नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्रलाई बुझेर सरकारलाई सुझाव दिन अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)लाई आग्रह गरेका छन् । उनले नेपालको अर्थतन्त्रको संरचना र सामाजिक परिवेश केही फरक भएको उल्लेख गर्दै त्यसलाई बुझेर मात्रै राज्यका निकायलाई सुझाव दिन र नीति बनाउन आइएमएफलाई आग्रह गरेका हुन् ।
महासंघ सचिवालयमा शनिबार भएको आइएमएफका मिसनसँगको भेटमा अध्यक्ष ढकालले निजी क्षेत्रले निर्वाध व्यवसाय गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताए । ‘नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ,’ उनले भने, ‘सोहीअनुसार नीति बनाउन सकिएन भने आर्थिक सुधारमा ढिलाइ हुन्छ ।’
ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको तथा ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको बताए । उनले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै, अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने औँल्याए । भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताइन् । निजी क्षेत्रलाई महत्व दिनुपर्ने विषयमा कोष सदैव सकारात्मक रहेको पनि उनले बताइन् ।