डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बैतडीको पुर्चौडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका– ७ खस्रेखानमा दुर्घटना हुँदा चारजनाले ज्यान गुमाएका हुन्।
दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए । दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीया जयमती बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो।
प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। रासस