खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीका चार ठाउँबाट सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु गरे पनि यहाँका किसान धान बिक्रीका लागि खाद्यमा पुगेका छैनन् । किसान नआएपछि खाद्यले अपेक्षाअनुसार धान खरिद गर्न सकेको छैन । गत १० कात्तिकबाट खाद्यले धनगढीको मोहनपुर, टीकापुर तथा टीकापुरकै शक्तिबाट खरिद केन्द्र सञ्चालन गरेर धान खरिद सुरु गरेको थियो। दुई दिनअघि भजनीबाट समेत धान खरिद सुरु गरिएको छ । चारवटा खरिद केन्द्रबाट हालसम्म करिब साढे तीन हजार क्विन्टल धान मात्र खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।
कार्यालयका अनुसार सबैभन्दा बढी शक्तिबाट धान खरिद गरिएको छ । खाद्यले यस वर्ष जिल्लाभरिबाट ५५ हजार क्विन्टल मोटो धान खरिद गर्ने लक्ष्य राखेको छ । किसान अहिले हिउँदे बाली लगाउन व्यस्त भएकाले पनि अपेक्षाअनुसार धान नआएको हुन सक्ने खाद्यको प्रादेशिक कार्यालयका निमित्त प्रमुख इन्जिला बस्नेतले बताइन् । झन्झटिलो खरिद प्रक्रिया र सबै ठाउँका लागि खरिद केन्द्र पायक नभएकाले पनि खाद्यले लक्ष्यअनुसार धान नपाएको हो । निमित्त प्रमुख बस्नेतले भने यस वर्ष खरिद प्रक्रिया विगतको भन्दा सजिलो बनाइएको दाबी गरेकी छिन् । धान खरिदको भुक्तानी बैंकबाट गरिनुका साथै लोड–अनलोडमा लाग्ने खर्च पनि कार्यालयले नै व्यहोरिरहेको उनले बताइन् । विगतमा यस्तो खर्च किसान र खाद्यले आधाआधा व्यहोर्थे ।
खाद्यमा धान बिक्रीका लागि किसानले आफ्नो व्यक्तिगत परिचय खुल्ने कागजात, आफ्नो वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको छ । खाद्यले किसानलाई धानको रकम चेकमार्फत भुक्तानी दिने गरेको छ। विगत वर्षको तुलनामा खाद्यले यस वर्ष धान खरिद चाँडो सुरु गरेको हो। खाद्यले मोटो धान प्रतिक्विन्टल तीन हजार ४१०.५१ रुपैयाँका दरले धान खरिद गरिरहेको छ ।
खाद्यले खरिद सुरु गर्नुअघि गल्ला व्यापारीले समर्थन मूल्यभन्दा कममा धान खरिद गरिरहेका थिए । कतिपय ठाउँमा अहिले गल्ला व्यापारीले धानको मूल्य बढाएर खरिद गर्न थालेका छन् । ‘खाद्यले सुकेको र निश्चित मापदण्डको धान खरिद गर्छ, किसान धान सुकाएर बिक्रीका लागि आउछन् भन्ने अपेक्षा छ,’ निमित्त प्रमुख बस्नेतले भनिन्, ‘किसानले न्यूनतम समर्थन मूल्य पाउनुपर्छ भन्ने हो, हामीले खरिद सुरु गरेपछि न्यूनतम समर्थन मूल्य लागू हुनु राम्रो हो ।’
किसानको सहजताका लागि बिदाका दिन पनि धान खरिद गरिरहेको कार्यालयले जनाएको छ। जोशीपुर गाउँपालिकामा पनि खरिद केन्द्र राखेर धान खरिद गर्ने तयारी रहेको बस्नेतले जानकारी दिइन्। धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको कैलालीमा प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत यहाँका भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकामा धान सुपरजोन कार्यक्रम लागू छ। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा करिब ७० हजार हेक्टर क्षेत्रमा धान खेती हुने गर्छ ।