Skip This
निजी सिमेन्ट उद्योगबाट गत वर्ष मात्रै तीन अर्ब ८५ करोडको निर्यात
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ मङ्सिर १० सोमबार o७:४३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निजी सिमेन्ट उद्योगबाट गत वर्ष मात्रै तीन अर्ब ८५ करोडको निर्यात

०७२ को भूकम्पयता दुई खर्ब रुपैयाँभन्दा बढी लगानीका ४० भन्दा बढी उद्योग दर्ता 

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार o७:४३:oo

सरकारी सिमेन्ट उद्योग धराशायी हुँदै गर्दा निजी उद्योग भने भारतमा सिमेन्ट निर्यात गर्न सक्रिय छन् । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा सिमेन्ट पनि पर्न थालेको छ । यद्यपि, पछिल्लो समय भारतले ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिएसआई) नवीकरणमा ढिलाइ गरिदिँदा केही उद्योगको निर्यात नै रोकिएको छ । नयाँ उद्योगले पनि बिएसआई नपाउँदा निर्यात गर्न पाएका छैनन् । 

निर्वाध रूपमा निर्यात गर्न पाएमा सय अर्बको सिमेन्ट एक–दुई वर्षभित्रै निर्यात गर्न सक्ने क्षमता रहेको नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष ध्रुव थापाले बताए । ‘निर्वाध निकासी गर्न पाए सय अर्बको सिमेन्ट एक–दुई वर्षमै निर्यात गर्न सक्ने क्षमता उद्योगको छ,’ उनले भने । 

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालबाट ६६ करोड ५८ लाखको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । गत आर्थिक वर्षमा तीन अर्ब ८५ करोड २८ लाखको सिमेन्ट निर्यात भएर नेपालबाट निर्यात हुने प्रमुख १० वस्तुको सूचीमै परेको थियो । निर्यात सुरु भएको पहिलो आव ०७९/८० मा ७७ करोड ९३ लाखको सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ । नेपालबाट असार ०७९ देखि सिमेन्ट र क्लिंकर निर्यात सुरु भएको थियो ।

बिएसआई नवीकरण नहुँदा अर्घाखाँचीलगायत उद्योगको निर्यात रोकिएको छ । प्रमुख उद्योगकै निर्यात रोकिँदा पनि तीन महिनामा सिमेन्ट निर्यात ५० करोडको पुगेको छ । संघका निवर्तमान अध्यक्ष थापाले भने, ‘छोटो अवधिमै सिमेन्ट निर्यातले आशा जगाउने काम गरेको छ, नेपालबाट डेढ सय अर्बको सिमेन्ट निर्यात सम्भवना छ, यसका लागि सरकारले भारतसँग बिएसआईका लागि कूटनीतिक पहल गरिदिनुपर्छ, सिमेन्ट उत्पादनदेखि निर्यातसम्म सहजीकरण गरिदिनुपर्छ ।’

पाल्पा सिमेन्ट उद्योगले सुरु गरेको निर्यातमा क्रमशः अर्घाखाँची, सर्वोत्तम, बालाजी, सिजी पाल्पा, सौर्य, घोराही, रिद्धिसिद्धिलगायत उद्योग थपिँदै गएका छन् । अरू थुप्रै उद्योग सिमेन्ट निर्यातका लागि तयार छन् । तर, भारतले बिएसआई नदिँदा निर्यात गर्न पाएका छैनन् । कतिपय उद्योगले सिमेन्ट र क्लिंकर दुवै निर्यात गरिरहेका छन् । कतिपयले भने क्लिंकर मात्र निर्यात गर्छन् । 

भूकम्पपछि सिमेन्ट उद्योगमा धेरै लगानी 
कोभिड महामारीयता शंकर, अम्बे र गोल्छा ग्रुपको संयुक्त लगानीमा सौर्य सिमेन्ट, चौधरी ग्रुपको लगानीमा सिजी पाल्पा, चिनियाँ लगानीमा हुवासिनलगायत नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आए । यी उद्योगमा समान करिब १५/१५ अर्ब रुपैयाँहाराहारी लगानी भएको छ । नेपालमा भूकम्पपछि सिमेन्ट उद्योगमा लगानी ओइरिएको हो । ०७२ यताको दशकमा दुई खर्ब रुपैयाँभन्दा बढी लगानीका ४० भन्दा बढी उद्योग दर्ता भएका छन् । यीमध्ये अधिकांश नयाँ हुन् भने कतिपय सञ्चालनमा रहेकै उद्योगले थप लगानीका लागि अनुमति लिएका छन् । नेपालमा हाल निजी लगानीका ६५ उद्योग रहेको र त्यसमा हाल २० बन्द अवस्थामा रहेको सिमेन्ट उत्पादक संघले जनाएको छ ।