१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २९ मंगलबार
  • Wednesday, 16 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २९ मंगलबार १७:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै पार्टी कार्यालय बनाउन नसक्ने एमालेबाट मुलुक बन्दैन : प्रभु साह

अर्बपति पार्टी एमालेलाई दान नभई खुल्लमखुल्ला घुस दिइयाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २९ मंगलबार १७:o९:oo

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले एमालेको पार्टी कार्यालय निर्माणका लागि दानका नाममा घुस लेनदेन भएको आरोप लगाएका छन्।

चाडपर्वको अवसरमा मंगलबार सिराहाको गोलबजारमा आजपा सिराहा जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष साहले अर्बाैँको सम्पत्ति भएको पार्टीलाई दान नभई घुस दिएको आरोप लगाए।

आजपाजस्तो गरिब पार्टीलाई पनि कार्यालय निर्माणका लागि दान दिनू भन्ने कटाक्ष गर्दै साहले भने, ‘अर्बाैँको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी नेकपा एमालेलाई जग्गा दान गरी पार्टी कार्यालय बनाइदिने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले हामीजस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि! अर्बौँको सम्पत्ति एक अरबपति पार्टीलाई दान गरिएको छ। दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ। प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर भएको पार्टीलाई यो दान नभई खुलमखुला घुस दिएको हो।’

एमाले लाखौँ सदस्य भएको अर्बपतिको पार्टी भएको बताउँदै उनले सदस्यहरूबाटै १००/१०० रुपैयाँ चन्दा उठाएर पार्टी कार्यालय बनाउन सक्ने भए पनि घुसमा पाएको जग्गा र कार्यालय पाएर एमालेजन रमाएको आरोप लगाए।

आफ्नो पार्टी कार्यालयसमेत बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुनै नसक्ने दाबी गर्दै अध्यक्ष साहले अब मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी लिन आफू तयार रहेको बताए।

‘मुलुकको निर्माण कार्य ठप्प छ। तोकिएकै समयमा निर्माण कार्य हुन नसकेर मुलुक बर्बाद भएको छ,’ उनले भने, ‘महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग लथालिंग छ। काठमाडौंको तिनकुने, कालीमाटीको पुल बनाउन नसक्ने प्रधानमन्त्रीजीले मुलुक समृद्ध कसरी बनाउनुहुन्छ? उहाँले त आफ्नो पार्टी कार्यालय बनाउन सक्नुभएको छैन, मुलुक समृद्ध बनाउने कुरा भ्रम मात्रै हो।’