मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका वासिङ्टन
२o८१ कार्तिक १० शनिबार १५:२२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह ‐ विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस्  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १५:२२:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघ अमेरिकाद्वारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेका र अहिले लगानीको वातावरण पनि रहेकाले आफ्नो मातृभूमिमा लगानी भित्र्याउन आग्रह गरेका हुन्। 

सो कार्यक्रममा उनले भने, ‘प्रकृतिले नेपाललाई धेरै कुरा दिएको छ। तर, त्यसको उपयोग र उपभोग गर्न हामी सफल हुन सकेका छैनौँ। देशलाई यतिखेर यहाँहरूले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजीको जरुरत छ। अहिले हामी जहाँ र जस्तोसुकै काम विशेषमा रहेका भए पनि भोलिको सन्ततिका लागि नेपालमै केही गर्नुपर्छ।’ 

अध्यक्ष ढकालले संकटका वेला सबैलाई आफ्नै जन्मथलो चाहिने प्रसंग उल्लेख गर्दै भने, ‘कोरोना महामारीका वेला हामी सहरमा बसेका गाउँ फर्कियौँ, विदेशमा विभिन्न कारणले बसेका नेपाली घर फर्किए। त्यो अवस्थाको स्मरण गर्दा हामी अहिले जहाँ जुन रूपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ भन्ने लागेको थियो। त्यसैले पनि म यहाँहरूलाई यो आग्रह गर्दछु कि आफ्नै जन्मस्थानमा केही गर्नुपर्छ।’  

उनले संसारका कयौँ देशमा रहेर गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप तथा पुँजीको ठुलो महत्त्व रहेको बताए। त्यसैले त्यसको केही प्रतिशत छुट्याएर नेपालमा लगानी गर्न सके गैरआवासीय नेपाली तथा नेपालकै लागि फाइदा पुग्ने उनको भनाइ थियो।  

गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा महासंघले आवश्यक सबै सहजीकरण गर्ने त छँदै छ, नेपालका लगानीकर्ता पनि सहकार्य गर्न इच्छुक रहेकाे उनको भनाइ थियो। अध्यक्ष ढकालले नेपालमा अहिले जलविद्युत्, पर्यटन, हस्पिटालिटी, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरू रहेकाे उल्लेख गरे। 

कोरोना महामारीपछि मुलुकको अर्थतन्त्र लयमा फर्कने तरखरमा रहेको र नेपालमा अहिले पर्यटन क्षेत्र फस्टाउँदो अवस्थामा रहेकाले ती क्षेत्रमा लगानी गरेर मुनाफा आर्जन गर्न पनि आग्रह गरे।