मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २२ मंगलबार
  • Saturday, 21 December, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ असोज २२ मंगलबार o८:२८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेवानिले फूलपातीमा ठुलो जहाजबाट काठमाडौं–भैरहवा उडान गर्ने 

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २२ मंगलबार o८:२८:oo

२४ असोजमा न्यारोबडी बिहान ११ बजे भैरहवा गएर १२:३० बजे काठमाडौं फर्किने, भैरहवाका लागि सात हजार र काठमाडौं फर्किन तीन हजार ८९० भाडा तय

दसैँको मुखमा बाढीपहिरोले स्थल आवागमन सकसपूर्ण हुँदा आन्तरिक उडानमा परेको चाप घटाउन नेपाल वायुसेवा निगमले फूलपातीका दिन न्यारोबडी विमानबाट काठमाडौं–भैरहवा उडान गर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेवानिको न्यारोबडी एयरबस–३२० विमानलाई २४ गते स्पेसल आन्तरिक उडान गर्न अनुमति दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सडक अवरुद्ध भएर हवाई यात्रु बढेपछि निगम र हिमालय एयरलाइन्सको ठुलो जहाजबाट भैरहवा र पोखरा उडान गर्न पहल गरेका थिए । निगमले न्यारोबडीबाट काठमाडौं–भैरहवा आन्तरिक उडानका लागि शुक्रबार क्यानसँग अनुमति मागेको थियो । दसैँमा यात्रुहरूलाई घर जान सहज होस् भनेर एयरबस ३२० विमानबाट काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्न लागेको नेवानिका प्रवक्ता रमेश पौडेलले बताए । 

एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाजले काठमाडौंबाट बिहान ११ बजे भैरहवाका लागि उडान गर्ने र भैरहवाबाट १२:३० बजे काठमाडौं फर्किने गरी अनुमति पाएको प्रवक्ता पौडेलले बताए । निगमले काठमाडौं–भैरहवाका लागि प्रतियात्रु सात हजार रुपैयाँ र भैरहवा–काठमाडौंका लागि तीन हजार आठ सय ९० रुपैयाँ भाडा तोकेको छ । दसैँमा काठमाडौंबाट जिल्लातिर जाने यात्रुहरूको चाप अत्यधिक भए पनि काठमाडौं फर्किने यात्रुहरू कम हुने हुनाले भाडा पनि कम राखेको हो । उक्त उडानमा यात्रुहरूले प्रतिव्यक्ति ३० केजी सामान बोक्न पाउनेछन् । निगमको कार्यालय र वेबसाइट वा मोबाइलबाट अनलाइन टिकट लिन सकिने बताइएको छ । 

निगमले यसअघि नै काठमाडौं–भैरहवामा वाइडबडी र न्यारोबडी जहाजबाट परीक्षण उडान र नियमित उडान गरिसकेको छ । अहिले पनि नेवानिले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं सातामा एउटा उडान गर्दै आइरहेको छ । हिमालय एयरलाइन्सले पनि केही समय भैरहवामा अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो । हिमालयले नै पोखरा विमानस्थलमा उद्घाटनको दिन परीक्षण उडान गरेको थियो । तर, काठमाडौंबाट पोखरा उडानका लागि नेवानि र हिमालय दुवैले चासो देखाएका छैनन् । पछिल्लो समय बुद्ध, यती र श्री एयरलाइन्सले उडान थपेपछि चाप पनि क्रमशः सामान्य हुँदै छ ।