मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर ६ बिहीबार o६:१८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपनिर्वाचनमा ३७६  उम्मेदवार, तीनजना निर्विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ६ बिहीबार o६:१८:oo

३१ जनाले मनोनयन फिर्ता लिए, सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, कांग्रेसबाट दुई जिसस प्रमुख र माओवादीबाट एक वडाध्यक्ष निर्विरोध

स्थानीय तहको १६ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ४१ स्थानका विभिन्न पदमा ३७६ जनाको उम्मेदवारी कायम भएको छ । 

स्थानीय तहका रिक्त ४४ पदका लागि २ मंसिरमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र उम्मेदवार गरी ४१० जनाको मनोनयनपत्र दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तीनजना निर्विरोध निर्वाचित भएको प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् । 

अर्यालका अनुसार ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध बनेका छन् । ओखलढुंगामा टेकराज भट्टराई र कैलालीमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी, रुकुम पूर्वस्थित पुथा उत्तरगंगा गाउँपालिका– २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको अर्यालले बताइन् । 

स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाली कांग्रेस (बिपी), नेपाली जनता दल र आम जनता पार्टी गरी पाँचवटा दलले कुनै ठाउँमा पनि उम्मेदवारी दिएनन् । 

प्रवक्ता अर्यालका अनुसार निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थानबाहेक ४१ स्थानका विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत ३७६ जनालाई बुधबारै सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको छ ।

स्थानीय तहमा विभिन्न कारणले रिक्त जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३४ वडाध्यक्ष गरी ४४ पदमा निर्वाचन हुँदै छ । यसमध्ये तीन पद निर्विरोध भइसकेको छ ।

आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुखमा दुई, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख र उपप्रमुखका लागि ७६ र वडाध्यक्षका लागि ३०१ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन कार्यक्रमअनुसार ६–१३ मंसिरसम्म उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउनेछन् । १३ मंसिरको राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू हुनेछ । १६ मंसिरको बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।