युरोप ट्रम्पको फिर्तीका समयमा एकजुट हुन असफल भयो भने यसले दोस्रो अवसर पाउनेछैन
हामी सबैले केही न केही बौद्धिक संरचनामा सोच्छौँ, बोल्छौँ र लेख्छौँ जसलाई हामी मूलतः स्वतसिद्ध मान्छौँ । तर, समयक्रममा परिचित परिभाषा र विचार पुरानो एवं अप्रचलित बन्न पुग्छ । उदाहरणका लागि इतिहासकारबाहेक आज कति मानिसले ‘सोभियत संघ’ भन्ने शब्दबारे कुरा गर्छन् ? यसैगरी, सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनाव यस वर्षको सबैभन्दा महत्वपूर्ण राजनीतिक घटना बन्यो र यसलाई लगभग निश्चित रूपमा एक ऐतिहासिक मोडका रूपमा सम्झिइनेछ । यसको परिणामले दशकौँसम्म वैश्विक घटनालाई आकार दिनेछ ।
यसका प्रभाव दुई तहमा महसुस हुनेछन् । पहिलो दैनिक शासकीय कार्य सञ्चालन तात्कालिक एवं व्यावहारिकस्तरको हुनेछ । डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउसमा फर्किएसँगै अमेरिका पेरिस जलवायु सम्झौताबाट बाहिर जानेछ, आफ्ना व्यापार साझेदारमाझ नयाँ भन्सार शुल्क लागू गर्नेछ, र लाखौँ दस्तावेजविहीन आप्रवासीलाई गोलबन्द गर्दै निष्कासनका लागि बृहत् अभियान सुरु गर्नेछ । यी सबैलाई मिलाएर हेर्दा यसले विश्वका सबैभन्दा शक्तिशाली देशको सञ्चालन र त्यसले के प्रतिनिधित्व गर्छ भन्नेमा आएको आधारभूत परिवर्तनलाई जनाउँछ ।
दोस्रो, वैश्विक आयाम जहाँ थुप्रै परिदृश्य सम्भव छन्, अर्थात् ठुला शक्तिमा परिवर्तन, लामो समयदेखि चलेका गठबन्धनको विघटन र विश्वका शासकीय संस्था एवं मान्यताको विघटनजस्ता परिदृश्य देखिनेछन् । ट्रान्सएटलान्टिक सम्बन्धको अवस्था के हुनेछ ? युक्रेनको अवस्था के हुन्छ ? के अमेरिकाले युरोपियन युनियन र अन्य मित्रराष्ट्रको मूल्यमा रुस एवं अन्य अधिनायकवादी सत्तासँग नजिकको सम्बन्ध विकास गर्नेछ ?
सन् २०२० को चुनावी नतिजा उल्ट्याउने प्रयास र त्यसपछि लागेका ३४ आपराधिक आरोप, लोकतान्त्रिक संस्थाप्रतिको अवहेलनाका बाबजुद ट्रम्पले निर्णायक जित हासिल गरेका छन् । उसो त मतदातालाई ट्रम्पको शासकीय दृष्टिकोणको अराजकता, बारम्बारको झुट र खतरनाक आप्रवासन नीतिबारे थाहा छ तैपनि उनले प्रत्येक स्विङ (अस्थिर मतदाता भएका) राज्यमा जिते । ट्रम्प को हुन् भन्ने पूर्ण जानकारीका बाबजुद कमला ह्यारिसको तुलनामा अमेरिकामा उनलाई धेरैले मतदान गरेका छन् । कुरा चपाउन आवश्यक छैन, अमेरिकी उदार लोकतन्त्रले एक घातक आघात व्यहोरेको छ । अब बन्ने अमेरिकी सरकारले एटलान्टिकको दुवै किनाराबाट बढ्दो दबाबको सामना गर्नेछ र सरकार टिक्न सक्छ वा सक्दैन भन्ने विषयको ग्यारेन्टी छैन । प्रश्न उठ्छ, अमेरिकाको उदार लोकतन्त्रको नेतृत्वदायी भूमिका हुँदैन भने यसको भविष्य के हुन्छ ? मसँग सकारात्मक जवाफ छैन ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवात रिपब्लिकनको कंग्रेसका दुवै सदनमा नियन्त्रणबाट गर्नेछन् र धेरै विश्लेषकका अनुसार सर्वोच्च अदालतमा तीन उदारवादीमाथि ६ पुरातनपन्थीको बहुमतले उनलाई स्पष्ट समर्थन गर्नेछ । जुनमा अदालतले ट्रम्पको एक मुद्दामा फैसला गर्दै राष्ट्रपतिहरूलाई ‘आधिकारिक’ कार्यका लागि आपराधिक अभियोगबाट व्यापक प्रतिरक्षा प्राप्त छ भनेको थियो । नतिजा उनको शासनमा कुनै किसिमको अंकुश लाग्ने देखिँदैन । अमेरिकाको उदारवादी लोकतन्त्रलाई एक अनुदार कुलीनतन्त्रमा रूपान्तरण गर्ने बाटामा उनलाई रोक्न सक्ने केही छैन ।
स्पष्टतः युरोपेली लोकतान्त्रिक राष्ट्रहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न थप काम गर्न दबाब बढ्नेछ । तर, ट्रम्पलाई युरोपियन युनियनलाई बलियो बनाउनेबारे कुनै चासो छैन । अमेरिकाको परोक्ष समर्थनविना युरोपियन युनियन स्वतन्त्र रूपमा अघि बढ्नेमा पनि शंका व्यक्त गर्न सकिन्छ । युरोपियन युनियनलाई स्वतन्त्र रूपमा अघि बढाउन युरोपेलीको राजनीतिक मानसिकतामा आधारभूत परिवर्तन आवश्यक पर्नेछ र अहिले त्यस्तो परिवर्तनको सम्भावना देखिन्न । यसबाहेक फ्रान्स–जर्मनी संयन्त्र जसले सधैँ युरोपियन युनियनलाई सञ्चालन गरिरहेको थियो, तर अब यो अवस्था छैन र फेरि प्रभावकारी हुने हो वा होइन भन्ने अनिश्चित छ ।
अर्को प्रमुख समस्या इजरायली–पालेस्टिनी द्वन्द्व हो । के वर्तमान इजरायली सरकारले अब वेस्ट बेंकलाई कब्जा गर्न कदम छिटो चाल्नेछ ? आणविक हतियार स्तरको युरेनियम संकलन गरिरहेको इरानका सन्दर्भमा के गर्ने ? सबै संकेत ठुलो क्षेत्रीय युद्धको देखिन्छ । र, यो हिंसात्मक पुनर्संरचनाले शान्ति वा स्थायी युद्धविराम ल्याउने कुनै सम्भावना राख्दैन । यी तमाम सम्भावनालाई हेर्दा सबैभन्दा महत्वपूर्ण प्रश्न उठ्छ, उदार पश्चिमविना विश्व कस्तो देखिनेछ ?
दशकौँसम्म ट्रान्सएटलान्टिक गठबन्धनले शक्ति (सख्त एवं सौम्य दुवै) प्रक्षेपण गरेको थियो र त्यसले एकजुट विश्व व्यवस्थाका लागि आधारभूत मूल्यको मोडेल प्रस्तुत गरेको थियो । तर, अब विश्व व्यवस्था एक अराजक संक्रमणको बिचमा छ ।
युरोप यो विषम परिवर्तनको समयमा एकजुट हुन असफल हुन्छ भने यसले दोस्रो अवसर पाउनेछैन । यसको एक मात्र विकल्प भनेको एक सैन्य शक्ति बन्ने हो, जो आफ्ना चासो सुरक्षित गर्न र विश्वस्तरमा शान्ति एवं व्यवस्था कायम राख्न सक्षम रहोस् । अर्को विकल्प भनेको विखण्डन, अक्षमता र अप्रासंगिकता हो । डिजिटलाइजेसन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तर्फको व्यापक विकास र युरोपको जनसांख्यिक संकटले चुनौतीलाई थप गम्भीर बनाउनेछ ।
के युरोपले आफूलाई तयार गर्नेछ वा सन् १८१४–१५ को भियना सम्मेलनपछिको जस्तो संरचनामा फर्किनेछ, जहाँ रुस प्रभावशाली र व्यापक थियो ? युरोपेलीले ६ नोभेम्बरमा यस्तो नतिजा देखे जसले यिनलाई आफ्ना सबै चुनावमा गम्भीर ढंगले प्रभाव पार्नेछ । हामीले ट्रम्पलाई अंकुशविहीन बनायौँ भने उनले केवल अमेरिकालाई मात्र नकारात्मक दिशातर्फ लानेछैनन्, युरोपेली इतिहासलाई पनि आकार दिनेछन् ।
(फिसर जर्मनीका पूर्वविदेशमन्त्री एवं भाइसचान्सलर हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट