१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३० बुधबार १३:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष दाहाल र स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिकबिच भेटवार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १३:३४:oo

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबिच द्विपक्षीय भेटवार्ता भएको छ।

अन्तरव्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका अध्यक्ष दाहालले स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिकसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगका साथै नेपालको शान्ति प्रक्रियामा स्विस सरकारको सहयोगबारे छलफल भएको बताइएको छ।

सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा स्विस सरकारले महत्त्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरे।

संयुक्त राष्ट्रसंघ, आइपियूलगायतका बहुपक्षीय मञ्चहरूमा नेपाल र स्विट्जरल्यान्डले आपसी सहयोग र सहकार्य गर्दै आइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि दुई देशबिचको पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्विट्जरल्यान्डसँग काम गर्न नेपाल सधैँ तयार रहेको बताए।

प्रत्यक्ष लोकतन्त्र र संघीयताको अभ्यासमा स्विट्जरल्यान्ड विश्वकै सफल उदाहरण भएको चर्चा गर्दै अध्यक्ष दाहालले भने, ‘संघीय गणतन्त्रको रूपमा भर्खरै अभ्यास गरिरहेको नेपालले स्विट्जरल्यान्डका असल अभ्यास बुझ्न र सिक्न प्रयासरत छ। हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौँ।’

संक्रमणकालीन न्यायका लागि द्वन्द्वपीडितलाई न्याय र क्षतिपूर्ति दिन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष दाहालले संघीय संसद्का दुवै सदनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको जानकारी दिए।

भेटमा स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिकले दुई देशको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै आइपियूको महासभाका सन्दर्भमा नेपाली समकक्षीलाई स्विजरल्यान्डमा भेट्दा आफूलाई खुसी लागेको बताए।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कानुन पारित गरेकोमा बधाई दिँदै अध्यक्ष नसबाउमरले कानुन कार्यान्वयनमा लैजानका निम्ति आफूहरू आवश्यक सहयोग गर्न तयार रहेको बताए।

नेपाल पर्यटकीय रूपमा निकै सम्भावनायुक्त देश भएको चर्चा गर्दै अध्यक्ष नसबाउमरले नेपालको पर्यटन प्रवर्द्धन र हवाई सेवाको गुणस्तर एवं विकासमा स्विस सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। सो अवसरमा अध्यक्ष नसबाउमरले आफूले नेपालको भ्रमण गर्न चाहेको पनि बताए।