Skip This
व्यापार सुविधालाई निरन्तरता दिन अमेरिका सकारात्मक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १ मंगलबार १o:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

व्यापार सुविधालाई निरन्तरता दिन अमेरिका सकारात्मक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १o:४o:oo

नेपाललाई उपलब्ध गराउँदै आएको व्यापार ग्राह्यता सुविधालाई निरन्तरता दिन तथा सूची विस्तार तथा परिमार्जन गर्न अमेरिका सकारात्मक देखिएको छ । काठमाडौंमा सोमबार भएको नेपाल र अमेरिकाबिच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा काउन्सिल)को सातौँ बैठकमा नेपालले अमेरिकाले उपलब्ध गराएको व्यापार ग्राह्यता सुविधालाई निरन्तरता दिन तथा सूची थप्न माग गरेको छ । अमेरिकी प्रतिनिधिले नेपालको आग्रहलाई सकारात्मक भन्दै अमेरिकी संसद्मा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

बैठकमा नेपालको तर्फबाट वाणिज्य सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा १७ सदस्यीय र संयुक्त राज्य अमेरिकाको तर्फबाट दक्षिण तथा मध्य एसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । 

बैठक प्रारम्भ हुनुअघि लिन्चले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरेका थिए । बैठकको उद्घाटन सभामा मन्त्री भण्डारीले अमेरिकाबाट नेपाललाई प्राप्त भइरहेको व्यापार सुविधाको निरन्तरता तथा विस्तार गर्न आवश्यक रहेको बताए । नेपाल र संयुक्त राज्य अमेरिकाले द्विपक्षीय आर्थिक सम्बन्ध बढाउँदै व्यापार तथा लगानीका क्षेत्र विस्तार गर्न दुवै पक्षबीच थप सहयोग आदान–प्रदान गर्नुपर्ने विषयमा सहमति भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालले अनुरोध गरेबमोजिम व्यापार ग्राह्यता सुविधाको समयावधि थप गर्ने तथा सो कार्यक्रमअन्तर्गत सुविधा प्राप्त गर्ने वस्तुको सूची विस्तार गर्ने विषयमा अमेरिकी पक्ष सकारात्मक रहेको र उक्त विषय अमेरिकी कंग्रेसको कार्यक्षेत्रमा पर्ने भएकाले सोका लागि विधायक तहमा समेत संयुक्त पहल गर्ने विषयमा दुवै पक्षद्वारा प्रतिबद्धता व्यक्त गरियो,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र संयुक्त राज्य अमेरिकाबिच सन् २०११ अप्रिलमा व्यापार तथा लगानी खाका सम्झौतामा हस्ताक्षर भएको थियो । टिफाको छैटौँ बैठक पनि काठमाडौंमै भएको थियो । परिषद्को आठौँ बैठक सन् २०२५ मा अमेरिकामा गर्नेसमेत सहमति भएको छ ।