बर्दियामा करिब पाँच प्रतिशत घरधुरीले मात्र स्वास्थ्य बिमा गरेका छन् । ९५ प्रतिशत घरधुरी स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालयका अनुसार ९४.८३ प्रतिशत घरधुरी स्वास्थ्य बिमामा सक्रिय छैनन् ।
जिल्लाका पाँच हजार ५०५ घरधुरीले मात्र वास्तविक स्वास्थ्य बिमा गरेको कार्यालयले जनाएको छ । हाल बर्दियामा २३ हजार ४२० घरपरिवार स्वास्थ्य बिमामा सक्रिय छन् । जसमध्ये ७० वर्षमाथिका ज्येष्ठ नागरिक १७ हजार ९१५ छन् । सरकारले एक ज्येष्ठ नागरिकलाई एक घरपरिवारको रूपमा गणना गर्छ । ज्येष्ठ नागरिकको संख्या छाडेर बर्दियामा पाँच हजार ५०५ घरधुरी मात्र स्वास्थ्य बिमामा सक्रिय भएको स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक डिकेन्द्रबहादुर विष्टले बताए ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार बर्दियामा एक लाख ६ हजार २८५ घरधुरी छन् । हालसम्म स्वास्थ्य बिमामा ४१ हजार ३३५ घरधुरी (ज्येष्ठ नागरिकसहित) आबद्ध थिए । उनीहरूमध्ये १७ हजार ९१५ जनाले नवीकरण गरेका छैनन् । ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा स्वतः नवीकरण हुने हुँदा घरपरिवार संख्या धेरै भए पनि स्वास्थ्य बिमा गर्ने घरपरिवारको संख्या न्यून रहेको विष्टको भनाइ छ ।
बर्दियामा जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षकले समेत स्वास्थ्य बिमा नगरेको पाइएको छ । स्वास्थ्य बिमालाई नीतिगत रूपमा सहयोग गर्नुपर्ने र लागू गराउनुपर्ने निकायका व्यक्तिहरूसमेत स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर छन् ।
जिल्लाका आठ स्थानीय तहका १६ प्रमुख तथा उपप्रमुखमध्ये १२ जनाले स्वास्थ्य बिमा गरे पनि चारजनाले नवीकरण गरेका छैनन् । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यहरू कसैले पनि स्वास्थ्य बिमा नगरेको स्वास्थ्य बिमा बोर्डको तथ्यांकमा उल्लेख छ ।
बर्दियाबाट प्रत्यक्ष र समानुपातिक प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य १५ मध्ये १२ जनाको स्वास्थ्य बिमा नै छैन । तीनजनाले स्वास्थ्य बिमा गरे पनि नवीकरण गरेका छैनन् । स्वास्थ्य बिमा गर्न उत्प्रेरित गर्नुपर्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, कर्मचारी, शिक्षकहरूले समेत स्वास्थ्य बिमा गरेका छैनन् । स्वास्थ्य बिमाको फाइदा–बेफाइदा बुझाउँदै हिँड्ने समाजसेवीहरूले समेत स्वास्थ्य बिमा नगरेको तथ्यांक छ । स्वास्थ्य बिमा नगरेका अधिकांश जनप्रतिनिधिले सरकारी रकमबाट उपचार गर्ने गरेको पाइन्छ ।
लागू भएन कार्यविधि
स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि २०७८ आएको लामो समय बित्दा पनि हालसम्म बर्दियामा कार्यविधि पूर्ण रूपमा लागू भएको छैन । स्वास्थ्य बिमालाई व्यवस्थित र प्रभावकारी बनाउन ल्याइएको कार्यविधिअनुसार बर्दियामा आठवटा संयोजन समिति बन्नुपर्ने हो । तर, हालसम्म बारबर्दिया, ठाकुरबाबा र बाँसगढी नगरपालिकामा मात्र संयोजन समिति गठन भएको छ ।
पालिका प्रमुखको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत सदस्यसचिव रहने गरी सात सदस्यीय संयोजन समिति गठन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । समितिले पालिकाको क्षेत्रभित्र कार्यक्रम विस्तार तथा प्रवद्र्धनात्मक कार्यमा सहयोग गर्ने सरकारी–सार्वजनिक संस्थाहरूको कर्मचारी र परिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने, अतिगरिब परिवारलाई कार्यक्रममा आबद्ध गर्न पालिका र बोर्डबिच समझदारी गर्ने, स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको सेवाको गुणस्तरमा वृद्धि गर्ने–गराउनेलगायतका काम, कर्तव्य र अधिकार तोकिएको छ । तर, स्थानीय तहमा बिमा संयोजन समिति गठन गर्न नै समस्या रहेको बोर्डका जिल्ला संयोजक विष्टले बताए । ‘सुरुमा गठन गर्न नै समस्या छ, गठन भए पनि संयोजन समितिको काम, कर्तव्य र अधिकारअनुसारको काम गर्न अझै कठिनाइ छ,’ उनले भने, ‘स्वास्थ्य बिमा कार्यक्रमलाई स्थानीय सरकारले बेवास्ता गरेको पाइन्छ ।’