१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २९ मंगलबार
  • Wednesday, 16 October, 2024
रासस लक्जेमबर्ग
२o८१ असोज २९ मंगलबार १७:२o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र दिएको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

Read Time : < 1 मिनेट
रासस, लक्जेमबर्ग
नयाँ पत्रिका
२o८१ असोज २९ मंगलबार १७:२o:oo

युरोपेली आयोगले युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाएको छ।

युरोपेली आयोगले इरान एयरलगायत सात संस्थाहरू र उप–रक्षामन्त्री सैयद हम्जेह घलान्डारी र रिभोलुसनरी गार्डस् कुद्स फोर्सका वरिष्ठ अधिकारीहरूसहित सात व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ।

प्रमुख युरोपेली शक्तिहरू बेलायत, फ्रान्स र जर्मनीले गत महिना रुसमा इरानी क्षेप्यास्त्र हस्तान्तरणलाई लिएर यस्तै प्रतिबन्ध जारी गरेका थिए। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्पूर्ण ब्लकले अपनाएको प्रतिबन्धलाई स्वागत गर्दै भनिन्, ‘युक्रेनविरुद्ध रुसको आक्रामक युद्धलाई इरानी शासनको समर्थन अस्वीकार्य छ र यो बन्द हुनुपर्छ।’

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले प्रतिबन्धलाई ‘अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानुनविपरीत’ भन्दै अस्वीकार गरेका छन्। उनले रुसलगायत अन्य देशसँग रक्षा र सैन्य सहयोग गर्ने इरानको अपरिहार्य अधिकारलाई पनि जोड दिएका इरानको आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ।

इरानको कट्टर प्रतिद्वन्द्वी इजरायलले पनि आयोगको यस कदमको प्रशंसा गरेको छ। प्रतिबन्धले रकेट र मिसाइल प्रक्षेपण गर्न प्रयोग हुने प्रणोदक उत्पादनमा संलग्न दुई कम्पनीलाई पनि लक्षित गरेको छ।

इरानले भने युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र हस्तान्तरण गरेको पश्चिमी आरोपलाई अस्वीकार गरेको छ।