एक राजाका तीन राजकुमार थिए । राजाले तीनै राजकुमारलाई असल गुरुबाट शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाए । राजकुमारहरूले पनि बडो परिश्रमसाथ शिक्षा प्राप्त गरे । शिक्षा प्राप्त गरेर राजकुमारहरू दरबार फर्किएपछि राजाले तीनैलाई आफ्नो कार्यकक्षमा बोलाएर भने– तिमीहरू गहन शिक्षा प्राप्त गरेर फर्किएका छौ । म तिमीहरूलाई एउटा जिम्मेवारी दिँदै छु । हाम्रो राज्यमा एउटै पनि नास्पातीको बोट छैन । त्यसैले, तिमीहरू सबै चार–चार महिनाको अन्तरालमा छिमेकी देशतिर जाओ र नास्पातीको बोट कस्तो हुन्छ, त्यो पत्ता लगाएर आओ ।
आदेशअनुसार पहिलो राजकुमार नास्पातीको बोट खोज्न छिमेकी राज्यतिर हिँडे । उनले चार महिनाको अवधि लगाएर बडो यत्नपूर्वक नास्पातीको खोजी गरेर दरबार फर्किए । त्यसपछि माइलो राजकुमार निस्किए । उनले पनि चार महिनाको समयमा नास्पातीको बोटको सूक्ष्म निरीक्षण गरेर फर्किए । कान्छा राजकुमारले पनि चार महिना लगाएर नास्पातीको खोजी गरे । तीनै राजकुमार दरबार फर्किसकेपछि राजाले भने– अब तिमीहरू मलाई बताओ, नास्पातीको बोट कस्तो हुँदो रहेछ ? जेठा राजकुमारले भने– नास्पातीको बोट त पातविहीन रुखासुखा हुँदो रहेछ । माइलाले भने– नास्पातीको बोट त हराभरा पो हुन्छ नि ! त्यसमा फलचाहिँ लाग्दो रहेनछ । कान्छाले भने– हजुरहरूले गलत बोट हेर्नुभएछ । वास्तवमा नास्पातीको बोटमा निकै मिठा फल लाग्छन् । मैले त फल पनि ल्याएको छु । यी हेर्नुस् त ! उनले फल निकालेर देखाए । तर, बाँकी दुई राजकुमारले त्यो पत्याएनन् । उनीहरू आपसमा विवाद गर्न थाले । राजाले तीनैजनालाई रोकेर भने– तिमीहरू तीनैजनाले नास्पातीकै बोट देखेका हौ, तर फरक–फरक समयमा । मैले जानाजान तिमीहरूलाई फरक–फरक समयमा पठाएको थिएँ । यस्तै तिमीहरूले कुनै पनि विषयबारे सही जानकारी पाउन या कुनै मान्छेको वास्तविकता थाहा पाउन यसैगरी अल्प होइन, अध्ययन, अनुसन्धान र जाँचबुझ गर्न सक्नुपर्छ ।