राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु भएको छ। सरकारी वकिलको कार्यालय रुपन्देहीमा मंगलबार साढे तीन घण्टाभन्दा बढी समय बयान दिएका लामिछानेसँग आज बुधबार बिहान साढे १० बजेबाट बयान सुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार आजको बयानमा करिब ५० प्रश्न सोधिनेछ। कति प्रश्न सोधिन्छ भन्ने यकिन नहुने भन्दै उनले सोध्दै जाँदा ५० भन्दा बढी हुन सक्ने बताइन्। लामिछानेसँग मंगलबार रुपन्देहीमा तीन घण्टा ३५ मिनेट बयान लिइएको थियो। सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका उनलाई सरकारी वकिलको कार्यालयमा बयान लिइएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले मंगलबार दिउँसो सवा १ बजेबाट सुरु गरिएको बयान ४ बजेर ५० मिनेटसम्म जारी रहेको बताएका थिए। मंगलबार प्रारम्भिक बयान लिइएको थियो।
मंगलबार बयानपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको थियो। आज बिहान उनलाई जिप्रकाबाट सरकारी वकिल कार्यालयमा लगिएको छ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई सीधै कास्की लगिएको थियो। कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि मंगलबार भैरहवा ल्याइएको थियो।
सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका लामिछानेलाई आइतबार मात्रै कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो। सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही ल्याएको हो।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही पठाउन प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरेको थियो। कात्तिक २ गते पक्राउ परेका उनलाई कास्की प्रहरीसँगको समन्वयमा सोमबार विमानबाट भैरहवा ल्याइने तयारी गरे पनि विमानको समय नमिलेपछि मंगलबार ल्याइएको थियो।