भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले कीर्तिपुरमा उपलब्ध गराएको १० रोपनी १४ आना जमिनमा सत्तारुढ नेकपा एमालेले केन्द्रीय कार्यालयको शिलान्यास गरेको छ । सरकारको नेतृत्व गरिरहेको राजनीतिक दलले एउटा विवादित व्यवसायीबाट जमिन लिएर केन्द्रीय कार्यालय बनाउनु कति उचित हो ?
यो सरासर अनुचित कार्य हो । अध्यक्ष नै प्रधानमन्त्री रहेको सत्तासीन दलले सरकारवादी गम्भीर आरोपमा मुद्दा खेपिरहेका विवादित व्यवसायीबाट यत्रो जमिन लिएर केन्द्रीय कार्यालयको शिलान्यास गर्नु अनैतिक त हो नै, सरासर मुलुकको कानुनलगायत सबै कुराको खिल्ली उडाएको हो ।
यो ‘अनुचित लेनदेन’ हो ?
आगो नबली धुवाँ उठ्दैन । यो लेनदेनले अनुचित साँठगाँठकै संकेत दिन्छ । नेपालका प्रमुख राजनीतिक दल, खासगरी सत्तारुढ दललाई अनुचित साँठगाँठ र लेनादेनाको आरोप पहिलेदेखि नै लाग्दै आएका हुन् । ती आरोप सत्य भएको यो एउटा बलियो प्रमाण नै भयो ।
यसले कस्तो संस्कृतिको विकास गर्ला ?
यो राजनीतिमा इमानको, असल शासनको, स्वच्छ नेतृत्वको सरासर बर्खिलाप छ । सत्तारुढ दलले नै गलत संस्कार बसालेको छ । व्यवसायीले दिने भनेकै सत्ता र शक्तिमा रहेकालाई हो, जसले उनीहरूलाई ‘नीतिगत भ्रष्टाचार’ र ‘अनुचित लाभ’को मार्ग प्रशस्त गरिदिन्छ । यसले कुनै पनि दृष्टिले राम्रो राजनीतिक संस्कार बसाल्दैन ।
मीनबहादुरलाई माओवादीनजिक रहेको आरोप लाग्ने गथ्र्याे । त्यो गलत रहेछ । नजिक त एमालेका रहेछन् उनी । यसले खडा गरेको बबन्डर मत्थर पार्न उनी एमालेकै कार्यकर्ता रहेको तर्क पनि कतिपयले गर्न थालेका छन् । तर, ती कुतर्क हुन् । पुष्पलाल, मनमोहन र मदन भण्डारीको किञ्चित पनि संस्कार भएको कुनै पनि नेता–कार्यकर्ता यो निर्णयको खिलापमा लाग्नुपर्ने हो ।
इमानको राजनीतिमा एमाले डगेको देखियो । भलै अदालतले भोलि उनलाई उन्मुक्ति देला, तर अहिलेका लागि उनी ठुला सरकारवादी मुद्दा खेपिरहेका विवादित व्यक्ति हुन् । त्यस्ता व्यक्तिबाट अर्बांैको जमिन लिएर आफूलाई खाँटी कम्युनिस्ट मान्ने दलका अध्यक्ष एवं प्रधानमन्त्रीजस्तो व्यक्तिले घन्टी बजाउँदै शिलान्यास गरेको दृश्य आफँैमा अप्रिय र लाजमर्दाे छ ।