मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Sunday, 22 December, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ असोज २४ बिहीबार o६:५९:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाढीपहिरोबाट ११ हजार परिवार विस्थापित, ४६ अर्बको क्षति

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २४ बिहीबार o६:५९:oo
  •  क्षतिग्रस्त राजमार्ग बनाउन साढे २७ अर्ब लाग्ने 
  •  खानेपानी आयोजनामा भएको क्षतिले २५ लाख सर्वसाधारण प्रभावित  
  •  सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनामा मात्रै पौने ३ अर्बको क्षति
  •  २५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त
  •  कृषिमा पाँच अर्ब  ८३ करोडबराबरको क्षति
  •  १३२ शैक्षिक संस्थामा क्षति  पुग्यो

अविरल वर्षापछि गत ११ र १२ असोजमा आएको बाढीपहिरोबाट झन्डै ११ हजार परिवार विस्थापित भएका छन् भने ४६ अर्ब रुपैयाँभन्दा धेरै आर्थिक क्षति भएको छ । २४६ व्यक्तिको ज्यान गएको यो विपत्तिमा परेका १८ जना अझै बेपत्ता छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको क्षतिको प्रारम्भिक प्रतिवेदनमा ४६ अर्ब ४ करोड रुपैयाँबराबरको नोक्सानी र १० हजार ८०७ परिवार विस्थापित भएको आकलन गरिएको छ ।

बुधबार गृह मन्त्रालयमा बुझाइएको प्रतिवेदनअनुसार बाढीपहिरोमा चार हजार ६६७ घर पूर्ण रूपमा र पाँच हजार ३१० घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोबाट १६ हजार २४३ परिवार प्रत्यक्ष प्रभावित भएको आकलन गरिएको छ । स्थानीय तहबाट भने लगत संकलन भइसकेको छैन । 

प्राधिकरणले विभिन्न मन्त्रालयहरूसँग मिलेर प्रारम्भिक क्षतिको प्रतिवेदन बनाएको हो । प्राधिकरणले क्षतिको प्रारम्भिक प्रतिवेदन तयार गरेको र त्यसको आधारमा राहत तथा पुनर्निर्माणका काम अघि बढाइने गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले बताए । 

प्रतिवेदनअनुसार बाढीपहिरोबाट ४४ पुल, २६ जलविद्युत् आयोजना, ४१ सडक, एक हजार ६१६ खानेपानी आयोजना, ३०२ दूरसञ्चारसम्बन्धी संरचना र ८४ यातायातका साधनमा क्षति भएको छ । यस किसिमको भौतिक क्षतिबाट ३८ अर्ब ४४ करोडबराबरको नोक्सान भएको छ । चार हजार ६६७ व्यक्तिगत घरसहित ६ विद्यालय र आठ स्वास्थ्य चौकी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग निर्माण गर्न २७ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्राधिकरणको आकलन छ । 

बिपी, पृथ्वी, मेची, कान्ति, अरनिको, सगरमाथा र मध्यपहाडी पुष्पलाल राजमार्ग, तमोर करिडोर, खुर्काेट, मन्थली तामाकोशी र रसुवा सडकमा असर परेको छ । तत्काल ती सडक मर्मत गर्न दुई अर्ब ५५ करोड लाग्ने र पूर्ण रूपमा मर्मत गर्न २७ अर्ब ५५ करोड लाग्ने प्रतिवेदनमा उल्लेख छ । 

२५ वटा पुलमा पूर्ण क्षति : बाढीपहिरोबाट २५ पुल पूर्ण रूपमा र १९ आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् । यी पुल मर्मत तथा निर्माण गर्न एक अर्ब चार करोड लाग्ने अनुमान छ । जलविद्युत् आयोजनामा तीन अर्ब आठ करोड १३ लाखबराबरको क्षति भएको छ । १५ निर्माणाधीन र ११ सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा बाढीपहिरोले क्षति पुर्‍याएको छ । 

खानेपानी आयोजनामा भएको क्षतिले २५ लाख सर्वसाधारण प्रभावित : बाढीपहिरोबाट प्रभावित अर्काे ठुलो क्षेत्र खानेपानीसम्बन्धी हो । पाँच लाख परिवार तथा २५ लाख सर्वसाधारण यसबाट प्रभावित बनेको प्राधिकरणको आकलन छ । पाँच अर्ब ९५ करोड रुपैयाँबराबरको क्षति खानेपानी आयोजनामा भएको छ । स्थानीय खानेपानी धारादेखि ठुला आयोजनाहरूसमेत ध्वस्त भएका छन् । 

कृषिमा पाँच अर्ब ८३ करोड :  प्राधिकरणले कृषि क्षेत्रमा पाँच अर्ब ८३ करोडबराबरको नोक्सान भएको आकलन गरेको छ । सबैभन्दा ठुलो नोक्सानी धानीबालीमा छ । ५८ हजार ४७६ हेक्टर धानबालीमा असर पुर्‍याएको छ । तीन अर्ब ५० करोड रुपैयाँबराबरको धानबालीमा क्षति पुगेको छ । त्यस्तै, सात करोडको अलैँची खेती, ३४ करोडको उखुखेती, एक अर्ब १३ करोडबराबरको माछापालन र १६ करोड रुपैयाँबराबरको कृषिसम्बन्धी संरचनामा क्षति पुगेको छ । सिँचाइतर्फ एक अर्ब ३५ करोडको क्षति पुगेको आकलन छ । 

१३२ शैक्षिक संस्थामा क्षति :  प्रतिवेदनअनुसार १३२ शैक्षिक संस्थामा क्षति पुगेको छ । काभ्रेपलाञ्चोक जिल्लामा मात्र ८२ विद्यालय तथा कलेजमा क्षति पुगेको छ । त्यस्तै, ललितपुरमा ३१, सिन्धुलीमा ६, रसुवा र तनहुँमा पाँच–पाँच शैक्षिक संस्थामा क्षति पुगेको छ । 

सरकारलाई ११ बुँदे सिफारिस : प्राधिकरणले तत्कालीन र दीर्घकालीन गरेर ११ सुझाव दिएको छ । पहिलो सुझावमा जोखिम न्यूनकरणका लागि प्रभावकारी सञ्चार  नभएको उल्लेख छ  । विपत्को पूर्वजानकारी हुँदा पनि जोखिममा रहेका नागरिकसम्म यसबारे सूचना प्रभावकारी रूपमा पुग्न नसकेकाले यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । त्यस्तै, पूर्वसूचना प्रणालीलाई अझै सशक्त बनाउने, विपत् पूर्वतयारीलाई प्रभावकारी बनाउने, विपत् प्रतिरोधी भौतिक निर्माण, सरकारी संयन्त्रहरूबिच सहकार्य प्रभावकारी बनाउने र समुदायमा आधारित विपत् व्यवस्थापनमा जोड दिइएको छ । 

जोखिमको विस्तृत मूल्यांकन, दीर्घकालीन पुनर्निर्माण, प्रभावितलाई मानसिक परामर्श, क्षतिको विस्तृत तथ्यांक प्रणाली र विपत्पछिको आवश्यक मूल्यांकनलाई प्रभावकारी बनाउन भनिएको छ । यो वर्ष ठुलो वर्षा हुने पूर्वानुमान हुँदा पनि पूर्वतयारी नहुँदा ठुलो क्षति भएको भन्दै सरकारको आलोचना भइरहेको छ । उद्धार मात्र होइन, राहत वितरणसमेत प्रभावकारी हुन सकेको छैन । दुई साता हुँदा पनि स्थानीय तहले लगत संकलन गर्न नसकेको भन्दै राहत वितरण हुन सकेको छैन ।

सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनामा मात्रै पौने ३ अर्बको क्षति
बाढीपहिरोबाट सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनामा मात्रै दुई अर्ब ८८ करोड ३४ लाखबराबरको क्षति पुगेको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै बाढीपहिरोबाटभएको क्षति विवरण सार्वजनिक गरेको हो । गत ११ र १२ गतेको बाढीपहिरोबाट दुईवटा स्वास्थ्यचौकी, ३५ नाला, वाल तथा स्मार्ट लाइट, पाँचवटा उद्यान तथा पार्क र दुईवटा खेल मैदानमा क्षति पुगेको मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्य कुँवरले जानकारी दिइन् । त्यस्तै, ३२ वटा झोलुंगे पुलमा पूर्ण र २८ वटा झोलुंगे पुलमा आंशिक क्षति पुगेको छ । त्यस्तै,२७ वटा सडक खण्डमापहिरोले आंशिक क्षति पु¥याएको उनले बताइन् ।

मन्त्रालयअन्तर्गतकै सहरी विकास तथा भवन निर्माण विकास, स्थानीय पूर्वाधार विभाग, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यकाविकास प्राधिकरणलगायतले निर्माण तथा विकास गरेका आयोजनामा क्षति पुगेको बज्राचार्यले बताइन् ।