मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ८ बिहीबार
  • Thursday, 19 December, 2024
२o८१ कार्तिक ८ बिहीबार १२:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सूर्यदर्शन सहकारी ठगी प्रकरण : लामिछाने र जोशीलाई म्याद थपका लागि अदालत लगियो  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ८ बिहीबार १२:३७:oo

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगै अन्य पाँच सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगिएको छ । म्याद थपका लागि बिहीबार अदालतका ६ नम्बर न्यायाधीश चन्द्रकान्त पौडेललाई तोकिएको छ । दुवैजनालाई पौडेलको इजलासमा पेस गरिने भएको छ ।

घटनाको अनुसन्धानका लागि कास्की प्रहरीले हिरासतमा रहेका लामिछानेलाई दोस्रो र जोशीलाई चौथोपटक म्याद थपका लागि अदातल लगेको हो ।
 
सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि भन्दै २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी  केन्द्रीय कार्यालयबाट पक्राउ गरी लामिछानेलाई पोखरा ल्याएर ४ गते प्रहरीले अदालतबाट ६ दिन म्याद थप गरेको थियो।

यसैगरी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी जोशीलाई प्रहरीले ६ असोजमा काठमाडाैंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । जोशीलाई पहिलोपटक पाँच, दोस्रोपटक सात र तेस्रोपटक २० दिन म्याद थप गरिएको थियो ।

संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई (जिबी), पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयले ६ असोजमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरेको थियो । सोही निर्देशनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखराको सूर्यदर्शन, बुटवलकाे सुप्रिमसहित पाँच सहकारीबाट ६५ करोड रुपैयाँ अवैध रूपमा गोर्खा मिडियामा आएको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले कारबाही सिफारिस गरेका चारमध्ये जिबी फरार छन् भने अन्य तीनजना प्रहरी थुनामा छन् । 

यसअघि जेशीलाई रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी बयानका लागि ५ गते रुपन्देही लगेर बयान लिएको थियो । बयान सकिएसँगै जोशीलाई बिहीबार पोखरा ल्याइएको हो ।

प्रहरी स्राेतका अनुसार लामिछानेलाई आज म्याद थप गरेर पोखराबाट केही दिनमा सुप्रिमको ठगी सम्बन्धमा बयान लिन स्पन्देही लगिने भएको छ । लामिछानेको मुद्दाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीलाई खटाएको छ।