मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
२o८१ मङ्सिर ७ शुक्रबार o९:३२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

जन्तेढुंगा र बराहपोखरी जोड्ने बुवाँखोलामा मोटरेबल पुल शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार o९:३२:oo

खोटाङको जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा मोटरेबल पुलको शिलान्यास गरिएको छ। कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जन्तेढुंगा गाउँपालिका– १ देवीस्थानस्थित मैनाटार र बराहपोखरी गाउँपालिकाको– ५ पौवासेरा जोड्ने बुवाँखोलामा मोटरेबल पक्की पुलको बिहीबार औपचारिक रूपमा शिलान्यास गरेका हुन्।

पुल शिलान्यासपछि आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले तोकिएकै समयमा पुल निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए। ‘मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण सहयोग उपलब्ध हुन्छ। यो या त्यो बहानामा पुल निर्माणको काममा ढिलाइ हुनुभएन,’ उनले भने।

मूल्य अभिवृद्धि कर तथा पिएससहित रु. १७ करोड ५८ लाख ७९ हजार ७२९ मा सम्पन्न गर्ने गरी जय बागेश्वरी–रेग्मी–चुरिया जेभी उदयपुरले पुल निर्माणको ठेक्का लिएको छ। चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा ग्रामीण सडकखण्डमा पर्ने बुवाँखोलामा प्रदेश सरकारबाट यही आर्थिक वर्षमा विनियोजित बजेटले १४८ मिटर लम्बाइ भएको पक्की पुल निर्माण गर्न लागिएको हो।

निर्माण कम्पनीले २०८३ कात्तिक २१ गतेसम्ममा सक्ने गरी २०८१ वैशाख ३० गते पुलको ठेक्का सम्झौता गरेको थियो। प्रादेशिक सडक पुल सहयोग एकाइ, इटहरीको प्राविधिक सहयोगमा कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत बुवाँखोलामा पुल निर्माणको काम अघि बढाइएको जन्तेढुंगा गाउँपालिकाकी प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिइन्।

बुवाँखोलामा निर्माण हुने प्रि–स्ट्रेस्ड आरसिसी मोटरेबल पक्की पुलको ओपन फाउन्डेसन हुने पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल–खोटाङ बजार हुँदै दक्षिणी क्षेत्र जोड्ने चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा सडकखण्डको बुवाँखोलामा मोटरेबल पक्की पुल नहुँदा वर्षातकाे समयमा भलबाढी आउँदा आवतजावत ठप्प हुने गरेको छ।