१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
२o८१ कार्तिक २८ बुधबार १६:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धनुषाबाट सर्प उद्धारकर्ता प्रशिक्षण दिइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार १६:o६:oo

पर्यावरणका लागि महत्त्वपूर्ण रहेको सर्पको संरक्षणका लागि उद्धारकर्ताको भूमिका निकै महत्त्वपूर्ण छ। त्यसैले मानव र सर्प दुवैलाई एक–अर्कासँग जोगाउन धनुषामा सर्प उद्धारकर्ता प्रशिक्षण तालिम हुने भएको छ। मिथिला वाइल्ड लाइफ ट्रस्टको आयोजनामा सर्पदंशबाट हुने मृत्यु न्यूनीकरण गर्न चलाइएको अभियानअन्तर्गत सर्प उद्धारकर्ताको रूपमा भोलेन्टियरको खोजी गरिएको हो। पाइलट प्रोजेक्टको रूपमा धनुषामा दिइने सर्प उद्धारकर्ता प्रशिक्षण क्रमशः मधेश प्रदेशका अन्य जिल्ला हुँदै देशभर चलाइने बताइएको छ।

मिथिला वाइल्ड लाइफ ट्रस्टका फाउन्डर देवनारायण मण्डलले सर्पबारे जानकारी नहुँदा र सर्पसँग मानवको अनाहक सम्पर्क हुँदा बर्सेनि सर्पदंशबाट सयौँले ज्यान गुमाउनुपरेको बताए। उनी सर्पकै कारण मानवको मात्र मृत्यु नभई मानवबाट समेत सर्पहरू मारिने क्रम बढ्दो क्रममा रहेको बताउँछन। पर्यावरणलाई सन्तुलित राख्न मानवजत्तिकै योगदान सर्पको समेत रहेकोमा सर्प र मानवलाई एक–अर्काबाट जोगाउने उद्देश्यले पहिलो चरणमा धनुषामा सर्प उद्धारकर्ता तयार गर्न आफूहरूले कार्य थालेको मण्डलको भनाइ छ।

उनका अनुसार पहिलो चरणमा धनुषाका प्रत्येक पालिकाबाट दुईजना उद्धारकर्ता चयन गर्ने र उनीहरूलाई प्रशिक्षित गर्ने लक्ष्य छ। प्रशिक्षणपछि उनीहरू सर्पको पहिचान गर्न, सर्पलाई सुरक्षित साथ समात्न र सुरक्षित स्थानमा उद्धार गर्न सक्ने गरी तयार हुने मण्डलले बताए। भोलेन्टियर सर्पको उद्धारका साथै सर्पबारे आममानिसलाई जानकारी प्रवाह गर्नसमेत सक्षम हुने उनले बताए।

सर्पले टोक्नासाथ झारफुक गर्ने र करेन्ट लगाउनेलगायत विभिन्न अन्धविश्वासका कार्यहरू समाजमा भइरहेको र सोही कारण विशालु सर्पले टोकेको खण्डमा अकालमा मृत्युसमेत हुने गरेको उल्लेख गर्दै उनले उद्धारकर्ताले यसबारे सचेतना फैलाउन मद्दत गर्ने बताए। सर्पको जानकारीसँगै सर्पले टोकेका बिरामीको ठेगाना, उपलब्ध भए सर्पको फोटो तथा प्राथमिक उपचारसमेतको जानकारीसँगै सर्पदंश उपचार केन्द्रको जानकारीलगायतको विविध सुविधा भएको एप्ससमेत निर्माणको चरणमा रहेको उनको भनाइ छ।

मण्डलले स्थानीय तहका नगरप्रहरी, सबभिडिजन वन कार्यालयका वनरक्षकलगायतलाई समेत उद्धारकर्ताको प्रशिक्षण दिने आफूहरूको तयारी रहेको बताउँदै आगामी डिसेम्बरभित्र ठुलो संख्यामा उद्धारकर्ता तयार गर्ने तयारी रहेको जानकारी दिए। उनका अनुसार उद्धारकर्ताहरूलाई प्रशिक्षणदेखि आवश्यक उपकरणहरूसमेतको व्यवस्थापन भइसकेको छ। प्रशिक्षित हुनेलाई बेलायतस्थित संस्था पिपल ट्रीले उपकरणहरू उपलब्ध गराउनेछ।

मिथिला वाइल्ड लाइफ ट्रस्टले सेभ द लाइफ्स र इन्डियन स्नेक्ससँग मिलेर प्रशिक्षण दिन लागेको हो। अभियानमा सहकार्यका लागि संस्थाले स्थानीय तह तथा अन्य संघसंस्थालाई समेत आग्रह गरेको छ।