१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Wednesday, 16 October, 2024
जोसेफ एस नाई जुनियर
२o८१ असोज २४ बिहीबार १o:o९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘युक्रेन युद्ध’मा कस्तो विजय सम्भव छ ?

Read Time : > 2 मिनेट
जोसेफ एस नाई जुनियर
नयाँ पत्रिका
२o८१ असोज २४ बिहीबार १o:o९:oo

युद्धमा विजयलाई परिभाषित गर्न सजिलो छ । बर्लिन र टोकियोमाथि ‘मित्र मण्डली’को नियन्त्रण र ती मुलुकका नेतृत्वलाई हटाइएसँगै द्वितीय विश्वयुद्ध समाप्त भयो । भियतनाम युद्ध अमेरिकाको हारमा टुंगियो । ५८ हजार अमेरिकी जीवनको व्यर्थ बलिदानीका बाबजुद उत्तरी भियतनामले दक्षिण भियतनाममाथि विजय प्राप्त गर्‍यो । औपचारिक रूपमा नटुंगिएकाले कोरियाली युद्धलाई ‘गतिरोधको स्थिति’ भनिन्छ । 

तर यस्ता परिभाषा सही नहुन पनि सक्छन् । इराकमा अमेरिकाले सद्दाम हुसेनलाई हटायो । तर, न आमसंहारका हातहतियार फेला पार्‍यो, न त इराकलाई लोकतान्त्रिक देशमा परिणत गर्‍यो । केही आलोचक यस युद्धमा साँचो विजेता इरान भएको तर्क गर्छन् ।

अर्कातर्फ, कोरियामा असैन्यकृत क्षेत्र कायमै रहे पनि दक्षिणी आधा हिस्सा ३५ हजार अमेरिकी डलरको वार्षिक प्रतिव्यक्ति आयसहित एक जीवन्त र समृद्ध लोकतन्त्रका रूपमा विकसित भएको छ । जबकि उत्तर कोरिया १२ सय डलरको अनुमानित वार्षिक प्रतिव्यक्ति आय र निरन्तरको खाद्य संकटसहित एक खतरनाक तानाशाही बनेको छ । यो ‘युद्धको गतिरोध’मा जित कसको भएको छ ?

युक्रेनमा विजयको परिभाषा पक्षहरूको लक्ष्य र समय सीमामा निर्भर गर्नेछ । सन् २०१४ मा रुसले क्रिमिया र पूर्वी डोनबास क्षेत्रका केही भागका रुसी भाषीको सुरक्षाको बहानामा युक्रेनमाथि हमला गर्‍यो । त्यसको आठ वर्षपछि युक्रेनलाई एक स्वतन्त्र राष्ट्रका रूपमा ध्वस्त पारेर युद्धको प्रक्रिया पूरा गर्ने प्रयास गर्‍यो ।

पुटिनको मूल उद्देश्यलाई आधार मान्ने हो भने यो युद्धमा युक्रेनले पहिल्यै जित हासिल गरिसकेको छ 

रुसी राष्ट्रपति पुटिनले सन् २०२१ मा लेखेझैँ उनी युक्रेनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा नभई बृहत्तर रुसको हिस्साका रूपमा लिन्छन् । सोभियत संघले सन् १९५६ मा बुडापेस्ट र सन् १६६८ मा प्रागमा गरेजस्तै केही दिनमै किभ कब्जा हुने र युक्रेनी सरकारलाई प्रतिस्थापन गर्ने उद्देश्यले सीमामा सेना जम्मा गर्‍यो । तर, असफल भयो । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले देश छाड्न र निर्वासनको सरकार गठन गर्न दिएको सल्लाहलाई अस्वीकार गरे । उनले बरु सेना उतारे, राजधानी बचाए र पुटिनको योजनालाई विफल पारिदिए । पुटिनको युद्धले युक्रेनको राष्ट्रिय पहिचान र नेटो थप बलियो भए । नेटोले नयाँ दुई सदस्य फिनल्यान्ड र स्विडेन थपेको छ, जो लामो समयदेखि तटस्थताको नीतिमा थिए । पुटिनको मूल उद्देश्यलाई आधार मान्ने हो भने युक्रेनले पहिले नै जित हासिल गरिसकेको छ ।

समस्या के भने युक्रेनको करिब २० प्रतिशत भूभागमा रुसी सेनाको नियन्त्रण छ । र, पुटिनले युक्रेनले चार पूर्वी प्रान्तको रुसी कब्जालाई मान्यता दिनुपर्ने गरी युद्धको माग परिमार्जन गरेका छन् । युद्धमा रुसी हताहती निकै ठुलो छ, तर रुसी जनसंख्या र अर्थतन्त्रको आकारका कारण समय आफ्नो पक्षमा फर्किने आसमा उनले दाउ लगाउन सक्छन् । 

हालैको एक सर्वेक्षणअनुसार २६ प्रतिशत युक्रेनी कूटनीतिक समाधानका लागि तयार छन् । करिब ८६ प्रतिशत युक्रेनी शान्ति सम्झौतामा हस्ताक्षर भए पनि रुसले फेरि पुनः आक्रमण गर्न सक्ने विश्वास व्यक्त गर्छन् । हुनत, रुस र युक्रेन दुवैले वार्ताको इच्छा व्यक्त गरेका छन्, तर उनीहरू यसबाट अझै टाढै छन् । गत गर्मीमा हंगेरीका क्रेमलिनमैत्री प्रधानमन्त्री भिक्टर ओर्बान मध्यस्थताको प्रयास गर्न मस्को गएका थिए, तर उनी पुटिनको अडान परिवर्तन गर्न असफल भए । यसैबिच, डोनाल्ड ट्रम्प एक दिनमै यो युद्ध सुल्झाउन सकिने दाबी गरिरहेका छन् । तर, युक्रेनको आत्मसमर्पणबाहेक ट्रम्पले भनेजस्तो कसरी सम्भव होला ? 

‘युक्रेन वा रुसको हारबारे कुरा गर्ने हो भने यो हुनेवाला छैन,’ हालै नेटोका पूर्वजनरल एवं युक्रेनका बलिया समर्थक चेक राष्ट्रपति पेट्र पाभेलले भनेका थिए । यसर्थ, यही बिचको स्थितिमा युद्धको अन्त्य हुनुपर्छ । पाभेलले युक्रेनी भूभाग लामो समयसम्म रुसी कब्जामा रहन सक्ने चेतावनी दिइसकेका छन् । युक्रेनले विजयलाई सन् २०१४ देखि रुसले कब्जा गरेको सम्पूर्ण भूभाग फिर्ताको रूपमा परिभाषित गर्छ भने उसको जित दृष्टिमा छैन । तर, युरोपसँग जोडिएको एक लोकतन्त्रका रूपमा आफ्नो स्वतन्त्रता कायम राख्ने लक्ष्य राखेको छ भने आफ्ना भूभाग फिर्तीको अधिकार सुरक्षित राख्ने गरी उसको विजय सम्भव छ । 

तर, यो सम्भावित विजयको अर्थ पुटिनले आफ्नो विजयको घोषणा गर्न सक्षम हुनु हुँदैन भन्ने पनि हो । युक्रेनको बार्गेनिङ क्षमतालाई मजबुत बनाउन सहयोग गर्नुपर्छ । युक्रेनले अहिले नै आफ्नो अधिकतम लक्ष्य प्राप्त गर्न नसक्दा पनि रुसको कब्जालाई मान्यता नदिँदासम्म युक्रेनी अडानको वैधता दीर्घकालीन रूपमा संरक्षित हुनेछ ।

यसलाई कोरियाली समाधान भन्न सकिन्छ । ‘लाइन अफ कन्ट्रोल’छेउको असैन्यीकृत क्षेत्रको निगरानी अन्तर्राष्ट्रिय शान्ति सैनिकले गर्नेछन्, ताकि रुसले पुनः आक्रमण गर्न खोजे अन्य धेरै देशले प्रतिकार गरून् । युक्रेनको औपचारिक नेटो सदस्यताका लागि अहिले नै सबै नेटो सदस्य सहमत नहुन सक्छन् । आफूलाई ‘युक्रेनको मित्र’ ठान्ने नेटो सदस्यहरूको एक समूहले सो क्षेत्रको निगरानी गर्न र कुनै पनि नयाँ रुसी हमलाको जवाफ दिने प्रतिबद्धता जनाउन सक्छ । युक्रेनलाई आफ्नो अर्थव्यवस्थाको पुनर्निर्माण र इयू बजारमा पहुँचका लागि पनि सहायताको खाँचो हुनेछ । ‘कोरियाली समाधान’ले अहिले नै युक्रेनको अधिकतम लक्ष्य पूरा नहोला, तर त्यो ‘युक्रेनी विजय’ करार गर्न योग्यचाहिँ हुनेछ ।
(हार्वर्ड विश्वविद्यालयका प्रोफेसर इमिरिटस् जोसेफ नाई पूर्वअमेरिकी सहायक रक्षामन्त्री हुन्)प्रोजेक्ट सिन्डिकेटबाट