मैले विवेकलाई कुनै कोणबाट घृणा गर्न सकिनँ, जब कि ऊ पैसाका लागि मेरो मातृभूमिमा मलाई मार्न आएको थियो
रूसले ल्याटिन अमेरिका, अफ्रिका र एसियाबाट हामी (युक्रेन) विरुद्धको युद्धका लागि भाडाका सिपाही लिने गरेको छ । यदि तपाईंले कसैले रुसी सेनामा भाडाको सिपाही हुन खोजिरहेको पाउनुहुन्छ भने कृपया तिनलाई रोक्नुहोस् । हामी युक्रेनी हाम्रो घर र परिवारको रक्षाका लडिरहेका छौँ, किनभने साम्राज्यवादी रुसले हामीमाथि प्रभुत्व जमाउन खोजिरहेको छ । हाम्रो संघर्ष मूलतः साम्राज्यवादविरोधी हो र हामी आर्थिक रूपमा विपन्न विश्वको भूभाग (दक्षिणी गोलार्ध) प्रति गहिरो सहानुभूति राख्छौँ । म त्यहाँका मानिसलाई रुस एक साम्राज्यवादी शक्ति हो भन्ने थाहा पाउन अपिल गर्छु । सम्भवतः रुस तपाईंका मुलुकका लागि पीडक नहुन सक्छ, तर एक साम्राज्य नै हो ।
साम्राज्यवादी युद्धमा भाग लिनु भनेको अरूको दमनमा योगदान गर्नु हो । तर, यसरी पैसाका लागि कसैको ज्यान लिन तयार हुनु उचित होइन । यी गरिब युवालाई साम्राज्य विस्तारका लागि लड्न धकेलिएको देख्दा मलाई साह्रै दुःख लाग्छ । युक्रेनी सेनामा छँदा मैले केही भाडाका सिपाहीलाई भेट्न पाएको थिएँ । युक्रेनको पूर्वी मोर्चामा पक्राउ परेका नेपाली नागरिक विवेकको कथा अझै पनि सम्झिन्छु । जेल चलान गर्नुअघि उसलाई पहरा दिने जिम्मा हाम्रो एकाइलाई दिइएको थियो । जेल स्थानान्तरणको निर्णयमा ढिलाइ भएका कारण विवेक लामो समयसम्म हामीसँग थियो ।
रुसी युद्धबन्दीका सन्दर्भमा तिनलाई रुसमा रहेका युक्रेनी युद्धबन्दीसँग आदानप्रदान गर्नु अगाडिसम्मका लागि शिविरमा पठाइन्छ । कब्जा गरिएका क्षेत्रका युक्रेनी नागरिक, जो रुसका तर्फबाट युद्ध लड्छन्, तीमाथि कानुनी प्रक्रिया अगाडि बढाइन्छ र सुनुवाइका क्रममा तिनलाई जबर्जस्ती युद्ध लड्न लगाइएको हो वा देशद्रोह गरेको हो भन्ने निर्धारण गरिन्छ । यद्यपि, तेस्रो मुलुकका युद्धबन्दीका लागि लागू हुने प्रक्रिया सुरुमा अस्पष्ट थियो । लडाइँमा पक्राउ परेको विवेक हाम्रा लागि पहिलो त्यस्तो मामिला थियो, त्यसैले उसका सन्दर्भमा उपयुक्त अधिकारिक निर्णय गर्न हामीले केही समय कुर्यौँ ।
विवेक अग्लो र कालो आँखा भएको एक सुन्दर युवक थियो । मलाई सम्झना छ, उसलाई बाँधेको डोरी मैले नै फुकाएको थिएँ । त्यसवेला मलाई ऊप्रति टिठ लाग्यो र उसले पनि सम्भवतः मैले टिठ मानेको महसुस गरेको थियो । अस्पष्ट अंग्रेजी बोल्दै उसले हामीसँग संवाद गर्न खोजिरहेको थियो । ‘के अब म घर जान पाउँछु ?’ उसको पहिलो प्रश्न थियो । प्रश्न सुनेर म झन्डै भावुक भएँ । विवेक निकै सोझो थियो, आँखामा बिन्तीभाव थियो र डराएर बोलिरहेको थियो । विवेकलाई सम्भवतः युक्रेनी र अन्तर्राष्ट्रिय कानुनले आफूलाई भाडाको सिपाही मान्छ भन्ने पनि थाहा थिएन । विवेकलाई युक्रेनमा युद्धबन्दी भएपछि घर जान पाउँछु भन्ने लागेको थियो ।
वास्तवमा विवेक ‘भाडाको सिपाही’जस्तो देखिन्थेन । ऊ एक लजालु र अबोध केटो थियो । सोधपुछका क्रममा उसले आफ्नो नाम, पद, एकाइ र परिस्थितिबारे खुलासा गरेको थियो । उसले आफू आमाको एक्लो सन्तान रहेको र आफ्नी गरिब एवं बिरामी आमाका लागि पैसाको जोहो गर्न रुसी सेनामा भर्ती भएको बतायो । मैले उसलाई खानापानीको व्यवस्था गरेको थिएँ । उसको चोटिल तिघ्रा निको होस् भनेर मैले मेरै प्यारासिटामोल र एन्टिबायोटिक औषधि पनि दिएको थिएँ । र, नियमले नमिल्ने भए पनि उसका लागि मैले चुरोट किनिदिएको थिएँ ।
विवेकले आफ्नी आमालाई टेवा पुर्याउन कागजातविहीन भई काम गर्ने उद्देश्यले विद्यार्थी भिसामा रुस आएको बतायो । उसले एउटा सानो कारखानामा ज्याला मजदुरीमा काम गरिरहेको थियो । एक दिन उसलाई एक नेपाली भर्तीकर्ताले मस्कोमा रहेको ‘रक्षा मन्त्रालय’मा ‘भान्से’को जागिर प्रस्ताव गर्यो र मौजुदा वेतनभन्दा १२ गुणा बढी तलब पाउने प्रलोभन दियो । र, उसले सहजै नयाँ जागिर स्विकार्यो । यद्यपि मस्को जानुको सट्टा विवेकलाई तुरुन्तै युक्रेनको कब्जा गरिएको हिस्सा दोनेत्स्कमा खटाइयो, जहाँ उसलाई धाबा बोल्ने सेनाका रूपमा तालिम दिइयो । र, एक सातापछि युक्रेनी ठेगानामा आक्रमण गर्न पठाइयो ।
विवेक आफ्नो पहिलो लडाइँमै बन्दी बन्यो । उसले आफ्नो एकाइमा अरू नेपाली पनि रहेको तर तिनको अवस्थाबारे बेखबर रहेको बतायो । मैले उसलाई कुनै कोणबाट पनि घृणा गर्न सकिनँ, जबकि ऊ पैसाका लागि मेरो मातृभूमिमा मलाई मार्न आएको थियो । मैले उसलाई ‘भाडाको सिपाही’ नै मान्न सकिनँ । त्यो बिचरो, पथभ्रष्ट भए पनि मेरो छोरोको उमेरको थियो र यदि अर्कै परिस्थितिमा ऊ युक्रेन आएको भए सायद ऊ मेरो साथी हुन सक्थ्यो ।
विवेकलाई जेल चलान गरिएपछि उसलाई अधिकारीले कस्तो व्यवहार गरे, थाहा छैन, तर मैले पछि अन्य भाडाका सिपाहीसँग अदालतको सोधपुछ देखाउने एक भिडियोमा उसलाई देखेको थिएँ । विवेककसँगको भेटपछि रुसले शोषण गरेका ऊजस्ता एसिया र अफ्रिकाका हजारौँ गरिब युवाका अनुहार झलझली आँखामा आए । रुसमा प्रायः कागजातविहीन श्रमिकलाई निर्वासनको धम्की दिइन्छ र रसद वा अस्पतालमा जागिर दिने वाचा गरेर तोपको चारा बनाउन अग्रपंक्तिमा खटाइन्छ । धेरै मर्छन् र केही ‘भाग्यमानी’ पक्राउ पर्छन्, तर तिनले वर्षौंको जेलजीवन बिताउनुपर्ने हुन्छ । यसको साक्षी हुनु निकै पीडादायी हुन्छ, जब म दक्षिणी गोलार्धबाट थप भाडाका सिपाही पठाइएको सुन्छु, तब विवेकको उज्यालो आँखा र लजालु आवाज सम्झन्छु र उसको बर्बाद यौवनका लागि शोक मनाउँछु ।
(चापेयी युक्रेनका पूर्वसैनिक एवं लेखक हुन्)
अल जजिराबाट