मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
२o८१ मङ्सिर ६ बिहीबार o९:२४:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिउँदमा भारतबाट ६५४ मेगावाट विद्युत् खरिद गर्न नेपाललाई स्वीकृति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ६ बिहीबार o९:२४:oo

यो वर्षको हिउँदमा नेपालले भारतबाट ६ सय ५४ मेगावाट विद्युत् खरिद गर्ने स्वीकृति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले २० नोभेम्बरदेखि १५ मार्च (४ मंसिर–२ चैत)सम्म सो बराबरको विद्युत् नेपाललाई बिक्री गर्ने स्वीकृति दिएको नेपाल विद्युत् प्राधिकरणलाई जानकारी दिएको छ । 

त्यसअन्तर्गत प्राधिकरणले ढल्केवर–मुजफ्फरपुरबाट ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट विद्युत् आयात गर्न पाउनेछ । यद्यपि, अहिले नेपालबाट भारतमै विद्युत् निर्यात भइरहेको छ । तर, हिउँदका कारण पुसबाट विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसकै पूर्वतयारीस्वरूप भारतबाट विद्युत् खरिदको स्वीकृति लिइएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । नेपालले भारतबाट विद्युत् आयात गर्दा पनि त्यहाँबाट पूर्वस्वीकृति लिनुपर्छ । 

योबाहेक महाकाली सन्धिअनुसार वार्षिक सात करोड युनिट विद्युत् निःशुल्क पाइन्छ, जुन हिउँदमै आयात गरिन्छ । हिउँदमा त्यसअन्तर्गत दैनिक १२ मेगावाट विद्युत् आयात गर्न सकिन्छ । त्योअनुसार हिउँदमा ६६६ मेगावाटसम्म आयात गर्न सकिने उनको भनाइ छ । 

‘योसँगै अब हामीले आवश्यक परेको अवस्थामा भारतको इनर्जी एक्सचेन्ज मार्केटबाट ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न सक्छौँ । साथै, महाकाली सन्धिअनुसार थप विद्युत् आयात गर्न पाइन्छ,’ उनले भने, ‘योसँगै हिउँदमा हुने विद्युत्को मागलाई व्यवस्थापन गर्न सहज हुनेछ ।’ 

भारतले १६ मार्चदेखि ३० जुन (३ चैत ३ देखि १६ असार) सम्मका लागि भने बिहान ६ देखि साँझ ६ बजेसम्म (दैनिक १२ घन्टा) मात्रै ६५४ मेगावाट विद्युत् आयात गर्न स्वीकृति दिएको छ । त्योअनुसार स्वदेशी उत्पादन नबढेमा चैतदेखि जेठसम्म रातमा विद्युत्को माग व्यवस्थापन गर्न चुनौती हुने देखिन्छ । 

यद्यपि, भारतको एनटिपिसी विद्युत् व्यापार निगमसँग फेब्रुअरीदेखि मे (माघ १९ देखि जेठ १८ गते)सम्म थप २३० मेगावाट विद्युत् खरिद गर्ने गरी छुट्टै सम्झौता गरिएको छ । ‘राउन्ड दी क्लक’ मोडेलको उक्त सम्झौताअन्तर्गत २४सै घण्टा विद्युत् खरिद गर्न पाइनेछ, त्यसअन्तर्गत विद्युत् खरिद गर्न पनि भारत सरकारले स्वीकृत दिइसकेको छ । साथै, महाकाली सन्धिअनुसार पनि थप विद्युत् आयात गर्न सकिन्छ । 

त्यो अवस्थाामा चैतपछि पनि विद्युत् व्यवस्थापन गर्न सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘एनभिभिएनसँगको ‘राउन्ड दी क्लक’ सम्झौताअनुसार फेब्रुअरीमा (माघ १९ देखि जेठ १८ सम्म) थप २३० मेगावाट विद्युत् २४ घण्टा नै आयात गर्न पाइन्छ । महाकाली सन्धिअनुसार पनि विद्युत् बाँकी नै रहन्छ,’ उनले भने, ‘गर्मीले हिउँ पग्लिएर खोलामा पानीको बहाव बढ्न गई चैत–वैशाखबाट नेपालकै उत्पादन बढ्छ । त्यसले गर्दा विद्युत्को माग व्यवस्थापन गर्न पुग्छ भन्ने विश्वास छ । जेठ मध्यतिरबाट विद्युत् निर्यात गर्ने अवस्थामै पुग्छौँ ।’

उनका अनुसार १०–१२ असोजको बाढीले क्षतिग्रस्त ४५६ मेगावाटको माथिल्लो तामाकोशी पनि पुससम्म आंशिक रूपमा सञ्चालनमा आउनेछ । अर्धजलायशयुक्त उक्त परियोजना सञ्चालनमा आएमा हिउँदको विद्युत् माग धान्न थप सहज हुने उनको भनाइ छ । अहिले नेपालको विद्युत् जडित क्षमता ३४ सय मेगावाट हारहारीमा छ । तर, बाढीले माथिल्लो तामाकोशी सहित ६ सय मेगावाट हाराहारीका परियोजनाको उत्पादन हुन सकेको छैन । हिउँदमा विद्युत् उत्पादन एक हजार मेगावाट हाराहारीमा आउनेछ । विद्युत्को माग भने १६ सय मेगावाट हाराहारीमा हुने अनुमान छ । त्योअनुसार आयात गरिने विद्युत्सहितले माग धान्न पुग्ने प्राधिकरणको दाबी छ ।

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् निर्यात
चालू आर्थिक वर्ष (आव) ०८१/८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । गत आवको पहिलो चार महिना १२ अर्ब ५० करोड आठ लाख रपैयाँको विद्युत् निर्यात भएको थियो । त्योअनुसार अहिले त्यो आंशिक रूपमा बढेको देखिन्छ । 

नेपाल विद्युत प्राधिकरणबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यस अवधिमा एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् निर्यात भएको छ । 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धीदरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ ।

हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाका विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जानेछ । हिउँदका केही महिनामा विद्युत् आयात गर्नु पर्नेछ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारणलाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए । 

‘बाढीपहिरोका कारण माथिल्लो तामाकोशीसहित करिब ६ सय मेगावाट क्षमताका  विभिन्न परियोजनाको विद्युत् उत्पादन बन्द भयो, जसका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित हुनपुग्यो,’ उनले भने, ‘यसबाट चालू आवमा राखिएको करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्यसमेत प्रभावित हुने देखिएको छ ।’ 

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।