मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
२o८१ मङ्सिर ७ शुक्रबार o६:२८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनओसी अध्यक्षमा निलेन्द्रराजको उम्मेदवारी घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार o६:२८:oo

नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठले आगामी डिसेम्बरमा हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल ट्रायथलन संघका अध्यक्षसमेत रहेका श्रेष्ठले बिहीबार आफू अध्यक्षमा उठ्ने जानकारी दिएका हुन् । ‘एनओसीको आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा अत्यन्तै गर्वित महसुस गरिरहेको छु,’ एनओसी महासचिव श्रेष्ठले भने, ‘मेरो घोषणा भनेको ओलम्पिकलाई विधिअनुसार चलाउने हो ।’

महासचिव श्रेष्ठले खेल र खेलाडीको अभिवृद्धिका लागि प्रयासरत रहने बताए । ‘मेरो अनुभव र शिक्षालाई अझ प्रभावकारी रूपमा उपयोग गर्दै आगामी दिनमा संस्थानलाई थप सक्षम र पारदर्शी बनाउने योजना छ,’ श्रेष्ठले भने । एनओसी अध्यक्ष जीवनराज श्रेष्ठले नियमविपरीत तेस्रोपटक अध्यक्षमा उम्मेदवारी दिन विधान सच्याउन गत कात्तिकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)मा पत्र पठाएका थिए । अध्यक्षमा दाबेदारी दिएका श्रेष्ठले विधानअनुसार सबै चल्नुपर्ने बताएका छन् । ‘संघ तथा संस्था चल्ने भनेको विधानअनुसार हो, यसविपरीत जान सकिँदैन,’ उनले भने, ‘एक व्यक्तिका लागि विधान नै सच्याउनु कति न्यायसंगत छ ?’

०७६ को संशोधित विधानमा अध्यक्ष र महासचिवलगायत सबै सदस्यले लगातार दुई कार्यकाल पूरा गरेपछि उम्मेदवारी दिन नपाउने उल्लेख छ । यही विधानअनुसार लगातार तीनपटक अध्यक्ष, महासचिवसँगै सदस्यले उम्मेदवारी दिन पाइँदैन । लगातार दोस्रोपटकपछि स्वतः तेस्रो कार्यकालको निर्वाचनमा सहभागी हुन नपाउने एनओसीको विधानमा उल्लेख छ । तर, अध्यक्ष श्रेष्ठ भने आइओसीका अनुसार जतिपटक पनि उम्मेदवारी दिन पाउन दाबी गर्दै एनओसीको विधान सच्याउनतिर लागेका छन्् । ‘अरू राष्ट्रमा हे¥यौँ भने चार–पाँचपटक पनि अध्यक्ष बनेका छन्, यहाँ मात्र किन दाबेदारी दिन नपाउने ?’ अध्यक्ष श्रेष्ठले नयाँ पत्रिकासँग भनेका थिए, ‘यो मेरो लागि भन्ने होइन, निर्वाचनमा जसले पनि दाबेदारी दिन पाउँछ, हार र जित हुन्छ नै ।’ 

पेरिस ओलम्पिकका लागि एक वर्ष थप
एनओसी कार्यसमितिको कार्यकाल एक वर्षअघि नै समाप्त भएको थियो । पेरिस ओलम्पिकको कारण देखाउँदै कार्यसमितिको कार्यकाल एक वर्ष थपिएको हो । कोरोनाको कारण देखाउँदै त्यसवेला नै हुनुपर्ने निर्वाचन स्थगित गरिएको थियो । यसैगरी, खेलकुद विकास ऐन, २०७७ मा पनि संघ तथा संस्थामा लगातार दुई कार्यकालपछि उम्मेदवार बन्न नपाउने भनिएको छ । खेलकुद विकास ऐन र एनओसीकै विधानमा लगातार दुई कार्यकालपछि निर्वाचनमा सहभागी हुन नपाउने उल्लेख हुँदाहुँदै अध्यक्ष श्रेष्ठले विधान संशोधन गर्न लागेको एनओसीका केही सदस्यहरूले आरोप लगाएका छन् ।