१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १६ शुक्रबार
  • Friday, 01 November, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ कार्तिक १६ शुक्रबार o७:२९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ कार्तिक १६ शुक्रबार o७:२९:oo

थाई एयर एसियाले यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ ।

यही कात्तिक ११ गते अनुमतिविना काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमाडौं र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको छ ।

कम्पनीलाई सातामा काठमाडौंमा चार र भैरहवामा दुईवटा उडान गर्ने गरी अनुमति दिइएको छ । भैरहवाको उडान बन्द गरेमा काठमाडौंको उडान स्वतः रद्द हुने सर्तसमेत राखी उडान फुकुवा गरिएको छ ।

‘नोभेम्बर ३ तारिखदेखि साताको दुई उडान भैरहवाबाट गर्ने उडान तालिका पेस गरेपछि, जुन दिनबाट भैरहवाबाट उसले उडान गर्छ, त्यही मितिबाट काठमाडौंबाट पनि उडान पुनः सुरु गर्ने सर्तमा थाई एयर एसियालाई नेपालमा उडान अनुमति फुकुवा गरिएको छ । ‘एप्रुभल सेड्युल’ अनुसार काठमाडौं र भैरहवासँगै उडान गर्नुपर्नेछ,’ उनले भने । थाई एयर एसियाले स्पष्टीकरण पेस गरेर माफी मागेपछि उसको सम्पूर्ण उडान फुकुवा गरिएको सूचना अधिकारी भूलले बताए ।

विनाअनुमति थाइल्यान्डबाट काठमाडौं आएको थाई एयर एसियाको विमानलाई झन्डै एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौं विमानस्थलमा अवतरणका लागि अनुमति दिइएको थियो । एयरलाइन्सको नेपालका लागि आधिकारिक एजेन्ट (जिएसए)लाई पनि कारबाही गरिएको थियो ।  

थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले कात्तिक ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई उडान विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो ।

प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गत असोज १६ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको थियो ।