०४८ को आमनिर्वाचनपछि सभामुख बनेका दमननाथ ढुंगानाले संसद्मा सत्ता र प्रतिपक्षबिचको दूरी घटाउन कुशलतापूर्वक भूमिका निर्वाह गरे, माओवादी सशस्त्र संघर्षलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्न सहजकर्ताको हैसियतमा सक्दो प्रयास गरे
बहुदल ल्याउन मिलेर एकैसाथ कांग्रेस र कम्युनिस्ट संघर्षमा उत्रिएका भए पनि प्रजातन्त्रको पुनर्बहालीपछि यी दुई धारबिच कठोर तनाव थियो । र, यसको झल्को गाउँदेखि सहरसम्म र चुनावदेखि संसद्सम्ममा देखिन्थ्यो । ठिक त्यही वेला काठमाडौं– २ बाट निर्वाचित दमननाथ ढुंगानाले संसद्मा ‘रेफ्री’ अर्थात् सभामुख बन्ने अवसर पाएका थिए । ०४८ को आमनिर्वाचनपछि सभामुख बनेका ढुंगानाले संसद्मा सत्तापक्ष र प्रतिपक्षबिचको दूरी घटाउन कुशलतापूर्वक भूमिका निर्वाह गरे ।
संसद्मा मात्र होइन नेपालको शान्ति प्रक्रियामा पनि ढुंगानाले ‘रेफ्री’को भूमिका निर्वाह गरे । सरकार–माओवादीबिचका वार्तामा उनी मध्यस्थकर्ताका भूमिकामा रहे । सरकार र माओवादी दुवैका लागि विश्वासयोग्य पात्रका रूपमा ढुंगानाले माओवादी सशस्त्र संघर्षलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्न आफ्नो ठाउँबाट सक्दो प्रयास गरे । सरकार–माओवादीबिच वार्ताका लागि सहजीकरण गर्न उनी सधैँ अग्रसर हुन्थे । ढुंगानाले तीनपटकका वार्तामा सहजीकरणको भूमिकामा रहे । उनी पद्मरत्न तुलाधरसँगै सहजकर्ता थिए ।
नेपालको राजनीति, संसद्, कानुन र मानव अधिकार क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएका तथा सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्न भूमिका खेलेका उनै ‘रेफ्री’ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ । कलेजोको क्यान्सरबाट ग्रसित सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष रहेका ढुंगानाको आइतबार दिउँसो २ बजे काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको भान्जा सुरज भट्टराईले बताए ।
गौशालास्थित निवासमा ढुंगाना बोल्दाबोल्दै पत्नी भुवन कोइरालाको काखमा बेहोस भएका थिए । त्यसपछि उनलाई नजिकैको फ्रन्टलाइन अस्पताल लगिएको थियो, जहाँ पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । ढुंगानाको शव टिचिङ हस्पिटलमा राखिएको छ । छोरा डा. निमेष ढुंगाना बेलायतबाट आइपुगेपछि अन्तिम संस्कार हुनेछ । निमेष ११ बजे काठमाडौं आइपुग्नेछन् । सर्वसाधारणका लागि ढुंगानाको शवलाई सोमबार बिहान ११ बजे सानो गौचरणमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि आर्यघाट लगिनेछ ।
२ माघ १९९८ मा जन्मेका ढुंगाना २०१७ सालदेखि राजनीतिमा लागेका हुन् । ढुंगाना पहिलो जननिर्वाचित सभामुख हुन् । यसअघि ०१५ सालको संसद्मा कृष्णप्रसाद भट्टराई पहिलो मनोनीत सभामुख हुन् । ०४८–५१ असारसम्म सभामुख भएका ढुंगानाको ‘सरकार सत्तापक्षको, संसद् प्रतिपक्षको भन्ने भनाइ चर्चित छ । ढुंगानाले श्रीलंकामा सम्पन्न सात राष्ट्रको सभामुख फोरममा उत्कृष्ट सभामुखको उपाधि पाएका थिए । ढुंगाना नेपाल मानव अधिकार संगठन, एम्नेस्टी, ट्रान्सपरेन्सीजस्ता संस्थाको संस्थापक पनि हुन् । साहित्यकारसमेत रहेका ढुंगानाको ‘यही हो नेपाल’ भन्ने गीत चर्चित छ ।
पछिल्लो समय ढुंगाना संविधान कार्यान्वयन गराउन सार्वजनिक फोरमबाट भूमिका खेल्दै आएका थिए । ढुंगाना पूर्वसभामुख भएपछि सरकारी सुविधा लिएनन् । पूर्वसभामुखले पाउने कुनै सुविधा नलिएको र ज्येष्ठ नागरिक भत्ता पनि नलिएको भान्जा भट्टराईले बताए । ढुंगानाले शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन मानव अधिकारवादी संघसंगठनमा बसेर टिआरसी आयोग र द्वन्द्वपीडितसँग भूमिका खेलिरहेका थिए ।
०५१ को आमचुनावमा ढुंगाना काठमाडौं–२ मा विद्या भण्डारीसँग पराजित भए । त्यसपछि राजनीतिबाट टाढिए । विपक्षीलाई सहयोग गरेको भनेर पार्टीको नेतृत्व र संसद्बाट ढुंगानालाई गिरिजाप्रसाद कोइरालाले किनारामा पु¥याएको कांग्रेसका नेताहरू बताउँछन् । लामो अन्तरालपछि ढुंगाना ०७४ सालमा भक्तपुर–२ बाट चुनाव लडे । तर, एमालेका महेश बस्नेतसँग पराजित भए ।
ढुंगानाको निधनमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । सभामुख घिमिरेले ढुंगानाको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्वसभामुखहरूले पनि ढुंगानाको निधनलाई अपूरणीय क्षति भनेका छन् ।
ढुंगाना सभामुख हुँदा एमालेबाट सांसद रहेका विरोध खतिवडा अहिलेसम्मकै एक नम्बर सभामुख भनेर सम्झिन्छन् । ‘उहाँको कामकारबाही, खुबी, गुण र क्षमताले सदन सञ्चालन सहज भयो,’ उनले भने । बहुदलअगाडि कानुन, मानव अधिकारलगायत समाजका सबै पक्ष र विचारसँग काम गरेको पुरानो अनुभवले पनि साथ दिएको उनको ठम्याइ छ । ‘कम्युनिस्टप्रति गिरिजाबाबुको हार्डलाइनर विरोधी धारणा थियो । हामी पनि ०४८ पछिको लोकतन्त्रको नयाँ अभ्यासमा अनुभव नहुँदा सरकारको कट्टर विरोधी थियौँ,’ उनी सम्झिन्छन्, ‘त्यो द्वन्द्व कट्टर रूपमा सदनमा आउँथ्यो, त्यसलाई व्यवस्थापन गरेर उहाँ अघि बढनुभयो ।’
ढुंगाना सत्ता र प्रतिपक्षी दुवैको निशानामा परेको खतिवडा सम्झिन्छन् । ‘कांग्रेसको सभामुख भएर विपक्षीलाई सहयोग गरेको भनेर सत्तापक्षले आरोप लगाउँथ्यो । सदनभित्र सत्तापक्षकै सांसदले यो आरोप लगाए,’ उनी सम्झिन्छन्, ‘त्यसपछि उहाँले कोसेढुंगा हुने गरी एउटा शब्द उत्पत्ति गर्नुभयो, सरकार सत्तापक्षको, संसद् विपक्षको । यसलाई उहाँले विभिन्न ढंगले व्याख्या गर्नुभयो । सरकारले निर्णय गर्ने हो, लागू गर्ने हो, सदनमा कराउने होइन । विपक्षसँग सरकार छैन, सदनमै बोल्ने हो । विपक्षी सांसदको मन्त्रीसँग त्यति पहुँच हुँदैन । विपक्षलाई आवाज राख्ने ठाउँ दिनुपर्छ । त्यसले लोकतन्त्र बलियो हुन्छ भन्नुभयो ।’
विपक्षीले सदनमा आवाज राख्न नपाउँदा सडकमा जाने र त्यसले द्वन्द्व बढ्ने तर्क ढुंगानाको थियो । ‘सडकमा जाँदा हिंसा र तोडफोड हुन्छ । सदनमै मुखरित गरायो भने सडकमा आउँदैन । जतिसक्दो प्रतिपक्षको आवाज सदनमा दिनुपर्छ भन्ने मान्यता उहाँको थियो,’ खतिवडाले भने ।
ढुंगानासँग लामो समय काम गरेका संविधानसभा सदस्य राधेश्याम अधिकारी निर्भीक दृष्टिकोणको अत्यन्तै पक्का र विचारमा अडिग मान्छेको रूपमा सम्झिन्छन् । ‘सभामुखको भूमिका समन्वयकारी र अत्यन्तै सन्तुलित थियो । जसका कारण दुवै पक्ष उहाँसँग रिसाउने भए । अम्पायरिङ गर्ने ठाउँमा हुँदा सत्तापक्षले प्रतिपक्षलाई ज्यादा महŒव दिएको आरोप लगाउँथ्यो,’ उनले भने, ‘प्रतिपक्षले तपाईं सत्ताकै पक्षमा जाने त हो भन्थे । यसका बाबजुद उहाँको निष्पक्षता थियो । इन्टिग्रिटी थियो । साढे दुई वर्षको कार्यकाल बेन्चमार्क नै भएको थियो । लोकतन्त्रका लागि लडेको भएर कुनै कम्प्रमाइज गर्नुभएन । यो उहाँले आचार र व्यवहारबाट देखाउनुभयो ।’ ढुंगानाले ०४७ को संविधान बनाउँदा महŒवपूर्ण भूमिका खेलेको, विद्यार्थी कालदेखि लोकतन्त्रका लागि लडेको र जेलनेल भागेको परिपक्व व्यक्ति भएको अधिकारीको भनाइ छ ।
सदन औपचारिकतामा चल्छ भन्ने मान्यता पनि ढुंगानाले भत्काएका थिए । ‘सदन कुनै रुटिनमा होइन, जीवन्त हुनुपर्छ, देश जनताका समस्या, पेसागत समस्या मुखरित हुनुपर्छ । सरकारले सक्ने गर्नुपर्छ, नसक्ने सुन्नुपर्छ । विपक्षीले कुरा राख्नुपर्छ । तर, सदनमा बोल्दा हुने कुरा गर्नुपर्छ भन्ने थियो,’ खतिवडाले भने, ‘त्यहीअनुसार कार्यसूचीभन्दा फरक एजेन्डा आए पनि समय दिनुहुन्थ्यो । कसले के बोलिरहेको छ, मुद्दा हेरेर तोकिएको समयभन्दा बढ्ता बोल्न दिनुहुन्थ्यो । विनामतलबको छ भने माइक काट्नुहुन्थ्यो । आवश्यक, राष्ट्र, संसद्का लागि ज्ञानबद्र्धक बोलेको छ भने समय दिनुहुन्थ्यो । विवेकशील सभामुख हुनुहुन्थ्यो ।’
ढुंगाना सभामुख र खतिवडा सांसदका रूपमा रोचक प्रसंग छ, दमन र विरोध । यसमा खतिवडा भन्छन्, ‘कांग्रेससँग कम्युनिस्ट हार्न नहुने र कम्युनिस्टसँग कांग्रेस हार्न नचाहने अवस्थामा सदनको वातावरण सहज बनाउन द्वन्द्व भइरहेका वेला सहजीकरण गर्ने उहाँ सिपालु हुनुहुन्थ्यो । त्यो द्वन्द्वमा उहाँले तपाईंको काम विरोध गरिरहनुस् । म दमन गरिरहन्छु भन्नुभयो । त्यसपछि सबै गलल्ल हाँसे । तुरुन्तै वातावरण सहज भयो । त्यो क्षमताको कुरा हो । सदन रबर स्ट्याम्प होइन सार्थक हुनुपर्छ भनेर । तोकिएकोबाहेक एजेन्डा आउनुपर्छ भन्ने । राष्ट्रलाई फाइदा छ भने कोट्याएर सोध्ने, अनावश्यक छ भने बस्नुस् भन्ने उहाँको विशेषता हो ।’ सभामुख भएपछि दोस्रोपटक निर्वाचन हार्दा पनि सार्वजनिक जीवनमा सक्रिय रहेको उनले स्मरण गरे ।
पूर्वसभामुख अग्नि सापकोटाले ०४६ को परिवर्तनपछि पहिलो सभामुख भएर नयाँ मानक स्थापना गरेको बताए । ‘संसद् प्रतिपक्षको हो । प्रतिपक्षको आवाज मुखरित हुन दिनुपर्छ भनेर मानक दिनुभयो । अहिलेसम्म त्यो मानक सबैले प्रशंसा गरेका छन् । संसद् निकै प्रभावकारी र निष्पक्ष ढंगले चलाउनुभयो,’ उनले भने ।
शान्ति प्रक्रियामा महŒवपूर्ण ढंगले भूमिका खेलेको उनी सम्झिन्छन् । ‘हामी शान्ति वार्तामा आउँदा उहाँ र पद्मरत्न तुलाधर मिलेर धेरै पहलकदमी लिनुभएको थियो । वार्तामा हामी सँगै बस्थ्यौँ । सहमतिमा पुग्न धेरै मेहनत गर्नुुहुन्थ्यो,’ उनले भने, ‘उहाँ सामाजिक अभियन्ता पनि हो । प्रत्येक आन्दोलनमा अग्रणी भूमिका नागरिक समाजको रूपमा पनि । उहाँ स्थापित वरिष्ठ अधिवक्ता पनि हो । उहाँको व्यक्तित्व बहुआयामिक थियो । नेपालको संसदीय इतिहासमा नाम सदा स्मरणीय रहनेछ ।’
सामाजिक अभियानको क्षेत्रमा सम्झिरहने व्यक्तिको रूपमा सापकोटा विश्लेषण गर्छन् । ‘यस अर्थमा उहाँको भूमिका बहुआयामिक थियो । धेरै महŒवपूर्ण योगदान गर्नुभयो । कलेजो रोगका बाबजुद पनि सक्रिय भइरहनुभएको थियो । हाम्रा अग्रज पनि हुनुभयो । समग्र लोकतान्त्रिक मूल्य–मान्यता स्थापित गर्ने कुरामा उहाँको अमूल्य योगदान रह्यो,’ सापकोटाले भने ।
कसले कसरी सम्झिए ?
राष्ट्रपति रामचन्द्र पौडेल : राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदान सधैँ स्मरणीय हुनेछ ।
प्रधानमन्त्री केपी ओली : ०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु ।
कांग्रेस सभापति शेरबहादुर देउवा : पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खबरले स्तब्ध भएको छु । नेपालको लोकतन्त्र, मानव अधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड : नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व, पूर्वसभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको छ । नेपाल र नेपाली जनताले देशको राजनीतिक तथा सामाजिक परिवर्तनमा उहाँले पु¥याएको योगदानलाई सदैव सम्झिरहनेछन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई : समकालीन नेपालका एक विशिष्ट, बौद्धिक तथा राजनीतिक व्यक्तित्व र हाम्रा आत्मीय अग्रज मित्र दमननाथ ढुंगानाको आकस्मिक देहान्तको खबरले स्तब्ध छु । नेपालको अग्रगामी राजनीतिक परिवर्तन, मानव अधिकार संरक्षण र विशेषतः शान्ति प्रक्रियामा उहाँले पु¥याउनुभएको योगदान हामीले सदैव सम्मानपूर्वक सम्झिरहनेछौँ ।