गृहमन्त्री रमेश लेखकले ठगी गर्ने, अपराध गर्ने सबैमाथि अनुसन्धान हुने र यसमा कुनै काखापाखा नहुने बताएका छन्।
भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान ऐनउपर संशोधन विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा जारी छलफलका क्रममा गृहमन्त्रीले यस्तो बताएका हुन्।
‘कुनै पनि आपराधिक कार्यमा मानिसको मुख होइन, तथ्य र प्रमाण हेरेर अनुसन्धान गरिन्छ। प्रमाण जताजता जान्छ, अनुसन्धान त्यतै जान्छ,’ बैठकमा गृहमन्त्री लेखकले भने। सरकारले कानुनको परिधिबाहिर कसैलाई दुःख र हैरानी नदिने पनि उनले स्पष्ट पारे।
अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुने बताउँदै उनले तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढ्ने दाबी गरे। ‘काखापाखा, पक्ष–प्रतिपक्ष हुँदैन। सरकारमाथि विश्वास गर्नुस्। सरकार कानुनबाहिर काम गर्दैन,’ उनले भने।
सरकारले कसैलाई काखा र कसैलाई पाखा गरेर अनुसन्धान गरेको विषयमा समितिमा प्रश्न उठेपछि गृहमन्त्रीले यस्तो जवाफ दिएका हुन्।