Skip This
प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १० सोमबार o९:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार o९:o१:oo

प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘उहाँले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएको छ,’ उनले भने । सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेका वेला सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् ।

राष्ट्रपतिले सोमबारदेखि लागू हुने गरी अधिकारीको राजीनामा आइतबारै स्वीकृत गरेका छन् । शिक्षासचिवबाट सेवानिवृत्त भएका अधिकारीलाई सभामुख घिमिरेले १७ असारमा प्रतिनिधिसभा सचिव नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए । उनी १८ असारमा नियुक्त भएका थिए । 

प्रतिनिधिसभा सचिव अधिकारीलाई संसद्को संयुक्त समितिका रूपमा रहेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सचिवको जिम्मेवारी दिइएको थियो । समितिमा अधिकारीले कार्यसम्पादनका क्रममा सांसदहरूको व्यवहारबाट असहजता महसुस गरेका थिए ।

संसद् सचिवालयका पदाधिकारीका अनुसार अधिकारीले आफ्नो भूमिका सहज नभएको, एडजस्ट हुन नसकिएको भन्दै दसैँअघि नै सभामुख घिमिरेलाई गुनासो गरेका थिए ।

साथै, सेवानिवृत्तपछि पाउने पेन्सनभन्दा सचिव पदको सुविधा कम भएको, सांसदहरूबाट पनि राम्रो व्यवहार नपाएको र सक्रिय भूमिका नभएको भनेर सहकर्मीलाई गुनासो गर्दै आएका थिए ।