कर्मचारीको कार्यसम्पादन मूल्यांकन कसरी गरिन्छ ?
हाम्रो कार्यसम्पादन मूल्यांकनका सूचकहरू वस्तुपरक छैनन् । कार्यसम्पादन मूल्यांकनका क्रममा व्यक्तिको जिम्मेवारीमा रहेको कामको प्रतिशत निकालिन्न । जसले गर्दा कर्मचारीको कामसितको सम्बन्ध कमजोर भयो । दिइएको कामको वस्तुगत मूल्यांकन गरेर मूल्यांकन गरिन्न । यो नितान्त मनोगत छ । मूल्यांकनकर्ताले व्यक्तिलाई हेरेर गर्ने मूल्यांकन वस्तुपरक हुनै सक्दैन । व्यक्तिको वृत्ति विकाससँग जोडिने हुनाले यसमा मूल्यांकनकर्ताले कसैसँग रिसइबी लिन नचाहने प्रवृत्तिले गर्दा पनि मूल्यांकन फितलो हुने गरेको छ । मूल्यांकनका लागि कामसँग सम्बन्धित सूचक नै नतोकिएको हुनाले पनि यो कर्मकाण्डी हुँदै गयो । जसले गर्दा यस्तो मूल्यांकनको ‘भ्यालु जिरो’ भयो ।
भनेपछि हाम्रो मूल्यांकन प्रणाली ठोस, व्यावहारिक र वस्तुपरक छैन ?
यो पटक्कै वस्तुपरक छैन र यसलाई वस्तुपरक बनाउने प्रयास पनि गरिएन । कार्यसम्पादन मूल्यांकन फारामलाई संशोधन गर्नुपर्नेमा त्यसतर्फ प्रयास नै गरिएको छैन । मूल्यांकनलाई रिसइबीको विषय बनाउन नहुने भए पनि त्यस्तै भइरहेको छ । यस्ता अनेक कारणले गर्दा हाम्रो मूल्यांकन प्रणाली ठोस, व्यावहारिक र वस्तुपरक बन्न सकेको छैन ।
यस्तो प्रणालीलाई सच्याउन के गर्नुपर्ला त ?
यसका लागि केही काम गर्नैपर्ने देखिन्छ । कर्मचारीलाई कार्य विवरणसँगै वार्षिक लक्ष्य पनि दिनुपर्छ । उसले त्यस्तो विवरण र लक्ष्य नपाएमा कार्यालय प्रमुखलाई जिम्मेवार बनाउनुपर्छ । कार्यसम्पादन मूल्यांकनका प्रस्ट र वस्तुगत आधार तोकिनुपर्छ । व्यक्तिको कार्य प्रगति विवरणसँगै कार्यालयको पनि प्रगति विवरण बुझाउन लगाउनुपर्छ । विभागीय प्रमुख या कार्यालय प्रमुखसँग कार्यसम्पादन करार सम्झौता गरिसकेपछि उसलाई कम्तीमा एक आर्थिक वर्ष त्यहीँ काम गर्न दिनुपर्छ । र, कार्यसम्पादन मूल्यांकन फाराम पनि सच्याउनुपर्छ ।