Skip This
फ्लाई दुबईले २४ कात्तिकदेखि भैरहवामा दैनिक उडान गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २२ मंगलबार
  • Wednesday, 09 October, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ असोज २२ मंगलबार o६:१२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

फ्लाई दुबईले २४ कात्तिकदेखि भैरहवामा दैनिक उडान गर्ने

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २२ मंगलबार o६:१२:oo

फ्लाई दुबईले २४ कात्तिकदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्न अनुमति माग्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा प्रस्ताव पेस गरेको छ । मंगलबार नै फ्लाई दुबईलाई भैरहवामा उडान अनुमति दिने क्यानको तयारी छ । 

फ्लाई दुबईले सातामा सातै दिन भैरहवा उडान गर्न अनुमति मागेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार प्रस्तावित उडान तालिकामा दुबईबाट उडेको जहाज दिउँसो पौने दुई बजे भैरहवा अवतरण गर्नेछ । भैरहवाबाट पौने तीन बजे काठमाडौंका लागि उड्ने र काठमाडौंबाट साढे चार बजे दुबई फर्कने तालिका रहेको सहप्रवक्ता भुलले बताए । 

यसअनुसार भैरहवाबाट दुबई जाने यात्रुहरूले काठमाडौंमा करिब एक घण्टा ट्रान्जिट बस्नुपर्ने भएको छ । ‘फ्लाई दुबईले सुरुमा बजार हेर्ने र त्यसपछि विस्तृत योजना बनाउँछौँ भनेको छ । यात्रु पाउन थालेपछि दुबई–भैरहवा–दुबई नै उडान गर्ने उसको योजना छ,’ उनले भने । 

अहिले फ्लाई दुबईले दुबई–काठमाडौं–दुबई दैनिक चारवटा उडान गर्दै आइरहेको छ । तर, २३ कात्तिकदेखि क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर ट्याक्सी वे, एप्रोनलगायत विस्तारको काम गर्ने भएकाले फ्लाई दुबईको दैनिक दुई उडान कटौती भएका छन् । ‘फ्लाई दुबईले त्रिभुवन विमानस्थलमा चारमध्ये दुईवटा मात्र सीधा उडानको विन्टर सेड्युल पाएको छ,’ भुलले भने, ‘एउटा उडान भैरहवा हुँदै घुमाएर आउने भएपछि तीनवटा हुनेछन् ।’

योसँगै विन्टर सिजनदेखि भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या तीन पुग्ने भएको छ । अहिले नेपाल वायुसेवा निगम (नेवानि)ले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं सातामा एउटा उडान गर्दै आएको छ । कुवेतको जजिरा एयरवेजले पनि १२ कात्तिकदेखि कुवेत–भैरहवा–कुवेत पुनः नियमित उडान सुरु गर्दै छ ।

१२ कात्तिकदेखि जजिरा उड्दै
कुवेतको जजिरा एयरवेजले १२ कात्तिकदेखि भैरहवामा पुनः नियमित उडान गर्न लागेको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सातामा तीन दिन उडान गर्न क्यानबाट अनुमति पाइसकेको छ । जजिराको एयरबस–३२० नियो जहाज बिहान ६:२५ बजे भैरहवा अवतरण गरेर ७ः३० बजेभित्र कुवेत फर्किनेछ । 

जजिराले मंगलबार, बिहीबार र शनिबार कुवेत–भैरहवा उडान गर्नेछ । जजिराले गौतम बुद्ध विमानस्थल उद्घाटनकै दिन २ जेठ ०७९ देखि उडान गर्दै आएको थियो । तर, मौसमलगायतका कारण देखाउँदै रोकिएको उडान फेरि सुचारु गर्न लागेको हो । 

थाई एयर एसिया अध्ययन गर्दै
२ अक्टोबरदेखि सातामा चार दिन थाइल्यान्ड–काठमाडौं–थाइल्यान्ड उडान सुरु गरेको थाई एयर एसियाले भैरहवामा पनि उडान गर्न चासो देखाएको छ । थाई एयर एसियाले सातामा चार दिन थाइल्यान्ड–भैरहवा उडान भर्ने बताएको छ । ‘थाई एयर एसियाको टोलीले ३ अक्टोबरमा भैरहवा विमानस्थल भिजिट गरेको छ, त्यसको रिपोर्ट आएपछि बल्ल उडान तय हुने भनिएको छ,’ उनले भने, ‘भैरहवा उडान गर्न थाई एयर एसिया सकारात्मक छ, सातामा कम्तीमा तीन दिन थाइल्यान्ड–भैरहवा उडान गर्ने विश्वास छ ।’ 

भैरहवामा सीधा उडान गर्न विज एयरले पनि चासो देखाएको छ । तर, अझै उडान प्रक्रिया भने थालेको छैन । यस्तै, स्वदेशकै निजी लगानीको हिमालय एयरलाइन्सले पनि बजार हेरेर भैरहवा उडान गर्ने बताएको छ । हिमालयले यसअघि केही समय भैरहवामा चार्टर्ड उडान गरेको थियो ।

सरकारले नवनिर्मित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्ययोजना बनाएको छ । कार्ययोजनामा भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा दिइँदै आएको छुटलाई निरन्तरता दिने उल्लेख छ । यसैगरी, हवाई इन्धनमा सहुलियत, यात्रु सेवा शुल्क र टिकटमा भ्याट छुट, अध्यागमन पूर्ण क्षमतामा सञ्चालन गर्ने, श्रम डेस्क स्थापना गर्ने, विभिन्न देशको भिसा सेन्टर स्थापना गर्नेलगायत पनि कार्ययोजनामा उल्लेख छ ।