मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Thursday, 26 December, 2024
केनान मलिक
२o८१ कार्तिक २० मंगलबार o९:o७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लोकप्रियतावादप्रतिको मौजुदा धारणामाथि प्रश्न

Read Time : > 2 मिनेट
केनान मलिक
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार o९:o७:oo

आजपर्यन्त ‘लोकप्रियतावाद’ले संकीर्ण विचारधारा र डरलाग्दो मनोवृत्तिलाई इंगित गर्छ भन्ने धारणा आम–मानिसमाझ रहेको छ

मेरिकी राजनीति प्रायः क्रोधित मानिसका लागि खेल मैदान भएको छ ।’ यो पंक्ति सन् १९६४ ताका अमेरिकी राष्ट्रपतीय निर्वाचनका वेला प्रकाशित रिचर्ड होफस्ट्याडटरको प्रभावशाली निबन्ध ‘द प्यारेनोइड स्टाइल इन अमेरिकन पोलिटिक्स’को सुरुवाती वाक्य हो । सो निबन्धले अमेरिकी राजनीतिमा रहेको पागलपनको प्रवृत्तिलाई झल्काउँछ र यही प्रवृत्ति आजको अमेरिकी राजनीतिक परिदृश्यसँग पनि मिल्छ । डोनाल्ड ट्रम्पले आक्रोश र असन्तुष्टिलाई आन्दोलनमा परिणत गरेपछि होफस्ट्याडटरको कामले पुनः बहसमा ठाउँ पाएको छ । पश्चिमा मिडियाका विचार पृष्ठमा ‘अमेरिकी राजनीतिमा पागलपन प्रवृत्ति फिर्ती भएको छ’ लगायत शीर्षकका लेख प्रकाशित भइरहेका छन् । यी लेखमा ट्रम्पको दृष्टिकोण र होफस्ट्याडटरका सिद्धान्तबिच समानता चित्रण गरिएको देख्न सकिन्छ ।

हालका समयमा पागलपन प्रवृत्ति र लोकप्रियतावादको होफस्ट्याडटरको आलोचनाको प्रासंगिकता पुनर्जागृत भएको छ । उनका प्रभावका बाबजुद होफस्ट्याडटर प्रायः गलत थिए र उनको गलत दृष्टिकोणले निरन्तर बहसलाई आकार दिइरहेको छ । एक अग्रणी इतिहासकारका रूपमा उनले सन् १९३० मा माक्र्सवाद छाडेर शीतयुद्धकालीन उदारवादलाई अँगालेका थिए । उनका अनुसार अमेरिकी इतिहास मूलतः वर्गसंघर्ष नभई सामाजिक सहमतिबाट चलेको दाबी गरेका थिए । उनको सन् १९६४ को निबन्धले बढ्दो दक्षिणपन्थी प्रतिक्रियावादी राजनीति, कम्युनिस्टविरोधी, जो म्याकार्थीको सुधारिएको छविबारे उल्लेख गरिएको थियो । सो निबन्धमा उग्र पुरातनपन्थी जोन बर्च सोसाइटी समूहको उदय निम्त्यायो र ब्यारी गोल्डवाटर सन् १९६४ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार हुने अवस्थाबारे पनि उल्लेख गरिएको थियो ।

सन् १९६० को दशकमा ब्यारी गोल्डवाटरप्रतिको प्रतिक्रिया दशकौँपछि ट्रम्पविरुद्धका आलोचनामा प्रतिध्वनित भएको थियो । कतिपयले गोल्डवाटरको उदयलाई फासीवादको संकेत भन्दै भयसमेत व्यक्त गरेका थिए । फ्याक्ट पत्रिकाले एक विशेष संस्करणमा एक हजार एक सय मनोचिकित्सकले गोल्डवाटरलाई राष्ट्रपतिका लागि ‘मनोवैज्ञानिक रूपमा अयोग्य’ ठाने भन्दै समाचार प्रकाशित गरेको थियो । होफस्ट्याडटरले गोल्डवाटरको सफलताले अमेरिकी लोकतन्त्रलाई खतरामा पार्न सक्ने चेतावनी दिएका थिए । गोल्डवाटरले लिन्डन जोनसनसँग पराजित भए पनि होफस्ट्याडटरले नव दक्षिणपन्थलाई ‘पागलपन प्रवृत्ति’का रूपमा देखेका थिए र षड्यन्त्रलाई इतिहासमा चालक शक्तिका रूपमा हेरेका थिए । उनले भन्ने गरेको ‘प्यारानोइड स्पोक्सपर्सन’ (पागलपनका प्रवक्ता)ले प्रायः प्रलयको भाषा प्रयोग गर्छ र असल एवं खराबबिचको आधारभूत लडाइँमा आफूलाई सभ्यताको रक्षकको रूपमा चिनाउँछ ।

होफस्ट्याडटरले ‘पागलपन’लाई चिकित्सकीय शब्दका रूपमा प्रयोग गरेका थिएनन् । उनले इतिहासभर दोहारिइरहने मानसिकताको वर्णन गरेका थिए, जसले विश्वलाई षड्यन्त्रपूर्ण सर्तमा दर्साउँछ । उनका अनुसार यसरी सोच्ने तरिका केही सीमित व्यक्तिमा निष्क्रिय हुने गर्छ, जसलाई केही सामाजिक वा राजनीतिक आन्दोलनले सक्रिय बनाउँछ । यो सोचाइले विपक्षी विचारलाई तर्कहीनको संज्ञा दिन सजिलो बनाइदिन्छ । उनले मध्ययुगीन सहस्राब्दी पन्थहरूलाई युद्धपछिको अमेरिकी अधिकारसँग पनि तुलना गरेका थिए । यद्यपि इतिहासकार एन्ड्र्यु म्याकेन्जी–म्याकहर्गका अनुसार यो दृष्टिकोणमा ऐतिहासिक गम्भीर्यको कमी छ । निश्चय नै दक्षिणपन्थी लोकप्रियतावादले आप्रवासन वा अभिजात वर्ग वा अन्य मुद्दामा षड्यन्त्रको सिद्धान्तलाई भरपूर प्रयोग गर्छन् । तथापि, ‘फासीवाद’को आगमन र ‘लोकतन्त्रको अन्त्य’ भन्दै उदारवादीले पनि हौवा पिट्छन्, अर्थात् तिनले पनि लोकप्रियतावादविरुद्धको लडाइँलाई एकदमै सहज ढंगले प्रस्तुत गर्छन् ।

सन् १९५० र ६० को दशकमा होफस्ट्याडटरको दोस्रो प्रमुख विषयवस्तु उनको लोकप्रियतावादको आलोचना थियो । कट्टरपन्थबाट एक मध्यपन्थी अडानमा सर्दै उनले जनताका आन्दोलनप्रति अविश्वास गर्दै लोकतन्त्रप्रति सन्देहास्पद दृष्टिकोण राखेका थिए । सन् १९६३ मा प्रकाशित ‘एन्टी–इन्टेलेक्चुअलिज्म इन अमेरिकन लाइफ’मा उनले बौद्धिकताको प्रायः लोकतन्त्रसँग द्वन्द्व हुन्छ, किनभने यसले समतावादलाई चुनौती दिन्छ भन्ने तर्क गरेका थिए । यसले लोकप्रियतावादलाई हेर्ने नयाँ राजनीतिक दृष्टिकोणलाई आकार दिएको थियो । होफस्ट्याडटरअघि धेरै इतिहासकारले सन् १८९० को दशकको अमेरिकाका लोकप्रियतावादी आन्दोलनलाई सकारात्मक रूपमा हेर्ने गर्थे । यी लोकप्रियतावादीले सुधार, प्रगतिशील कर र विभिन्न उपयोगितामा सार्वजनिक स्वामित्वको माग गर्न विविध जातका किसान र मजदुरलाई एकताबद्ध गर्ने लक्ष्य राख्दै असमानताको विरोध गरेका थिए ।

सन् १९५५ मा प्रकाशित द एज अफ रिफर्ममा होफस्ट्याडटरले सन् १८९० को लोकप्रियतावादप्रतिको सकारात्मक दृष्टिकोणलाई चुनौती दिए, जहाँ उनले यसलाई जातिवादी एवं षड्यन्त्रकारी आन्दोलनका रूपमा वर्णन गरेका थिए । उसो त यी आन्दोलनमा कट्टरता मौजुद थियो, तथापि लोकप्रियातावादीको लोकतान्त्रिक लक्ष्य महत्वपूर्ण थिए । सी. भान वुडवर्ड, लरेन्स गुडविन र वाल्टर न्युजेन्टजस्ता इतिहासकारले होफस्ट्याडटरको चित्रणलाई खण्डन गरेका थिए । यद्यपि होफस्ट्याडटरको दृष्टिकोण नै प्रचलनमा रह्यो । वाल्टर न्युजेन्टको सन् १९६३ को द टोलरेन्ट पपुलिस्ट पुस्तकको सन् २०१३ को संस्करणमा उनले ‘लोकप्रियतावाद’ले संकीर्ण विचारधारा र डरलाग्दो मनोवृत्तिलाई इंगित गर्छ भन्ने पारियो र आजपर्यन्त यही धारणा आम–मानिसमाझ रहेको उल्लेख गरेका थिए ।

इतिहासकार एरिक फोनरका अनुसार एक समय ‘जनता’लाई अमेरिकी लोकतन्त्रको मूलका रूपमा मान्ने होफस्ट्याडटरले पछि राजनीतिलाई डर, अतीतप्रेम र कट्टरताका रूपमा हेरेका थिए । यो परिवर्तनले होफस्ट्याडटरको निराशा मात्र नभई अमेरिका आफैँले आशा र विश्वास गुमाएको पनि प्रतिबिम्बित गर्छ । आज सम्पन्न हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जस्तोसुकै नतिजा आओस्, यो प्रवृत्ति भने अपरिवर्तित रहनेछ ।

(मलिक द गार्डियनका स्तम्भकार हुन्) द गार्डियनबाट