नेपालीका घरहरूमा तिहारको हर्ष तथा उल्लास छाउँदै गर्दा मसँगै भूकम्पपीडित जनताका घरमा वेदना र चीत्कारले चिच्याइरहेको छ । मन र मस्तिष्कबाट विश्वास, आशा र भरोसाले गिज्याइरहेको छ । आमा, बुबा म छु नि केही समय धैर्य गर्नुहोस् न भन्ने सहारा ढलेको छ । आमनेपालीको जस्तै मेरो पनि सामान्य जीवन चलिरहेको थियोे, तर हो त्यही कहालीलाग्दो दिन जुन दिन म नियमितजस्तो दिनभरि गरेको कामको सम्झना गर्दै सुतेको केहीबेरमै घर बेस्सरी हल्लियो, परम्परागत शैलीमा निर्मित घरको धुलोे मुखैभरि छरियो, छेउमै रहेको मोबाइल मुस्किलले भेटेँ, छोरी लिएर बाहिर जाऊ भनेर श्रीमतीलाई जोडले कराएँ..., बाहिर निस्किएर हतारहतार गाउँमा बस्नुभएकी मुमालाई फोन गरे र सोधेँ– के छ त्यता... ।
मेरो प्रश्न सकिन नपाउँदै उत्तर आयो, सब खतम भयो छोरा, घर भत्कियो, हामी बारीमा जम्मा भएका छौँ, साहिँला छोराको फोन आयो राख त भन्नुभयो, फोन होल्डमा गयो, मुमा सकुशल हुनुहुन्छ भन्ने निश्चित हुँदै थिए,नयाँ नम्बरबाट फोन आयो, भक्कानिँदै अंकल बहिनी पुरिरहेको छ, चाँडो आउनू, फोन कट्यो केहीबेरमा निश्चित भएँ त्यो आवाज एलिसा नानुको हो, बहिनी भनेको मेलिना... जस्तो अवस्थामा थिएँ त्यस्तै हतारहतार दौडिएँ । लाग्यो त्यहाँ पुग्नासाथ बचाउन सकिन्छ, बाटोभर छरपस्ट भत्किएका घरहरू, मान्छेको कोलाहल, दौडधुप, बाइक र गाडिको साइरन यी कहालीलाग्दो अवस्थालाई थिचोल्दै बल्लतल्ल पुग्यौँ ।
दौड्दै गर्दा लागेको थियो– उद्धार हुँदै होला । सशस्त्र प्रहरी बलको कार्यालय १०० मिटर पर छ । पुगेसी अचम्म लाग्यो– घरका आमा, बुबा, भाइ घाइते अवस्थामा कराउँदै, चिच्याउँदै गरेको... । अँध्यारो ठाउँ भत्किएको घरमाथि दुईजना युवा वरपर गरेर मोबाइलको सहायताले ढुंगा हटाउन प्रयास गरिरहेको यो परिस्थितिले मन अझै धेरै अताल्लिन थाल्यो । सोधेपछि थाहा भयो– इन्जिनियर पास गरेको अवसरमा आफन्तसमेत रहेको साथीहरू जम्मा गरेर खुसी साटेर सुतेका चारजना नै पुरिएछन् । स्कुलमा एक वर्ष पढाएको आफ्नै आँखाअगाडि हुर्केको मान्छे भत्किएको घरभित्र पुरिएको अवस्था साच्चै हृदयविदारक थियो। यता नानी मेलिना पुरिएको ठाउँमाथि गएर चिच्याउन थालेँ– मेलिना... मेलिना... हामी छौँ नआत्तिनु कहाँनेर छौ आवाज निकाल है भनेर सान्त्वना दिँदै थिएँ ।
पुरिएको अवस्थामा ढकढक आवाज तीनतिरबाट आयो । घरमा प्लाई काठ प्रयोग गरेकोले आवाज जोडले आयो, लाग्यो बचाउन सकिन्छ । स्थानीय युवाहरू, सुरक्षाकर्मी सबै थपिएपछि मनोबल जागेर आयो, अब बचाउन सकिन्छ भनेर । तर, उद्धार सामग्रीविना अँध्यारोमा धुलैधुलोको घरबाट उद्धार सोचेभन्दा असाध्यै कमजोर रहयो । दुई घण्टासम्म सो क्रम चलिरह्यो । पुरिएका नानीहरूकाे श्वास–प्रश्वासमा सायद समस्या आयो होला । पटक–पटक ढकढक गर्थे । हामी नजिक छौँ अब पाँच मिनेट है नानीहरू भन्दै ढाडस दिइरह्यौँ । फोनका घन्टीहरू बज्न थाले, सयौँ फोन रिसिभ गर्न सकिएन ।
कतिपय फोन उठाउन साथ मेरो मान्छे बिते... मेरो मान्छे घाइते भए तत्काल एम्बुलेन्स पठाउनुपर्याे, सडक बन्द भए.. बिरामी बोकेर ल्याएको बाटोमा रोकिएका छौँ, बाटो डोजरले क्लियर गर्नुपर्याे । यी र यस्ता कुराहरूले म झन् आत्तियाे । कता के गर्ने कसरी गर्ने भन्नेसमेत मेरो दिमागले सोच्न सकेन । म झन् शून्यशून्य हुँदै गएँ भने चारैतिरको व्यस्तताले पनि होला सम्बन्धित व्यक्तिसँग फोन संवाद कठिन भयो । यता साढे दुई घण्टापछि भित्रबाट निरन्तरको ढकढकको आवाज बन्द भयो, शरीर लर्थक्कै गल्यो, बचाउन सकिएन भन्ने लाग्यो । तर, कोहीसँग केही भनिनँ, तीन घण्टापछि चारजनामध्ये तीनजनाको मृत शरीर निकाल्यौँ र आमाबुबालाई भन्यौँ– जीवित छन् । उनीहरुका लागि पाँच मिनेट कहिले आएन।
सबैतिरका लास र घाइतेहरू अस्पताल पुर्याएको अवस्थामा अस्पताल पुग्यौँ, सयौँ मान्छेको बिचमा सन्नाटा छाइरह्यो । को बिरामी को मृत, कसका घर भत्किए भन्ने अध्याय सकिएर मृतक संख्या कति, घाइते कति ? भन्नेतिर अध्याय मोडियो । के गर्ने, कसो गर्ने भन्ने सोच्न नसकिने अवस्था सिर्जना भयो, केही समयअगाडि सकुशल भएको, भलाकुसारी गरेको व्यक्ति एकैपटक लासमा परिणत भएको देख्दा निःशब्द बन्दै गएँ । कोही केही बोल्दैनन्, रुँदै गरेको, चिच्याइरहेकोसिवाय केही छैन, केवल भगवानभरोसा भनेर भगवानको पुकार गरिरहेका थियौंँ ।
बिहानै फेसबुकका भित्ता र समाचार कभरभरि सर्वत्र जाजरकोट भूकम्पका समाचार र श्रद्धाञ्जलीले मोबाइल खोल्न नसकिने भयो । बिहानैदेखि राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित देशका उच्चपदस्थ व्यक्तिहरुको ह्वारह्वार्ती हवाई आगमन सुरु भयो । सवारीसाधनको बाक्लो चाप बढ्यो, नागरिक भने सडकछेउमा सुत्ने ठाउँ रोज्न तँछाडमछाड गरेर रात बिताउन थाले । सरकार, नागरिक समाजका संस्था, समाजसेवी तथा सेलिब्रेटीहरूले सकेसम्मको राहत भित्र्याउन थाले । यो आगमनले लाग्थ्यो– कि भूकम्पपीडित एक्लै छैनन्, साथमा राज्य छ, सँगै उभिन्छ जाजरकोटी जनताको चोटमा मल्हमपट्टी बन्छ भने भ्रममा रह्यौँ ।
तर, सरकार निरीह बन्यो । राहतमा ढिलासुस्ती, वितरणमा पक्षपात देखिन थालेपछि नागरिकको राज्यप्रतिको भरोसाले ओरालो विन्दुको कदम तय गर्न थाल्यो । जाडो यामको कठ्यांग्रिने चिसो, गर्मीको टन्टलापुर राप र वर्षायामको वर्षा खुला आकाशमुनि बिताउनुपरेको पीडा सायद आजन्म भुल्न कठिन छ । खुला आकाशमुनिका नागरिकलाई टाउको छोप्न सहज होस् भनेर अस्थायी आवास निर्माणका लागि घोषित ५० हजार राहत त घोषणा गर्याे, तर उक्त राहत पाउन बैंकबाट ऋण लिएकोभन्दा कठिन र लाभग्राहीलाई अदालतका अपराधीझैँ प्रमाण जुटाउनुपर्ने प्रावधान राखियो । राजकीय भ्रमण, विलासिता र स्वास्थ्याेपचारमा करोडौँ खर्चने शासकले राज्य समृद्धिका लागि राज्यलाई कर तिर्ने नागरिकप्रतिको राज्यको अविश्वास र बेवास्ता सायद इतिहास रच्ने सुनौलो अवसर बन्यो होला।
भूकम्पपीडितलाई राहत रकम दिन फोटा, बैंकखाता, स्वघोषणा गरेर किस्ताबन्दीमा राहत भुक्तानी, त्यो पनि एक वर्षसम्म नपाउने ? हुनत राज्यको संवेदनशीलताको गहिराइ भूकम्पको पाँच महिनापछि अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्नुले नै प्रस्ट पार्छ । एक वर्षअघिको सग्लो राज्यप्रतिको भरोसा तासको महल बनेर ढल्नु कल्पनाबाहिरको कुरा हुनुपर्थ्यो । तर, गर्ल्यामगुर्लुम्मै ढल्यो भरोसा । उद्धार–उद्धार, पानी–पानी, बचाऊ–बचाऊ भन्दै दिवंगत भएका १५७ जना, भूकम्पका कारण घरबाट त्रिपालमा आएर चिसोले कठ्यांग्रिएर स्वर्गीय भएका ४३ जना र पालमुनिको वास बस्दा बाढी–पहिरोमा परी ज्यान गुमाउने १२ जनाको मृत आत्माले साँच्चै के सोचिरहेका होलान् ? भूकम्पमा परेर घाइते भएकाहरू र चिसोले बिरामी परेका करिब ६ हजारभन्दा बढी वृद्धवृद्धा, सुत्केरी र अपांगता भएका व्यक्तिहरूको अवस्था कसले देख्छ ? राज्य फेरि जाडो सिजन सुरु होस् र समवेदना प्रकट गरौँला भन्ने तिथिमिति हेरेर बसिरहेको कुरा उसका निर्णय र शैलीले प्रस्ट पारिरहेका छन् । २०८० कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६.४ हेक्टर स्केलको भूकम्पबाट प्रभावित जाजरकोट, पश्चिम रुकुम र सल्यानका अधिकांश नागरिक रोजीरोटीका लागि खाडी मुलुक तथा छिमेकी देश भारतमा जानुपर्ने विगतदेखिको शृंखला भूकम्पले रोकेको छ । भत्केको घरअगाडि खुला पालमुनि परिवारका सदस्य छाडेर कमाइ गर्न परदेश जाने परिस्थिति बाधक बनिरहेको छ भने गाउँमा रोजगारीको अवसरको बाधक । जसले कालान्तरमा नागरिकको जीवनशैलीमा गम्भीर असर पर्ने निश्चित छ ।
पुनर्निर्माणका लागि चालू आ.व. मा विनियोजित २१ अर्ब रकम अर्थ विविधको अबन्डा कोषमा सारिएपछि पलाएको झिनो आशा पनि निराशामा बदलिएको छ। भूकम्पले भत्काएका ८५,९१९ परिवारका घरहरू पुनर्निर्माण हुने भरोसा हराउँदै गइरहेको छ। पुनर्निर्माणसँगै भत्किएका घरहरू मात्र उभिँदै थिएनन् ,चर्किएका मनहरूसमेत जोडिने थिए, गुमाएका सन्तानको स्मृति कम हुँदै जाने थियो, नागरिक क्रमशः नियमित कर्ममा फर्कन्थे । तर, राज्य आज पनि व्यक्तिगत स्वार्थमा लिप्त छ । चार विद्यालय भवन भत्किएपछि भत्किएको घरबाट च्यातिएको झोला बोकेर भत्किएको बाटो हुँदै भत्किएको विद्यालयमा उज्ज्वल भविष्यको सपना बोकेर भविष्यका कर्णधारहरू करिब खुला आकाशमुनि अस्थायी सिकाइ केन्द्र र पालमुनि पठनपाठन गरिरहेछन् । यस्तो वातावरणमा पढिरहेका विद्यार्थीले कस्तो मनोविज्ञानका साथ अध्ययन गरिरहेका छन् ?
५० बढी भत्किएका स्वास्थ्य कार्यालय, २० प्रहरी कार्यालय, २३ सरकारी कार्यालय र भत्किएका सञ्चारगृहले कसरी सेवा प्रवाह गरिरहेका होलान् भन्ने सन्देश राज्यले नसुनेको हो कि नबुझेको ? एकात्मक शासन व्यवस्था बाधक भयो । घरछेउ सरकार चाहिन्छ भनेर बलिदान गर्ने नागरिकसँगको जवाफ के हो ? वर्ष दिनसम्म अनुदान नदिनु तथा पुनर्निर्माणको कार्यविधि नबनाउनुको कारण के हो ? कि फेरि भस्कम्पपीडितले अर्को विपत्ति सामना गरून् र क्षति व्यहोरून् भन्ने हो ? बसोवासका लागि अयोग्य भनी भूगर्भविद्ले सिफारिस गरेको बस्तीहरूमा नागरिक बसाल्नु तिमीहरू मरे पनि मर भनेर राज्यले दिएको अघोषित प्रमाणपत्र नै सरह भएन र ? भूकम्पका कारण नागरिक सडकमा पुग्दा तिनै जनताको सेवाको कसम खाएकाहरू जाजरकोट, पश्चिम रुकुम र सल्यानलाई नचिन्ने, यहाँका नागरिकलाई दुख्दा नदुख्ने उँटधारी छाला भएका सिंहदरबारको वागडोरका ठेकेदारका विरुद्ध सडकमा आउने वेला ढिला भएन र ? सडकमा जाँदा कसैको पूर्वमन्त्री, मन्त्री, सांसद, मेयर वा अध्यक्ष पद खोसिए नि राम्रै हुन्छ जनताको आवाजका लागि । विनयकोे बेवास्ताको प्रतिउत्तर आन्दोलन नै हो, विद्रोह नै हो ।
निराशालाई आशामा बदल्नु नै महानता हो, विपत्तिको विश्वइतिहास नियाल्दा विपत् रोक्न–छेक्न सकिँदैन, अनुकूलन क्षमता अभिवृद्धि अनिवार्य सर्त हुन्, पूर्वतयारी र सावधान अवलम्बन गरियो भने सुरक्षित रहन र राख्न सकिन्छ, जुन जाजरकोट भूकम्पमा देखिएन । एउटा नाइटभिजन हेली उडाउन नसकिनु, उद्धारका न्यूनतम सामग्रीविना उद्धार कार्य गरिनु, अत्यावश्यक अवस्थामा वैकल्पिक सेवाप्रवाह र सहजीकरणको संयन्त्र नहुनु, मानवीय कार्य प्राथमिकतामा नराखिनु, राज्य विपत्ति कुरेर बस्नु, मापदण्ड पालना नगरी संरचना निर्माण गरिनु, सार्वजनिक खुला स्थल नहुनु, साँघुरा र असजिला सडक सञ्जाल र बाटाहरू निर्माण गरिनु तथा राज्यको खबरदारीको भरोसा नगर्ने नागरिक, हाम्रा भविष्यका जोखिम निम्त्याउने क्षेत्र हुन् । विगतलाई समीक्षा गरौँ, सुधार गरौँ र नागरिक बचाउने र नागरिक स्वयं सुरक्षित रहने कुरामा संकल्प गरौँ । सरकारलाई भरोसा गुमाउने अधिकार त छैन नै, तर छुटसमेत दिइनुहुन्न ।