मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २५ मंगलबार
  • Wednesday, 18 December, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ भदौ २५ मंगलबार ११:११:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

३० दिनमा सि–चेक गरेर फर्किनुपर्ने वाइडबडी ८० दिनपछि आज फर्किँदै

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २५ मंगलबार ११:११:oo

नेपाल वायुसेवा निगम (नेवानि)को वाइडबडी एयरबस–३३० जहाज ८० दिनपछि मंगलबार इटालीबाट नेपाल फर्किने भएको छ । ३० दिनभित्र सम्पूर्ण मर्मत ‘सि–चेक’ गरेर फर्काउने बताइएको जहाज इटालियन कम्पनी एटिटेक एसपिएले मर्मतमा ढिलाइ गरिदिएपछि साढे दुई महिनाभन्दा बढी समय इटालीमा अलपत्र परेको हो । 

नेवानि व्यवस्थापनले वाइडबडीको सि–चेकको जिम्मेवारी इटालीको एटिटेक एसपिए कम्पनीलाई सुम्पिएको छ । सम्झौताबमोजिम नेवानिले ३० दिनमा सि–चेक गरेर नियमित उडानमा फर्काउने भन्दै जहाज ८ असार (२२ जुन)मा दुबई हुँदै इटाली पुर्‍याएको थियो । कलसाइन ‘९एन–एएलवाई’ नम्बरको वाइडबडी जहाज सि–चेकका क्रममा पुनः इन्जिनमा समस्या देखिएपछि ढिलाइ हुन पुगेको नेवानिका प्रवक्ता रमेश पौडेलले बताए । सो जहाज मंगलबार इटालीबाट दुबई हुँदै नेपाल आइपुग्ने नेवानिका प्रवक्ता पौडेलले बताए । उनले भने, ‘सि–चेक गरेर शुक्रबार (२१ भदौमा) जहाज रनअप गर्दा इन्जिनमा समस्या देखिएपछि फेरि पार्टपुर्जा झिकाएर मर्मत गर्नुपर्दा ढिलाइ भयो ।’

नेवानिको अर्को वाइडबडी ९एन–एएलजेड पनि सि–चेकका लागि इटाली पुर्‍याइएको छ । १२ भदौमा इटाली पठाइएको दोस्रो वाइडबडी दुई हप्ता पुग्नै लाग्दासमेत अझै सि–चेक सुरु भएको छैन । एउटा जहाजको सि–चेक सम्पन्न भएपछि अर्कोको सि–चेक सुरु हुने जानकारीमा आएको प्रवक्ता पौडेलले बताए । 

निगम नेतृत्वले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति नै नलिई जहाज इटाली पुर्‍याएको थियो । कुनै पनि जहाजको मर्मत–सम्भारका लागि सम्बन्धित एयरलाइन्सले क्यानसँग अनुमति लिनुपर्ने हुन्छ । यस्तै, मर्मत–सम्भारको जिम्मेमवारी पाएको कम्पनीले पनि क्यानबाट अनुमति प्राप्त गर्नुपर्छ । सि–चेकका लागि दुवै प्रक्रिया पूरा नगरी इटाली पुर्‍याइएको जहाज सम्पूर्ण प्रक्रिया पूरा गरेर सि–चेक सुरु गर्दा एक महिना ढिला भएको थियो । ९एन–एएलजेडको अझै सि–चेक सुरु नभएको हुँदा दसैँ–तिहारको मुख्य सिजनमा नेवानिलाई जहाजको अभाव हुने देखिएको छ ।

नेवानिमा नीतिगत हस्तक्षेप गरेर अघि बढ्छु : पर्यटनमन्त्री पाण्डे 
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायुसेवा निगमको सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन् । सोमबार पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीको स्वागत कार्यक्रममा बोल्दै उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन तीन स्तम्भ रहेको बताए ।

‘नेवानि सुधारको बाटोमा जान जरुरी छ, म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन, अब नीतिगत हस्तक्षेपको बाटोमा लैजान चाहन्छु,’ मन्त्री पाण्डेले भने, ‘मन्त्रालयका बारेमा सम्पूर्ण विषय बुझिसकेकाले रिफर्मको बाटोमा अघि बढ्नेछु ।’ उनले मन्त्रालयमा जहाज उडाइदिन भनेर डेलिकेसन आउने गरेको बताउँदै जहाज नउड्दा देशभरका अधिकांश एयरपोर्टहरू रित्तो भएको बताए ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटनमैत्री नीति–निर्माण गर्ने पनि विश्वास दिलाए । उनले निजी क्षेत्रलाई सहज हुने गरी नीति परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म निजी क्षेत्रलाई आश्वस्त पार्न चाहन्छु, मन्त्रालयले यो नीतिमा परिमार्जन गर्नुपर्ने थियो, तर अकर्मण्यता देखायो भन्ने अवस्था सिर्जना हुन दिनेछैन,’ उनले भने, ‘जति दिन म मन्त्री हुन्छु । राम्रो नीति बनाउने विषयमा पूर्ण प्रयत्नशील रहनेछु ।’ उनले बोर्डले नयाँ कार्यकारी प्रमुख प्राप्त गरेकाले पर्यटनलाई चलायमान हुने र अन्य संस्थाले अनुकरण गर्ने गरी काम गर्न निर्देशन दिए ।