डिसेम्बर १९१४ मा अमेरिकी जलसेनाले हैटीको राजधानी पोर्ट–औ–प्रिन्समा रहेको ब्यांक नेसनल डी ला रिपब्लिक डी’हैटी (बिएनआरएच) बाट पाँच लाख डलरबराबरको हैटी सरकारको सुन कब्जा गरेका थियो । आजका मितिमा एक करोड ५० लाख डलर पर्ने सो सुनलाई न्युयोर्कस्थित हलगार्टेन एन्ड को. बैंकको भल्टमा जम्मा गरिएको थियो । त्यसवेला बिएनआरएच हैटीको केन्द्रीय बैंक थियो । र, यो एक वैदेशिक निजी निगम पनि थियो । वास्तवमा यो बैंक सन् १८८० मा फ्रान्सेली बैंकको अनुदानबाट बनेको हो र अमेरिकाको दबाबका कारण यसमा अमेरिकी लगानीकर्ता पनि थपिएका थिए । सन् १९२० सम्ममा बिएनआरएचको स्वामित्व पूर्ण रूपमा अमेरिकन नेसनल सिटी बैंकले लियो । बिएनआरएच हैटीको केन्द्रीय बैंक भए पनि प्रत्येक कारोबारको शुल्क वा नाफा कि पेरिस पुग्यो कि न्युयोर्क ।
सन् १९१० को दशकताका हैटीमा भएको राजनीतिक तनावका कारण वाल स्ट्रिटले आफ्नो लगानी जोगाउन माग गरेको थियो । वासिंटनले यो माग पूरा गर्न जल सेनालाई हैटी पठाएको थियो । झन्डै इतिहासको विस्मृतिमा गइसकेको अमेरिकाले गरेको यो बैंक लुटले हैटीको इतिहासको सानो तर महत्वपूर्ण पाटो झल्काउँछ । प्रधानमन्त्री एरियल हेनरीको बाध्यात्मक राजीनामा, आमजीवनमा भएको अवरोध र हैटीका सडकमा विभिन्न गिरोहबीच भएको भिडन्तले अन्तर्राष्ट्रिय समाचारमा ज्यादै ठाउँ पाएका छन् । हैटीमा जे भइरहेको छ, त्यसलाई बुझ्न आजको हैटी मात्र नभई यो अवस्थामा हैटी कसरी पुग्यो भनेर बुझ्न आवश्यक छ ।
हैटी अहिले गैरसरकारी संस्था, राष्ट्रसंघ, विकास बैंक र निजी कम्पनीजस्ता दाताले पालिएको राज्य ‘एड स्टेट’ बनेको छ
हैटीको इतिहासदेखि नै त्यहाँका शासकवर्गले आमजनतालाई अभूतपूर्व रूपमा अपमान गर्दै आएका छन् । हैटी यस्तो मुलुक हो, जहाँ विदेशी शक्तिले आफ्नो स्वार्थसिद्ध गर्न दमन, रक्तपात र सोझो डकैती गर्न हिच्किचाएनन् । हैटी अहिले अमेरिकी महादेशकै सबैभन्दा गरिब राष्ट्र हो र विश्वकै असमान राष्ट्रमध्ये एक पनि हो । हैटीको त्रासदी जनतामाथि बर्सिरहेको कहर मात्रै नभई सो मुलुक दुई सय वर्षअगाडि अहिले जसरी भ्रष्टाचार र कानुनविहीनताको प्रतीकका रूपमा चिनिन्थेन । त्यसवेला यो मुलुक मानवमुक्तिको उदाहरणका रूपमा चिनिन्थ्यो ।
हैटीको जन्म सन् १८०४ मा १३ वर्षको क्रान्तिपछि भएको हो, जहाँ यहाँका जनताले सेन्ट डोमिंगोको फ्रान्सेली उपनिवेशको दासत्वको बन्धन चुँडालेका थिए । त्यसपछि जनताले फ्रान्सेली, बेलायती र स्पेनी सेनालाई हराएर नयाँ राष्ट्र निर्माण गरेका थिए । हैटीका जनताको अभूतपूर्व रूपमा सफल भएको क्रान्ति विश्वभर दासत्व र उपनिवेशवादविरुद्ध संघर्ष गरिरहेका मानिसका लागि प्रेरणा बनेको थियो ।
स्वतन्त्र हैटीमा अन्यत्रझैँ एक नयाँ शासक सम्भ्रान्त वर्गको जन्म भयो । यो वर्गको उद्देश्य सत्तामा रहिरहने, भिन्न मतलाई दमन गर्ने र श्रम शोषण गर्ने रह्यो । तर, कमजोर एवं विभाजित शासकवर्गका कारण निम्तिरहने कु र आक्रमणले हैटीको राजनीतिक जीवनलाई तहसनहस बनाइदियो । लोकतान्त्रिक आन्दोलनको दमन यो मुलुकको इतिहासलाई जोड्ने एक निरन्तर कडी बनिरह्यो । अर्कातिर युरोप र अमेरिकाका सम्भ्रान्त शासक हैटीको क्रान्तिले अरूलाई पनि प्रेरित गर्ने हो कि भनेर मुलुकलाई एक्ल्याइरहेका र दशकौँसम्म अमेरिका र युरोपका मुलुकले हैटीलाई मान्यतासमेत दिएनन् ।
सन् १८२५ मा फ्रान्सले हैटीलाई स्वतन्त्र मुलुकको मान्यता दिनका लागि आफ्नो उपनिवेश हुँदाको बखतको क्षतिपूर्तिका रूपमा १५ करोड फ्रान्क असुलेको थियो (यसको हालको अनुमानित मूल्य चार अर्बदेखि २१ अर्ब डलरबराबर हुन आउँछ) । यो मागसँगै त्यसवेला फ्रान्सले १४ युद्धपोत पठाएको थियो ।
फ्रान्सले आफूले दास बनाएका मानिस र तिनका सन्तानलाई दासताबाट मुक्त गरेबापत रकम असुली गरेको थियो । पछि असुली रकमलाई नौ करोड फ्रान्कमा झारिएको थियो र यो रकम पनि हैटीका लागि तिर्न सम्भव थिएन । नतिजा हैटीलाई फ्रान्सका बैंकबाट चर्को ब्याजदरमा ऋण लिन बाध्य बनाइयो र हैटीको आर्थिक बोझ बढ्न पुग्यो । सन् १९१४ सम्ममा हैटीको बजेटको ८० प्रतिशत रकम ऋण तिर्नमै गयो । विद्यालय, कलकारखाना, कृषिमा लगानी हुनुपर्ने विश्वकै गरिब मुलुकको रकम विश्वकै धनी राष्ट्रको ढुकुटीमा जम्मा हुँदै गयो ।
पश्चिमा मुलुकले हैटीलाई तन्नम मात्रै बनाएनन्, तिनले निरन्तर रूपमा हस्तक्षेप गर्दै तथाकथित ‘स्थायित्व’वाला नेतालाई पोसे र ती जोखिमपूर्ण लाग्ने भनिएका लोकतान्त्रिक मागलाई दमन गरे । फ्रान्स्वा दुभालियर ‘पापा डक’ सन् १९५७ मा सत्तामा आएसँगै उनी खुंखार तानाशाह बनेका थिए र उनले हिंसाको बलमा सत्ता टिकाए । अमेरिकी नेतालाई दुभालियरको नृशंसताबारे थाहा थियो, तर तिनले दुभालियर साम्यवाद विशेषतः क्युबाका फिडेल क्यास्ट्रोविरुद्धका अस्त्रका रूपमा पाए । त्यसकारण अमेरिकाले दुभालियरलाई सहयोग गर्यो । त्यसैगरी अन्य कठपुतली नेताले पनि हैटीमा शासन गर्दै आए । अहिले राज्यका रूपमा हैटीको उपस्थिति शून्यप्रायः नै छ ।
हैटी अहिले गैरसरकारी संस्था, राष्ट्र संघ, विकास बैंक र निजी कम्पनीजस्ता दाताले पालिएको राज्य ‘एड स्टेट’ बनेको छ । यी दाता सन् २०१० को भूकम्पपछि ‘समानान्तर राज्य’ बनेका छन् । प्रधानमन्त्री एरियल हेनरी चुनाव जितेर नभई तथाकथित ‘कोर ग्रुप’ (विदेशी राजदूत समूह) को नियुक्तिबाट प्रधानमन्त्री बनेका थिए । नतिजा अराजकता फैलिएको छ, अर्थात् सडकमा हिंसा गर्ने गिरोहदेखि भोकमरीसम्म देख्न सकिन्छ । दुई सय वर्षअगाडि स्वतन्त्रता हासिल गरे पनि हैटीमा जनताले शासन गर्न पाएनन् र यो सिलसिला रोकिएन भने हैटीमा कुनै परिवर्तन हुनेछैन ।
(मलिक द गार्डियनका स्तम्भकार हुन्) द गार्डियनबाट