साउदी अरबस्थित नेपाली दूतावासले ‘मर्यादा र शिष्टाचार’मा रही काम गर्न यहाँ रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ। सार्वजनिक स्थानमा सुन, ब्रासलेट, हाफप्यान्ट लगाएको कारण नेपाली नागरिकलाई जरिवाना लागेकाले दूतावासले साउदी अरबको कानुन पालना गर्न अपिल गरेको हो।
दूतावासले एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर हिँड्ने, सार्वजनिक स्थान र प्रार्थनाको समयमा ठुलो आवाजमा गीत बजाउने, सार्वजनिक स्थानमा थुक्ने, फोहाेर गर्ने, जेष्ठ नागरिक–अशक्तको निम्ति छुट्याएको स्थान ओगट्ने, लाइन मिच्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ।
नेपाली दूतावास रियादका डिसिएम डा. डमरुबल्लभ पौडेलले दमाम सहरमा एक नेपालीलाई ५ हजार जरिवानाको जानकारी आएकाले सजग र मर्यादित भएर काम गर्न आग्रह गरिएको बताए। साउदी अरबको कानुनको अधीनमा रही काम गर्नुपर्ने भएकाले दूतावासले सचेत गराएको उनको भनाइ छ।
सूचनामा अमर्यादित चित्र भएका वा भेदभाव प्रर्वद्धन गर्ने वा यौनजन्य हाउभाउ भएका, तडकभडक देखिने पोसाक तथा गहना नलगाउन, ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो र भिडियो नखिच्न, अमर्यादित ठानिएका वा साउदी अरबको समाजलाई अप्रिय लाग्ने वा सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने कार्यहरू बर्जित रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
साउदी अरबको कानुनले रोक लगाएको कार्य गरेको पाइएमा पाँच हजार रियाल (नेपाली १ लाख ७५ हजार रुपैयाँ) जरिवाना र थप सजाय हुने भएकाले नैतिकताविपरीत कार्य नगर्न दूतावासले नेपाली नागरिकसँग विज्ञप्तिमार्फत अपिल गरेको हो।