।
नेपाली कार्पेट, पश्मिना साउदी अरब निर्यात हुने गरेको भन्दै उनले अगामी दिनमा नेपाली चिया, कफी लगायतका अन्य वस्तूहरुको पनि व्यापार बढाउन छलफल भएको जानकारी दिए । नेपाली श्रमिकहरु यहाँ चार लाख हाराहारीमा रहेकाले पनि नेपालीलाई लक्षित गरी नेपाली उत्पादनहरुको बजार आवश्यक भएको कुरा छलफलमा राखिएकाे कार्यवाहक राजदूत डा. पौडेलकाे भनाइ छ। यससँगै नेपाल र साउदी अरबका व्यापारीबिच छलफल गरी लगानी सम्बन्धमा पहल हुनुपर्ने, दुवै देशबिच ट्रेड सम्झौता गर्नुपर्ने जस्ता कुराहरु प्राथमिकताका साथमा राखिएको कार्यवाहक राजदूत पौडेलले बताए ।
सो छलफलमा साउदी अरबका विदेशी व्यापार सामान्य प्राविधिकरण एसिया–अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक अल–मुतैरीले गैर–पेट्रोलियम पदार्थहरुको व्यापार प्रवर्द्धन र द्विपक्षीय व्यापार अभिवृद्धिका अन्य विषयमा सक्दो सहजिकरण गर्ने आवश्वासन दिएकाे कार्यवाहक राजदूत पौडेलले जानकारी दिए । साउदी अरबाट गैर–पेट्रोलियम पदार्थको कारोबारमा नेपाली व्यापारीहरुले जोड दिनुपर्ने र यसका निम्ति आफ्नो तहबाट प्रयास गर्ने उनले आश्वासन दिएको कार्यवाहक राजदूत पौडेलले बताए ।
अब नेपाली दूतावासले इकोनोमी डिप्लोमेसीलाई पनि ध्यान दिन लागेको भन्दै कार्यवाहक राजदूतले व्यापार व्यवसाय विस्तार गर्न दुवै देशका व्यवसायीबिचमा छलफल र निरन्तर संवादको बाटो खोल्ने प्रयत्न भएको जानकारी दिए ।