काठमाडौं महानगरपालिकाले गत वैशाखमा सञ्चालन गरेको सीप मेलाबाट तालिम लिएकाहरूलाई खोजी गर्न थालेको छ । तालिम लिएपछि रोजगारी नपाएको तथा बेरोजगार भेटिए रोजगारी दिने तयारीसहित सहभागी युवाहरूको खोजी गरेको हो ।
महानगरपालिकाले १९ वैशाख ०८१ मा टुँडिखेलमा ‘सिप मेला ०८१’ आयोजना गरेको थियो । ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिन ६८ हजार ८६६ जनाको आवेदन दिएका थिए । जसमा १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए ।
१५ दिन र ३० दिन अवधिका तालिमबाट दुई हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिएका थिए । तर, तालिम लिएकाहरू कुन–कुन क्षेत्रमा छन् र उनीहरूको अवस्थाबारे बुझ्न महानगरपालिकाले खोजी गर्न थालेको हो । यस्तै, तालिम लिएकै मध्येबाट सम्पर्कमा आएका ३० जनालाई महानगरपालिकाले मासिक न्यूनतम १८ हजार पारिश्रमिकसहित विद्युतीय र अन्य सवारीसाधन मर्मतको ‘अन द जब’का लागि पठाउने तयारीसमेत गरेको छ । तालिम लिएका अन्य व्यक्ति बेरोजगार तथा हालसम्म काममा नलागेको भए सम्पर्कमा आउन अनुरोधसमेत गरेको छ ।
सम्पर्कमा आएका ३० जनालाई रोजगार दिन महानगरपालिका र चाँगुनारायण फाउन्डेसनसँग मंगलबार सम्झौता भएको छ । महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र फाउन्डेसनका तर्फबाट अध्यक्ष मनिराज खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौतापछिको प्रतिक्रियामा उपप्रमुख सुनिता डंगोलले साझेदार सबैको भूमिका जोडेर साझा लक्ष्य पूरा गर्न सकिएको बताइन् । गत वर्ष महानगरपालिकाले सीप मेलाबाट प्रदान गरेको अटो इलेक्ट्रिकमा ४० जना इलेक्ट्रिकल भेहिकल (इभी) मा ६० जना गरी एक सयजनाले एकमहिने तालिम लिएका थिए । उनीहरूमध्ये सबैलाई सम्पर्क गर्दा ५० जनाले रोजगारीमा जान इच्छा देखाएका छन् । सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार इच्छुक ५० जनामध्ये ३० जना छनोट गरेर ‘अन द जब ट्रेनिङ’मा पठाइनेछ ।
फाउन्डेसनसँग असार मसान्त ०८३ सम्मका लागि सम्झौता भएको हो । यसबमोजिम प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरपालिकाले ‘अन द जब ट्रेनिङ्’ का लागि सिफारिस गर्नेछ । यसपछि कार्यस्थलमा सिप सिक्ने प्रबन्धको संयोजन फाउन्डेसनले गर्नेछ । यसरी कार्यस्थलमा सिप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा मासिक १८ हजार पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट नौ हजार र फाउन्डेसनले नौ हजार प्रदान गर्नेछन् ।
महानगरपालिकाले सिपमूलक तालिम, रोजगारी र स्वरोजगारीको अवसरका लागि गरेका प्रयत्नका विषयमा प्रस्तुतिकरण गर्दै आइरहेको छ । अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सिप परीक्षण, स्तर र योग्यताका लागि महानगरपालिकाले नियमित काम गरिरहेको छ ।