पर्यटकीय सिजन सुरु भइसकेकाले विश्वभर बढ्ने यात्रुको संख्यालाई सेवा दिने गरी उडान तालिका थप्न यतिवेला सबै देशका एयरलाइन्स व्यस्त छन् । तर, एक महिनामा फर्किने गरी सामान्य मर्मत (सि–चेक)का लागि गत १२ भदौमा इटाली पठाइएको नेपाल वायुसेवा निगमको जहाज भने अहिलेसम्म उतै अलपत्र छ ।
अन्तर्राष्ट्रिय उडानलक्षित २७४ सिट क्षमताको वाइडबडी जहाज मर्मतका नाममा ७१ दिनदेखि इटालीमै अलपत्र हुँदा पनि झिकाउन निगम व्यवस्थापनले पहल नगरेको स्रोतको भनाइ छ । इटालियन कम्पनी एटिटेकसँग भएको सम्झौताबमोजिम सि–चेक सकेर जहाज ११ असोजमै आइपुग्नुपर्ने हो ।
रमेश पौडेल प्रवक्ता, वायुसेवा निगम
एक महिनामा सि–चेक गरेर फर्काउने गरी जहाज इटाली पठाएको हो, तर अहिलेसम्म फर्किएको छैन । कहिलेसम्म आइपुग्छ भन्ने यकिन पनि भएन । इटालियन कम्पनीले जहाज मर्मत गर्दै छौँ, काम हुँदै छ, सकेसम्म चाँडै मर्मत सकेर दिन्छौँ भनेको छ ।
निगम प्रवक्ता रमेश पौडेल मर्मत सकेर जहाज कहिले आइपुग्छ भन्ने अझै यकिन भइनसकेको बताउँछन् । ‘एक महिनामा सि–चेक गरेर फर्काउने गरी जहाज इटाली पठाइएको हो, तर अहिलेसम्म फर्किएको छैन,’ उनले भने, ‘इटालियन कम्पनीले जहाज मर्मत गर्दै छौँ, काम हुँदै छ, सकेसम्म चाँडै मर्मत सकेर दिन्छौँ भनेको छ ।’
जहाज इटाली उडेको भोलिपल्टै १३ भदौमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा एक महिनाभित्र जहाज मर्मत भएर आउने जानकारी गराएका थिए । अध्यक्ष अधिकारीले मर्मतका लागि उडेको जहाजका लागि सम्भावित पार्टपुर्जाहरू तयार गरेर राखिएकाले एक महिनाभित्रै आइपुग्ने र दसैँअघिबाटै अन्तर्राष्ट्रिय उडान थाल्ने दाबीसमेत गरेका थिए । त्यस बैठकमा उनले भनेका थिए, ‘हिजो राति (१२ भदौमा) दुबई हुँदै इटाली पठाएको जहाज समयमै मर्मत हुनेछ । किनभने यो जहाज मर्मतका लागि आवश्यक पार्टस्हरू पहिले नै अर्डर गरेर तयारी अवस्थामा राखिएको छ । हामी जहाज छिटोभन्दा छिटो मर्मत गरेर अन्तर्राष्ट्रिय उडानतर्फ राम्रो गर्ने प्रयासमा छौँ ।’
अध्यक्ष अधिकारीको दाबीविपरीत जहाज अहिलेसम्म इटालीमै अलपत्र छ भने संसद्को पर्यटन समितिले पनि त्यसयता बैठक राखेर ताकेता गरेको छैन । मर्मतसम्भारमा सर्तविपरीत ३९ दिन विलम्ब भइसक्दा पनि निगम व्यवस्थापनले एटिटेकलाई तोकिएभन्दा धेरै समय होल्ड गरेकाले जरिवाना तिराउनेलगायतका कुनै पनि चेतावनीयुक्त सन्देशसमेत दिन सकेको छैन । बरु, वेला–वेला मर्मतको अवस्थाबारे बुझ्ने नाममा कर्मचारीहरूलाई दुबई र इटाली घुमफिरमा पठाइरहेको छ ।
यसअघि सि–चेककै लागि अर्को वाइडबडी पनि इटाली पठाइएकोमा ८२ दिनपछि २५ भदौमा मात्रै आइपुगेको थियो । सोही नियति पुनः अर्को जहाजमा दोहोरिएको हो ।
यसअघि पठाइएको वाइडबडी फर्किन पनि लागेको थियो ८२ दिन : त्यसबारे छानबिन समितिले भनेको थियो– इटालियन कम्पनीलाई मर्मतको जिम्मेवारी दिनु नै त्रुटिपूर्ण
नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा वायुसेवा निगमको कामकारबाहीका सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो । सो समितिले बुझाएको प्रतिवेदनमा निगम नेतृत्वले वाइडबडीको सि–चेकका लागि गरिएको एमआरओ छनोट प्रक्रियामाथि नै प्रश्न उठाएको छ ।
असारमा ९ एन–एएलवाई कलसाइन भएको अर्को वाइडबडी जहाज मर्मतका लागि पठाएकोमा ८२ दिनपछि मात्रै आइपुगेको थियो । जहाज मर्मतमा भएको ढिलाइबारे सो समितिले गरेको अध्ययनपछि प्रतिवेदनमा भनिएको छ, ‘९ एन–एएलवाई मर्मतसम्भार संस्था (इटालियन कम्पनी एटिटेक)मा लैजानुअघि निगमको आर्थिक विनियमावली, २०६५ तथा सार्वजनिक खरिद ऐन नियमका प्रावधानहरू पूर्ण रूपमा पालना भएको देखिएन ।’ त्यस्तै, सोही प्रतिवेदनकै सिफारिस तथा सुझावहरू खण्डको ‘ख’ बुँदामा भनिएको छ, ‘इटालीको एटिटेकसँग गरिएको ठेक्का प्रक्रिया त्रुटिपूर्ण देखिएको हुँदा त्रुटि सच्याउन विद्यमान प्रावधानबमोजिमको प्रक्रिया अवलम्बन गर्न मनासिव देखिएको छ ।’ तर, त्रुटि सच्याउन निगम नेतृत्व तयार भएको छैन भने मन्त्रालयले पनि कुनै हस्तक्षेप गर्न सकेको छैन ।
आजदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द
क्षमता विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर ट्याक्सी वे, एप्रोनलगायत विस्तारका काम गर्न लागेको हो ।
करिब पाँच महिनासम्म त्रिभुवन विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म दैनिक १४ घण्टा मात्र सञ्चालन हुनेछ । अहिले विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म २१ घण्टा सञ्चालन हुँदै आएको छ । दैनिक सात घण्टा उडान आवर घटेपछि करिब २९ प्रतिशत अन्तर्राष्ट्रिय र ३५ प्रतिशत आन्तरिक उडान कटौती हुने क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
अन्तर्राष्ट्रियतर्फ दैनिक चार वा तीनवटा उडान गर्ने वायुसेवा कम्पनीको ५० प्रतिशत उडान कटौती भएका छन् । सातामा औसत ४१८ अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा मर्मत अवधिभर १२३ उडान कटौती भई २९५ उडान हुने क्यानको भनाइ छ ।
मर्मत अवधिभर विशेष सहुलियत दिएर भैरहवा र पोखरामा उडान सार्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आग्रह गरे पनि अहिलेसम्म थाई एयर एसिया, जजिरा र फ्लाई दुबईबाहेक अन्यले स्वीकार गरेका छैनन् । उडान कटौती हुने भएपछि अन्य विमान कम्पनीसँगै नेपाल एयरलाइन्सले पनि उडान तालिका फेरबदल गरेको छ ।
अहिलेसम्म काठमाडौं–नारिता उडान राति ११ः५० बजे हुने गरेकोमा अब ९:१५ बजे हुने भएको छ । नारिताबाट बिहान ११:२५ (स्थानीय समय)मा उड्ने जहाज अब ९:२५ मा उड्ने तालिका छ । काठमाडौं–दोहाको उडान राति ११ बजे हुँदै आएकोमा ९:३० बजे हुने गरी तालिका परिमार्जन गरिएको निगमले जनाएको छ । दोहाबाट काठमाडौंका लागि बिहान ३:२५ मा (स्थानीय समय) उड्ने जहाजले २ः२५ बजे नै उडान गर्ने भएको छ । त्यस्तै, काठमाडौं–दुबई उडान राति ११:१५ बजे हुने गरेकोमा अब ९:३५ मा हुनेछ । दुबईबाट काठमाडौंका लागि ४:१० (स्थानीय समय)मा उडान गर्नेछ ।