मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Thursday, 26 December, 2024
एजेन्सी मस्को
२o८१ कार्तिक २३ शुक्रबार ११:४८:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

बढ्दो घनिष्टताबिच रुसले अन्तरिक्ष पुर्‍यायो इरानी भूउपग्रह

Read Time : < 1 मिनेट
एजेन्सी, मस्को
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार ११:४८:oo

इरानका दुई भू–उपग्रहसहित दर्जनौँ भूउपग्रह बोकेको रुसी रकेट अन्तरिक्ष प्रक्षेपण भएको रुसको रोस्कोसमोस अन्तरिक्ष एजेन्सीले बतायो । मस्को र तेहरानबिच बढ्दो घनिष्टतालाई प्रतिबिम्बित गर्ने यस कदममा सोयुज–२.१ नामक अन्तरिक्षयान निर्धारित समयमा सुदूरपूर्वी रुसको भोस्टोच्नी कोस्मोड्रोमबाट प्रक्षेपण भएको थियो । 

प्रक्षेपणको नौ मिनेटपछि मंगलबार नै रकेटले आफूले बोकेको भूउपग्रहरूलाई तोकिएको कक्षमा राखेको पनि रोस्कोसमोसले जनाएको छ । रोस्कोसमोसका अनुसार दुई रुसी र इरानका दुईसहित ५३ स–साना भूउपग्रहलाई सफलतापूर्वक कक्षमा राखिएको थियो । ५३ वटा साना भूउपग्रहमध्येका दुई इरानी उपग्रहमा नाम कोसर (उच्च रिजोलुसनको तस्बिर खिच्ने उपग्रह) र होदहोद (सञ्चार उपग्रह) रहेको छ । 

यी उपग्रह देशको निजी क्षेत्रले बनाएर प्रक्षेपण गरिएको पहिलो चरणका उपग्रह हुन् । यसलाई ओमिदफाजा कम्पनीले निर्माण गरेको इरानी सरकार समाचार एजेन्सी आइआरएनएले बतायो । कम्पनीले सन् २०१९ मा उपग्रह डिजाइन सुरु गरेको थियो । 

रुसी रकेटले यसअघि सन् २०२२ मा पनि खयाम नामक इरानको पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण गरेको थियो । त्यसलाई तेहरानको अनुरोधमा रुस आफैँले निर्माण गरिदिएको थियो । रुसले यही वर्ष फेब्रुअरीमा पनि पार्स–१ नामक अर्को इरानी उपग्रहलाई अन्तरिक्ष कक्षमा राखेको थियो । पार्स–१ इरानको भूसतहको स्क्यान गर्ने अनुसन्धान उपग्रह रहेको इरानी सरकारी सञ्चारमाध्यमले त्यसवेला रिपोर्ट गरेका थिए । 

रुस र इरानबिच विभिन्न क्षेत्रमा सम्बन्ध विस्तार भइरहँदा अन्तरिक्षमा समेत त्यसको असर देखिएको छ । यसअघि तेहरानले युक्रेनी लक्ष्यमा आक्रमण गर्न मस्कोलाई ड्रोन उपलब्ध गराएको युक्रेन र पश्चिमले आरोप लगाउँदै आएका छन् ।