१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
टीकापुर पार्कमा आन्तरिक पर्यटक
२o८१ कार्तिक २८ बुधबार १o:३o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आन्तरिक पर्यटकले खचाखच कैलालीका पर्यटकीय गन्तव्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार १o:३o:oo

कैलालीका पर्यटकीय गन्तव्यहरू आन्तरिक र बाह्य पर्यटकले खचाखच हुन थालेका छन् । दसैँदेखि यहाँका पर्यटकीय स्थलहरूमा पर्यटकको आवागमन बढेको हो । टीकापुर पार्क, चिसापानी, घोडाघोडी ताल, खानीडाँडा, गोदावरीलगायत पर्यटकीय गन्तव्यहरूमा हिजोआज पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

देशकै सबैभन्दा ठुलो मानव निर्मित पार्कका रूपमा रहेको टीकापुर पार्कमा अहिले दैनिक ६–७ हजार पर्यटक पुग्ने गरेका छन् । पार्कका इन्चार्ज अर्जुन कुँवरले टीकापुर पार्क अवलोकन गर्न आउने आन्तरिक पर्यटकको भिड थामिनसक्नु रहेको बताए । टीकापुर पार्कमा घुमफिर र वनभोज खान मानिसहरू जाने गर्छन् । ‘दसैँदेखि पर्यटक बढेका हुन्, हिजो मात्र ६ हजारभन्दा बढी पर्यटक आएका थिए,’ कुँवरले भने, ‘शनिबार र सार्वजनिक बिदाको दिन बढी भिड हुन्छ ।’

पछिल्लो एक सातामा मात्र ५० हजारभन्दा बढी पर्यटकले टिकट काटेर पार्कको अवलोकन गरेको पार्क व्यवस्थापन पक्षले जनाएको छ । निकै आकर्षक देखिने टीकापुर पार्कभित्र कर्णालीबाट छुट्टिएर आएको भंगालोको किनारमा वनभोज स्थल छ । तिहारमा देउसीभैलो खेलेर जम्मा गरेको पैसाले वनभोज खान आउनेको संख्या धेरै रहेको कुँवरले बताए ।

कैलाली, कञ्चनपुर, बर्दिया, दाङलगायत जिल्लाबाट टीकापुर पार्क घुम्ने पर्यटकको संख्या बढी रहेको स्थानीय बताउँछन् । पार्कमा चैतसम्मै पर्यटकको भिड हुने गर्छ । पर्यटक बढेपछि पार्कको आम्दानी पनि बढेको छ । अहिले दैनिक साढे दुई लाख रुपैयाँसम्म आम्दानी भइरहेको इन्चार्ज कुँवरले जानकारी दिए । स्थानीयका अनुसार राजा महेन्द्रले स्थापना गर्न लगाएको पार्कमा पहिले तत्कालीन राजपरिवारका सदस्य पनि आउने गरेका थिए ।

यहाँको अर्को प्रमुख पर्यटक गन्तव्य चिसापानीमा पनि पर्यटकको उस्तै भिड हुन्छ । वरिपरि हरिया डाँडाको बिचमा बग्ने कर्णाली नदी र कर्णालीमाथि एउटै खम्बामा अडिएको आकर्षक पुलले चिसापानी पुग्ने जोकोहीलाई आकर्षित गर्छ । पुलमा फोटो खिच्न र रमाइलो गर्न दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् । पर्यटकले कर्णाली नदीमा डुंगा र स्टिमर चढेर आनन्द लिने सुविधा पनि छ ।

कर्णाली पुल हिजोआज दिनभरि नै पर्यटकले खचाखच हुने गरेको छ । पर्यटकको संख्या बढेपछि त्यहाँको व्यापार–व्यवसाय पनि बढेको छ । खासगरी, होटेलहरूको कारोबार बढेको स्थानीय व्यवसायी बताउँछन् । चिसापानीस्थित सिद्धार्थ होटेलका सहायक म्यानेजर मनोज चन्दले पर्यटकको संख्या बढेपछि होटेलहरूको कारोबार पनि बढेको बताए । ‘पुल दिनभरि मान्छेले भरिएको हुन्छ, धनगढी र नेपालगन्जसँग जोडिएका भारतीय क्षेत्रबाट समेत पर्यटक आउँछन्,’ उनले भने, ‘होटेलमा कोठाहरूको बुकिङ पहिलेभन्दा बढेको छ । दिउँसो खाना, नास्ता खान आउनेको संख्या अझ बढी छ ।’ राजमार्गमै पर्ने भएकाले चिसापानी पुग्न सहज छ ।

कैलालीको अर्को प्रमुख पर्यटकीय गन्तव्य विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्र पनि हो । घोडाघोडी, गोदावरी नगरपालिकाको गोदावरी, खानीडाँडामा पनि पर्यटकको चहलपहल बढेको छ । धनगढीबाट करिब २० किलोमिटरको दूरीमा रहेको प्रसिद्ध धार्मिक क्षेत्र गोदावरीमा पनि दैनिक सयौँ पर्यटक पुग्ने गर्छन् । त्यहाँ अहिले निजी क्षेत्रबाट जिपलाइन पनि सञ्चालनमा छ । ‘घुमफिर गर्न आउनेको संख्या बढेपछि घोडाघोडी वरिपरिका होटेल तथा पसलको व्यापार फस्टाएको छ,’ घोडाघोडी ताल क्षेत्र प्रवेशको टिकट व्यवस्थापनको गर्दै आएको घोडाघोडी जनजागरण मञ्चका दीपक शाहले भने, ‘ठेलामा नास्ता बेचेर गुजारा गर्नेहरूलाई पनि व्यापार बढेर सहज भएको छ ।’ घोडाघोडीमा अहिले बिदाको दिन दुई हजारसम्म र अरुबेला दैनिक छ÷सात सय पर्यटक आउने गरेको उनले बताए ।

घोडाघोडी तालमा १० रुपैयाँ र टीकापुर पार्कमा ३० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । पर्यटकीय चहलपहल बढेपछि आर्थिक कारोबार बढेको र यसले स्थानीयको आयआर्जनमा पनि सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।