सरकार र ठेकेदारको लापरबाहीले यात्रुलाई सास्ती, स्तरोन्नतिपछि यात्रा एक घण्टामै छोट्याउने भनिए पनि निर्माणमा ढिलाइ हुँदा ६ घण्टासम्मको यात्रा
पछिल्लो वर्षाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक खण्डमा ठुला–ठुला खाल्टाखुल्टी परेका छन् र सडक हिलाम्यै छ । सडक स्तरोन्नतिमा सरकार र ठेकेदारको लापरबाहीले दसैँमा यात्रुलाई सास्ती छ । अवस्था यस्तो छ कि ११३ किलोमिटर सडक यात्रा स्तरोन्नतिपछि डेढ घण्टामै छोट्याउने भनिए पनि निर्माणमा ढिलाइ हुँदा ६ घण्टासम्म लाग्ने गरेको छ ।
केही यात्रु र चालकसँगको कुराकानी सडकको अहिलेको अवस्था र दसैँ यात्रा बुझ्न काफी छ । २५ वर्षदेखि गाडीचालकको काम गर्दै आएका मकवानपुरका राजेन्द्र रिजाल अहिले सिमेन्ट बोक्ने ट्रक चलाउँछन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको स्तरोन्नतिको काम थाल्नुअघि उनी भैरहवादेखि काठमाडौंको यात्रा १० घण्टामा पूरा गर्थे ।
चार लेनमा स्तरोन्नति भइरहेको सडकको काम अस्वाभाविक रूपमा ढिला हुँदा रिजाललाई भैरहवादेखि काठमाडौंको यात्रामा १६ घण्टा लाग्छ । ‘बाटो खनेर झन् दुःख पाइयो, झन् अप्ठ्यारो भएको छ । भत्किएको बाटो र डाइभर्सनका कारण यात्रा असहज छ,’ उनले भने, ‘बाटो साँघुरो छ । यसैमा पानी परिरहन्छ, आफ्नै गाडी पनि चिप्लिने डर हुन्छ । मोटरसाइकल चिप्लेर गाडीको चक्कामा आउँछ कि भन्ने डर लाग्छ ।’
सरकार र ठेकेदार कम्पनीको लापरबाहीका कारण दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुन्छ । सडक निर्माण अलपत्र रहे पनि केही दिन घाम लाग्दा यात्रा सहज भएको थियो । तर, दसैँको मुखमा फेरि ठुलो पानी परेर बाढीपहिरो आएपछि नारायणगढ–बुटवल सडकखण्डको यात्रा कठिन बनेको यात्रु सुनाउँछन् ।
‘सडक हिलाम्य नभएको भए म काठमाडौंबाट अर्घाखाँची एकैदिनमा पुग्थेँ । तर, डेढ दिन लाग्ने भयो,’ साउदी अरबबाट दसैँ मनाउन घर फर्किएका नारायण विकले भने, ‘म २८ महिनाअघि विदेश जाँदा देखेको सडकभन्दा पनि अझ खराब देख्दै छु । नारायणगढ–बुटवल मात्र होइन, काठमाडौंबाट मुग्लिनसम्म आउन पनि निकै गाह्रो पर्यो । ठाउँ–ठाउँमा पहिरो खसेको छ ।’
२४ माघ ०७५ मा सडक विभाग र चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड, बेइजिङबिच भएको सम्झौतानुसार यो सडक दुई वर्षअघि साउनमै निर्माण भइसक्नुपर्ने हो । तीनपटक समय थप गरेर ८ साउन ०८२ सम्म पुर्याइएको छ । तर, सडक विस्तारको काम थपिएको समयमा सम्पन्न हुने निश्चित छैन ।
दसैँ यात्रा सहज होस् भनेर सडक विभागले एकतर्फी भए पनि सडक कालोपत्रे गर्न भनेको थियो । तर, पूरै ११३ किलोमिटर सडक एकतर्फी कालोपत्रे गर्न अहिले सम्भव नभएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक चूडाराज ढकालले बताए । ‘दसैँलाई सहज बनाउन प्रयत्न गरिरहेका थियौँ, तर वर्षा र पहिरोले पनि थप असर गर्यो,’ उनले भने, ‘सडकको कालोपत्रेसँगै खाल्डा पुर्नेलगायत मर्मतको कामलाई प्राथमिकतामा राखिएको छ ।’ ७० किलोमिटर सडक एकतर्फी कालोपत्रे भइसकेको छ । दसैँसम्म थप १५ किलोमिटर एकतर्फी कालोपत्रे गरिने भनिए पनि करिब ८ किलोमिटर कालोपत्रे हुने देखिएको छ ।’
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४, दाउन्ने खुर्सानी खोला क्षेत्रको खडक पटक–पटक भासिन थालेपछि यात्रुले दुःख पाइरहेका छन् । भासिएको सडक मर्मत गरेर एकतर्फी र दुईतर्फी नै सञ्चालन भए पनि निरन्तर सडक भासिइरहँदा डाइभर्सन गर्ने ठाउँमा समेत समस्या भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए ।
दसैँतिहारमा यात्रुको चाप बढी हुने भएकाले पनि थप समस्या पर्ने गरेको छ । पछिल्लोपटक १४ असोजमा सडक भासिएको थियो भने होङ्सी सिमेन्टमा जाने १३२ केभी प्रसारण लाइनको टावर पनि भत्किएको थियो । जसकारण २४ घण्टा गाडी चल्न पाएनन् । त्यसपछि मर्मत गरिए पनि सडक अवरुद्ध भइरहन्छ ।
काठमाडौं–भैरहवा बस चलाउँदै आएका पाल्पाका बेनी मगरले हिलोमा गाडी चलाउन निकै मुस्किल हुने गरेको बताए । ‘पानी पर्दा कहाँ खाल्टो छ देखिन्न, परिवारबाट पटक–पटक फोन आउँछ, चिन्ता गर्छन् । यो वर्ष बाटो झनै बिग्रेको छ ।’ गत शुक्रबार कुमार शर्माको गाडी गैँडाकोटको थुम्सीमा बिग्रियो । उनको गाडी भैरहवा–पोखरा रुटमा चल्थ्यो । तर, यो सडक बिग्रिएपछि रुट परिवर्तन गरेर बुटवलदेखि नारायणगढसम्म मात्र बनाएका रहेछन् । गत शुक्रबार गाडी बिग्रिएपछि उनले यात्रुलाई अर्काे गाडीमा राख्नुपरेको थियो । ‘पहिले गाडीको मर्मत खर्च महिनाको तीन हजार हाराहारी हुन्थ्यो, अचेल तेब्बर पुगेको छ । खाल्टाखुल्टी र हिलोले इन्जिनमा समस्या भइरहन्छ,’ उनले भने ।
सम्झना नेपालको परिवार ३६ वर्षदेखि दाउन्नेमा होटेल व्यवसाय गर्दै आएको छ । बाटाका कारण मानिसको आगमन पनि कम हुँदा व्यापार घटेको उनी सुनाउँछिन् । ‘पहिले दिनमा १२ देखि १५ हजारको व्यापार हुन्थ्यो । अहिले तीन हजार हुन पनि मुस्किल छ,’ उनले भनिन्, ‘बाटो अलपत्र भएकाले भित्री सडकबाट पनि यात्रा बढेको छ ।’
गत भदौमा सडक अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बर्खापछि पनि कामले सडकको ठेक्का तोड्न सरकार बाध्य हुने चेतावनी दिएका थिए । ‘थपिएको अवधिभित्र निर्माणको काम जसरी पनि पूरा हुनुपर्छ । सरकारको तर्फबाट कुनै समस्या छैन, निर्माण व्यवसायीले भुक्तानी पाइरहेका छन्,’ उनले भने, ‘अब म्याद थप हुँदैन ।’