१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
२o८१ असोज ३० बुधबार १२:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डडेल्धुरा बस दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १२:४८:oo

डडेल्धुरामा गएराति भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा बुधबार बिहान ११ बजे अर्को शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार राति साढे १२ बजेतिर भएको दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा १२ जना घाइते भएका छन्।

बैतडीको पुर्चौडी नगरपालिका– १० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए। दुर्घटनाग्रस्त गाडीको छततिरको भाग रुखमा अडिएको र त्यसमा शव फेला परेको प्रहरी निरीक्षक बमले जानकारी दिए। मृतक पाँचैजनाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।

दुर्घटनामा एकै परिवारका तीनजनासहित पाँचजनाको मृत्यु भएको हो। पुर्चौडी– ३ का अन्दाजी २२ वर्षीय सहदेव बोहरा, उनकी श्रीमती २० वर्षीया कमला बोहरा र दुई दिनका छोराको मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए। त्यस्तै, पुर्चौडी– ३ कै ४५ वर्षीया जैमती बोहराको दुर्घटनामा मृत्यु भएको छ।

बसचालक पुर्चौडी– ८ का २४ वर्षीय वीरेन्द्र बोहरासहित १२ जना घाइते छन्। टाउको, दुवै आँखा, मुख र दाहिने खुट्टामा चोट लागेका बोहराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई थप उपचारका लागि धनगढी ल्याइएको छ। प्रहरी निरीक्षक बमले घाइते सबैलाई थप उपचारका लागि धनगढी पठाइएको जानकारी दिए।

पवनदूत यातायातको ना.८ख १०७८ नम्बरको रात्रिबस गएराति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका– ८ खस्रेखानमा दुर्घटना भएको हो। उक्त बस कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै थियो। प्रहरीका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल भिरमा खसेको छ।

‘दुर्घटनामा घाइते भएका चालकको अवस्था गम्भीर छ । दुर्घटनाको कारण खुल्न सकेको छैन,’ प्रहरी निरीक्षक बमले भने, ‘गाडी ट्रयाक आउट भएको छ, ब्रेक फेल भएर वा चालक निदाएर दुर्घटना भएको हुन सक्छ।’