Skip This
हनी ट्रयापिङ प्रकरण : फरार इन्स्पेक्टरसहित ६ जनाविरुद्ध संगठित अपराधमा मुद्दा दायर 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
बिनुकुमारी शाही
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर १० सोमबार o८:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हनी ट्रयापिङ प्रकरण : फरार इन्स्पेक्टरसहित ६ जनाविरुद्ध संगठित अपराधमा मुद्दा दायर 

घटनामा जोडिएका एसपी कमल थापाको हकमा थप अनुसन्धान गर्न सरकारी वकिल कार्यालयको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार o८:४२:oo

प्रहरी अधिकारीकै मिलेमतोमा भएको ‘हनी ट्रयापिङ’ घटनामा संलग्न ६ जनाविरुद्ध अदालतमा संगठित अपराधमा मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा दुई प्रहरी र गिरोहका चारजना सदस्यविरुद्ध जिल्ला अदालत ललितपुरमा आइतबार मुद्दा दायर भएको हो ।

गिरोहलाई सहयोग गर्ने प्रहरी निरीक्षक बिनुकुमारी शाही र सहायक हवल्दार महेन्द्र हमाललाई समेत जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले मुद्दा दायर गरेको हो । उनीहरूमध्ये शाही फरार छिन् भने हमाल प्रहरी थुनामै छन् । शाही र हमाल निलम्बनमा छन् । त्यस्तै, गिरोहका नाइके ताज इस्लाम भनिने तजस्मुल इस्लाम र उनका सहयोगीहरू दर्शन पोखरेल, सुष्मा विक र भीमादवी थापालाई पनि प्रतिवादी बनाइएको छ । पोखरेल भने फरार छन् । 

जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरका प्रवक्ता भरतकुमार मैनालीले उनीहरूविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा १ बमोजिम सजाय माग गरी मुद्दा दायर गरिएको बताए । उनीहरूविरुद्ध आपराधिक लाभको अभियोगसमेत रहेकाले साढे १० वर्षसम्म कैद सजाय माग गरिएको छ । 

घटनामा जोडिएका एसपी कमल थापाको हकमा भने थप अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले निर्देशन दिएको छ । उनीसहित गिरोहसँग निकट देखिएका भगवती थापा, अनिषा कार्की र खुसी रसाइलीको हकमा थप खुल्न आएका बखत मुद्दा दायर हुने अभियोगपत्रमा उल्लेख छ । 

गत ७ असोजमा इटहरीका एक व्यवसायीलाई ललितपुरको भैँसेपाटी प्रभागमा थुनामा राखेर ३० लाख लेनदेन गरी छाडिएको थियो । केही महिनाअघि सँगै भेडेटार घुम्न गएकी युवतीलाई कुटपिटको उजुरी हाल्न लगाएर ती व्यापारीलाई पक्राउ गरिएको थियो । पक्राउपछि प्रहरीकै मिलेमतोमा पैसा तिर्न लगाइएको पीडितले बताएका छन् । जसमा २० लाख भीमादेवी थापाको खातामा जम्मा गर्न लगाइएको थियो ।

यसरी पैसा जम्मा गर्न भैँसेपाटी प्रभागकी प्रमुख रहेकी इन्स्पेक्टर शाहीले हवल्दार हमाललाई पक्राउ परेका व्यापारीसँगै बैंकमा पठाएकी थिइन् । व्यापारीले थप १० लाख रुपैयाँ चेकमार्फत दिएका थिए । यसरी लेनेदन भए पनि मिलापत्र गरी ती व्यापारी छुटेका थिए । मिलापत्र गराएबापत इन्स्पेक्टर शाहीले थप डेढ लाख लिएकी थिइन् । 

जिल्ला प्रहरी परिसर, ललितपुरले तत्कालै त्यसबारे सूचना पाई पक्राउ परेका र पीडित भनिएका सबैलाई परिसर पठाउन इन्स्पेक्टरलाई निर्देशन दिएको थियो । परिसरले छानबिन गर्दा प्रहरीकै मिलेमतोमा यसरी हनी ट्रयापिङको घटना भएको खुलेपछि मुद्दा प्रक्रिया अघि बढेको हो । सुरुमा ललितपुर परिसरले नै अनुसन्धान गरेकोमा अनुसन्धानमा आबद्ध अधिकारीमाथि इन्स्पेक्टर शाहीले व्यक्तिगत आरोप लगाइन् । 

त्यसपछि फाइल सिआइबीमा पुगेको थियो । तर, दुई महिनासम्म पनि इन्स्पेक्टर शाहीलाई प्रहरीले पक्राउ गर्न सकेन । उनले मुख्य आरोपी इस्लामको मोबाइल नै गायब बनाएकी थिइन् । जसकारण महत्वपूर्ण प्रमाण गायब भएका छन् । यसरी नियोजित रूपमा प्रमाण नष्ट गर्दासमेत प्रहरी नेतृत्वले इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न अनुमति नदिएको प्रहरी स्रोत बताउँछ । 

एसपी थापाले नै इस्लामको समूह र इन्स्पेक्टरबिच चिनजान गराएर त्यसरी पैसा असुल्न लगाएको प्रारम्भिक छानबिनमा खुलेको थियो । तर, उनको हकमा तत्काल मुद्दा नचल्ने निर्णय भएको छ । गत जेठमा दरबारमार्ग वृत्तमा पनि यसैगरी एक व्यापारीलाई फसाइएको घटनामा पनि एसपी थापाको भूमिकामाथि सिआइबीले अनुसन्धान गरिरहेको छ ।