१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २९ मंगलबार
  • Wednesday, 16 October, 2024
२o८१ असोज २९ मंगलबार १७:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक महिनाभित्र रुग्ण उद्योग सञ्चालनमा ल्याउने तयारी : मन्त्री भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २९ मंगलबार १७:४o:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरूलाई अबको एक महिनाभित्रै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताएका छन्।

गृहजिल्ला बैतडीमा आयोजित दसैँतिहारको शुभकामना आदानप्रदान कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन्। ‘अबको एक महिनाभित्रमा हिजो लामो समयदेखि बन्द अवस्थामा रहेका उद्योगहरूलाई सञ्चालनमा ल्याउने तयारी गरेका छौँ,’ जिल्ला सदरमुकाम बैतडीमा आयोजित कार्यक्रममा भण्डारीले भने, ‘त्यसका लागि धेरै चरणमा छलफल र तयारी पूरा गरेका छौँ। यी उद्योगहरू सञ्चालन प्रक्रियाका लागि सूचना आह्वान गर्छौँ।’

एउटा उद्योगले धेरै मान्छेलाई रोजगारी दिन सक्ने बताउँदै उनले सरकारी मात्र नभई निजी उद्योगलाई पनि सञ्चालनमा ल्याउन सहयोग गर्ने बताए। ‘स्टार्टअपका लागि यो वर्ष एक अर्ब रकम विनियोजन गरेका छौँ। करिब ५०० जनालाई न्यून ब्याजदरमा रकम उपलब्ध गराउँछौँ। यो कार्यक्रमलाई युवा, महिलालक्षित आकर्षक कार्यक्रमको रूपमा अघि बढाउँछौँ,’ उनले भने। 

नतिजा देखिने गरी काम गर्न मन्त्रालयहरूबिच प्रतिस्पर्धा चलिरहेको बताउँदै मन्त्री भण्डारीको उद्योग मन्त्रालयअगाडि आउने दाबी गरे। उनले भने, ‘हामीले धेरै मेहेनत गरेर मन्त्रालयको कार्ययोजना बनाएका छौँ। शतप्रतिशत त म भन्दिनँ, त्यसको आसपासमा हाम्रो नतिजा देखिन्छ।’

दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र सुरुवातका लागि पनि काम भइरहेको मन्त्री भण्डारीले बताए। यसका साथै मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटमा मोटरेबल पुल बनाउन भारत सरकारसँग कुरा भइरहेको उनले उल्लेख गरे। पुल निर्माणसँगै दुई देशको व्यापारमा वृद्धि हुने र बैतडीमा सिमेन्ट उद्योग स्थापना भएर भारतीय बजारमा निर्यात हुने भण्डारीको भनाइ थियो।