Skip This
दोरम्बामा अलपत्र शान्तिपार्क : केन्द्रले हात झिक्यो, स्थानीय तह अनभिज्ञ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
दीपक भट्ट रामेछाप
२o८१ असोज १ मंगलबार १५:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोरम्बामा अलपत्र शान्तिपार्क : केन्द्रले हात झिक्यो, स्थानीय तह अनभिज्ञ

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १५:५४:oo

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– २ दोरम्बा बजारनजिकै निर्माणाधीन शान्तिपार्क बजेट अभावमा अलपत्र अवस्थामा छोडिएको छ।

दोरम्बा बजारमा शान्तिपार्क निर्माणको काम ०६६ सालबाट सुरुवात गरिएको थियो। शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत करिब तीन करोडको लागत अनुमान गरी निर्माण सुरु गरिएको उक्त पार्क अहिले अलपत्र परेको हो। शान्ति मन्त्रालयले क्रमागत कार्यक्रममार्फत आर्थिक वर्ष ०६६/६७ देखि ०७४ सालसम्म गरी करिब दुई करोड ५० लाख रुपैयाँ रकम खर्चेको थियो।

०६० साउन ३२ गते दोरम्बामा तत्कालीन माओवादी कार्यकर्तालाई शाही नेपाली सेनाले गिरफ्तार गरी २१ जनाको सामूहिक हत्या गरेपछि त्यस भेगमा बसोवास गर्ने नागरिक गाउँ छोडेर अन्यत्र सरेका थिए। सरकार र विद्रोही माओवादीबिच शान्तिवार्ता भएसँगै त्यस गाउँका त्रसित नागरिकहरूलाई सान्त्वना दिन भन्दै सरकारले शान्ति पार्क निर्माणको काम अघि बढाएको थियो।

निर्माणाधीन पार्कभित्र भवन, शौचालय, प्रतीक्षालय, घेराबारलगायतका संरचनाहरू निर्माण गरिने र भित्रै रिङरोड निर्माण गर्नेलगायतको स्टिमेट थियो। हाल पार्कमा प्रतीक्षालय, पैदल हिँड्न प्रयोग गरिने सिँढी, शौचालय र प्रतीक्षालय निर्माण भएका छन्। शौचालय निर्माण भए पनि झ्यालढोका राखिएको छैन। पार्कमा लगाइएको घेराबारसमेत भत्किएर क्षतविक्षत अवस्थामा पुगेको दोरम्बा गाउँपालिका– २ का स्थानीय मीनबहादुर घिसिङले बताए।

उनले भने, ‘शान्ति मन्त्रालयमार्फत हुँदै गरेको काम ०७४ सालको स्थानीय तहको निर्वाचनपछि बिथोलियो । मन्त्रालय स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकारलाई काम जिम्मा लगाएर हिँड्यो।’ स्थानीय तहले मन्त्रालयसँग आवश्यक कागजात र चाबी बुझेर पनि पार्कका लागि बजेट नछुट्याएको र पार्कको संरक्षणतर्फ पनि कुनै चासो नदेखाएको घिसिङले बताए।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले न त आवश्यक बजेट व्यवस्थापन गर्न सके, न त प्रदेश र संघमार्फत नै बजेट आयो। निमार्ण भएका संरचनाको संरक्षण हुन नसक्दा दुःख लागेको अर्का स्थानीय मानबहादुर तामाङले बताए। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दोरम्बा बजारका नागरिकहरूलाई ‘सौताको जस्तै व्यवहार’ गरेको उनको आरोप छ।

शान्तिपार्कको जिम्मा शान्ति मन्त्रालयले दोरम्बा गाउँपालिकालाई लगाए पनि पार्कको बाँकी काम पूरा हुन सकेको छैन। मन्त्रालयले गाउँपालिकालाई जिम्मा लगाएको विषय आफूलाई जानकारी नभएको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान बताउँछन्।